महानगरपालिका क्षेत्रमा कटन क्यान्डी बेच्न निषेध : अखाद्य बस्तु उत्पादन तथा विक्री गरे ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कटन क्यान्डी (मिठाइ) विक्री गर्न निषेध गरेको छ । बालबालिका लक्षित यसको नमूना परीक्षणमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग भेटिएपछि यसले बाल स्वास्थ्यमा पार्ने असर रोक्न सार्वजनिक सूचना प्रकाशन गरेर मिठाइ उत्पादन तथा विक्रीमा रोक लगाइएको हो । सूचनामा भनिएको छ, ‘‘आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता अखाद्य रङ्गयुक्त वस्तु प्रयोग तथा बिक्री वितरण नगर्न नगराउन अनुरोध छ । यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ को दफा ३० बमोजिम ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने समेत जानकारी गराइन्छ ।’’
यो रङ्ग प्रयोग गरिएका खानेकुरा खाँदा टाउको दुख्ने, उल्टी हुने जस्ता समस्या तत्काल देखिन सक्छन् । कलेजोमा असर गर्ने र क्यान्सरसम्म बनाउन सक्ने यसका दीर्घकालीन असर हुन् ।
खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमति पत्र सम्बन्धी जानकारी भएको लेवल हेरेर मात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।