Logo

‘म र मेरो समाज’ खुल्ला अन्तरक्रिया 

‘म र मेरो समाज’ खुल्ला अन्तरक्रिया 

काठमाडौं । लैङ्गिक हिंसाका प्रकृति परिवर्तन भएकोले समस्या समाधान गर्न परम्परागत विधिको सट्टा नयाँ विकल्प खोजी गर्नु पर्ने सुझाव आएका छन् । काठमाडौँ महानगरपालिका वडा २९ महिला सञ्जालले महिला सशक्तिकरणका लागि आयोजना गरेको ‘म र मेरो समाज’ विषयक खुला अन्तरक्रियामा सहभागीहरुबाट यस्तो सुझाव प्राप्त भएको हो । 

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य शान्ता ढकालले महिला पुरुष समान सशक्त भए मात्र हिंसा अन्त्य हुने बताउनुभयो । घरभित्रको शान्ति भङ्ग हुन्छ भनेर उजुरी नदिने परिपाटीले कतिपय व्यक्तिहरु हिँसा लुकाएर बसेको हुन सक्ने उहाँको भनाइ छ । बामती प्रदेश सभाका पूर्व सांसद मीना ज्ञवाली भन्नुहुन्छ, ‘गाउँमा महिलाहरु समस्या बाँड्छन् । यसबाट हिँसा कम छ । सहरमा आपसी कुरा बाँड्ने सामाजिक प्रणाली नभएकोले हिँसा धेरै हुने गरेको छ ।’

हिँसा शुन्य वडा निर्माण गर्ने कार्यक्रमको लक्ष्य हो । अन्तरक्रियामा बोल्दै महिला सञ्जालका संयोजक रेनु श्रेष्ठले, व्यक्ति र वक्ताको अनुभव तथा सुझावका आधारमा आगामी कार्यक्रम तर्जु गर्ने बताउनुभयो । समाजमा लुकेर रहेका समस्या समाजबाट जानकारी लिन्छौँ । त्यसको प्रकृतिका आधारमा न्यूनीकरणका कार्यक्रम चलाउँछौँ । संयोजक श्रेष्ठको भनाइ छ । 

सहरमा पीडितहरु उजुरी दिन आउँछन् । उजुरी दर्ता गरेपछि चुपचाप बस्छन् । नेपाल प्रहरीमा आएका उजुरी र कारवाही प्रक्रियाका जानकारी दिँदै प्रहरी सहायक निरीक्षक शान्ति खड्काका अनुसार पीडितलाई घटना निर्णयमा नपुगुञ्जेल न्यायका लागि काम गरिरहन प्रोत्साहन गर्नुपर्छ । 

कार्यक्रममा सहभागीहरुले हिँसाका प्रकृतिमा महिला र पुरुषको दोष, कानुनको परिपालना र स्वच्छ समाज निर्माणमा व्यक्तिको दायित्व, सामाजिक मान्यता, व्यक्तिगत आचरणलगायत विषयमा धारणा राख्नुभएको थियो । सामाजिक व्यवस्था, अर्थ व्यवस्था, सामाजिक सोचमा रुपान्तरण हुँदै जानु पर्नेमा उहाँहरुको जोड थियो ।

पहिले सासूबाट बुहारी पीडित हुने गरेकोमा अहिले यसको विपरीत बुहारीबाट सासू पीडित हुने अवस्था देखिएको छ । पहिले श्रीमानबाट श्रीमती पीडित हुने गरेका घटना बाहिरिन्थे । अहिले श्रीमतिबाट श्रीमान पीडित हुन थालेका छन् । महिला हिंसाका घटनाको प्रकृतिको तुलनात्मक अवस्था हेर्दा पुरुषबाट महिलामाथि हुने हिंसाभन्दा महिलाबाट महिलामाथि हुने हिंसा धेरै देखिन्छन् । त्यसैले अब घटनाको प्रकृति अनुसार समाधानका उपाय खोज्नुपर्छ । उहाँहरुको सुझाव सार छ । 

आरती शर्माले  भन्नुहुन्छ, ‘शिक्षित र सम्पन्न परिवारमा पनि महिलाहरु शोषणमा पर्ने गरेका छन् । श्रीमान श्रीमती दुवै जागिरे भएको घरमा श्रीमान घर आएर टिभी, मोबाइलमा भुल्छन्, श्रीमती भान्सामा खटिनुपर्छ । यो समाजको यथार्थ चित्र हो ।’ 

‘घरमा कोही बिरामी परिरहने समस्या छ भने परिवार सदस्य भित्रै एक सदस्यले अर्कोलाई बोक्सी लागेको आरोप लगाएर शारीरिक तथा मानसिक यातना दिएको पाइन्छ ।’ रीना शाहीले सामाजिक समस्याको अर्को पाटो देखाउनुभयो । महिलाको आर्थिक सशक्तिकरण र घरेलु हिँसा जोडिएका छन् । जहाँ महिला सशक्त छन् । त्यहाँ हिँसा कम हुन्छ । निर्मला सुवेदी मिश्रले भन्नुभयो, ‘महानगरपालिकाले गैरसरकारी संस्थासँग सहकार्य गरेर महिला सशक्तिकरणका कार्यक्रम गरिरहेको छ । यसबाट लाभ लिनुपर्छ ।’

अभिभावकले छोराछोरीलाई बराबर काम सिकाएपछि लैङ्गिक लिङ्गका आधारमा हुने हिँसामा कमी आउँछ । कार्यक्रममा मन्सा सिँहले, व्यवहारिक चाँजो मिलाउन नसके महिला पुरुष दुवै पीडित हुन सक्ने बताउनुभयो । 

हिँसा कम गराउन महिलाले राजनीतिक तहमा पद प्राप्त गर्न पाउनु पर्ने धारणा पनि आएका थिए । कार्यक्रममा शारदा लामाले राजनीतिक रुपमा पद प्राप्त नगरी महिला सशक्तिकरण हुन नसक्ने र हिंसा पनि कम नहुने धारणा राख्नुभयो । महिलाहरुले राजनीतिक दलभित्र लडेर अधिकार लिनुपर्ने उहाँको भनाइ छ ।

सरकारी नीति कार्यक्रममा महिलाले प्राप्त गर्ने सुविधा र कानुनहरुमा महिला अधिकारका सम्बन्धमा भएका व्यवस्थाबारे वडा महिला सञ्जालले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने सहभागीहरुको सुझाव छ । 

कार्यक्रममा रमिता सुवेदी, अनिता निरौला, सुनिता श्रेष्ठ, मीरा बर्तौलालगायत वक्ताहरुले वडा महिला सञ्जालले फराकिलो दायरा समेटेर कार्यक्रम गर्नुपर्ने सुझाव दिनु भयो । 

 

  • प्रकाशित मिति: आइतबार​ २६ चैत २०७९ ११:३१