उपप्रमुख डंगोलबाट पूर्व वडाध्यक्ष स्व. नेवाः को शालिक अनावरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्व वडाध्यक्ष स्व. चन्द्रानन्द नेवाको शालिक अनावरण गर्नुभएको छ । सोमबार वडा १८ कार्यालय परिसरमा आयोजना गरिएको एक कार्यक्रम बिच वार्षिक तिथिका दिन उहाँले नेवाःको पूर्ण कदको शालिक अनावरण गर्नुभएको हो । करिब ७ लाख ७५ हजार रुपैयाँ लागतमा वडाको बजेटबाट निर्माण गरिएको शालिक वडा परिसरमा राखिएको छ ।
वि. सं. १९८९ मा जन्मनु भएका नेवाःको २०७९ साल बैशाख २८ गते देहान्त भएको थियो ।
अनावरणपछि बोल्दै उपप्रमुख डंगोलले, जनप्रतिनिधिले नागरिक जीवनको सहजताका लागि अगाडि सारेका असल अभ्यासलाई पछ््याउँदै जानुपर्ने बताउनुभयो । ‘उहाँ (स्व. नेवा) सँग काम गर्नुभएका समकालीन जनप्रतिनिधिको कुरा सुन्दा विकास र समाज रुपान्तरणका लागि त्यसबेला अनुकरणीय प्रयास भएको थाहा हुन्छ ।’ उहाँले भन्नुभयो, ‘घरको छिँडीमा गर्ने गरिएको शौचलाई सार्वजनिक शौचालयसम्म पु¥याउने, सडकलगायत पूर्वाधार निर्माण जस्ता कामको जग उहाँका पालामा भएको देखिन्छ । यी कामसँगै सामाजिक विकासका क्षेत्रमा सुधार गर्नु स्व. नेवाःप्रतिको सच्चा सम्मान हो ।’
त्यस क्रममा महानगरका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘शासन व्यवस्थापछि पुराना व्यक्तिहरु हराउने गरेको देखिन्छ । तर, नेवाः २०४६ सालको व्यवस्था परिवर्तनपछि पनि उत्तिकै क्रियाशील रहनुभयो । नेवाको व्यक्तित्वको दर्शाउने यो बिम्बमध्येको यो एउटा हो ।’ शाक्यले थप्दै भन्नुभयो, ‘स्व. नेवाःले २०५९ सालपछि पद बाहिर रहेर काम गर्नुभयो । त्यस समयमा पनि वडाको विकासका लागि उहाँको क्रियाशीलता उत्तिकै थियो । यसबाट पदमा रहे पनि या नरहे पनि सेवालाई निरन्तरता दिन सकिन्छ भन्ने प्रेरणा लिन सकिन्छ ।’
वडाध्यक्ष न्हुेच्छेकाजी महर्जनले, नेवाको राजनीतिक, सामाजिक र पारिवारिक जीवनका आयामका विषयमा चर्चा गर्दै उहाँको व्यक्तित्व राजनीति गर्नेहरुका लागि पाठशाला रहेको उल्लेख गर्नुभयो । त्यस क्रममा पूर्व वडाध्यक्ष चिनियाँ बज्राचार्यले, नेवाःले वडाको विकासमा खुल्ला सोचले काम गर्नुभएको स्मरण गर्नुभयो ।
उहाँ पहिलो पटक २०१९ सालमा स्थानीय निर्वाचनबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । अहिलेको वडा १८ त्यसबेला वडा १२ थियो । त्यही बडाबाट स्वतन्त्र बाम उम्मेद्वारका रुपमा वडा सदस्यमा पहिलो पटक निर्वाचित हुनु भएको हो । त्यसपछि उपप्रधानपञ्च हुँदै २०३२ सालको निर्वाचनबाट प्रधानपञ्च चुनिनुभयो । २०१९ सालदेखि २०५४ सालसम्म भएको हरेक स्थानीय निर्वाचनमा उहाँले भाग लिनुभयो र प्रत्येकमा बिजय हासिल गर्नुभयो । यस अवधिमा कुनै समय ६ बर्षको अन्तरालमा चुनाव भए त कति बेला ५ बर्षपछि । कति कार्यकाल पूर्ण समय रह्यो भने कति कार्यकाल बिचमै अस्थिर भएर टुङ्गिएको थियो ।
२०३९ सालअघिसम्म हरेक वडाबाट एकजना प्रतिनिधि निर्वाचित हुने व्यवस्था थियो । तिनलाई बसेर काम गर्ने कार्यालय थिएन, न त कर्मचारी नै थिए । यिनै सदस्यबाट नगरपालिकाको प्रधानपञ्च÷उपप्रधानपञ्च चयन हुन्थे । २०३६ साल सुधारिएको पञ्चायत सुरु भएपछि हरेक वडामा ५ जना सदस्य निर्वाचित हुने व्यवस्था भयो । त्यसैबमोजिम २०३९ सालमा सम्पन्न नगरपालिकाको निर्वाचनमा पहिलो पटक एकै वडाबाट ५ जना सदस्य निर्वाचित भए । प्रधानपञ्चलाई प्रत्यक्ष मत हालेर विजयी गराउने यो नै पहिलो अभ्यास थियो । त्यसपछि वडा कार्यालय स्थापना भयो । वडामा एकजना सचिव पठाउन थालियो । २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि २०४९ सालमा स्थानीय निर्वाचन भयो । त्यस निर्वाचनबाट प्रमुख, उपप्रमुख र वडाध्यक्षको निर्वाचन भयो । वडा सदस्य भने वडाध्यक्षले सल्लाहकार समितिका रुपमा मनोनयन गर्ने व्यवस्था थियो । २०५४ सालसम्म पुग्दा यो पद्धति ठीक नभएको निष्कर्ष निकालेर फेरि वडा सदस्यहरुको निर्वाचित हुने प्रणाली सुरु गरिएको हो । यी सबै परिवर्तनमा नेवाः सक्रिय भूमिकामा हुनुहुन्थ्यो ।