हरेक दिन प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरुबिच बैठक हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीय परियारले हरेक दिन विहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाउनुभएको छ । विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, यसका लागि आन्तरिक समन्वय र प्रगतिका बारेमा थाहा पाउन यस प्रकारको तालिका बनाइएको उहाँले जानकारी दिनुभयो ।
‘बैठक संक्षिप्त हुनेछ । बैठक भएकै कारण काममा वा सेवा प्रवाहमा बाधा हुनेछैन । बैठकलाई औपचारिकतामाभन्दा विषयमा केन्द्रीत गरिनेछ ।’ बैठक योजनाका विषयमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘यसबाट प्राप्त हुने सूचनाले प्रगतिमा पुग्न सघाउ पुग्नेछ । यस्तै देखिएका बाधा फुकाउन सहज वातावरण बन्नेछ ।’
आज उहाँकै कार्यकक्षमा बसेको आर्थिक बर्ष २०७९/०८० को महालेखापरीक्षकको अन्तिम लेखापरीक्षण, प्रारम्भिक प्रतिवेदनले औल्याएको अवस्थाका बारेमा विभागीय प्रमुखहरुसँग छलफल गर्दै योजना सुनाउनु भएको हो । खर्च बढाउन र बेरुजु घटाउन विभागका प्रमुखहरुले सक्रिय भएर काम गर्नुमा उहाँको जोड थियो ।
प्रतिवेदनले औल्याएका ‘सैद्धान्तिक’ र ‘लगती’ वेरुजुसँग सम्बन्धित विभाग, आयोजना, एकाइ, सचिवालय र कार्यक्रमका प्रमुखहरुले प्रारम्भिक बेरुजुलाई रुजु गराउन गर्नु पर्ने काम र निर्वाह गर्नु पर्ने भूमिका छलफलको मुख्य विषय थियो ।
बैठकमा वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले प्रारम्भिक प्रतिवेदनका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । यस्तै आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरे, विषयसँग सम्बन्धित यस अघि गरिएका कामका विषयमा जानकारी गराउनुभएको थियो ।
विभागका प्रमुखहरुलाई वडा सहजीकरणको जिम्मेवारी
बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले, आजसम्ममा वडाहरुले प्राप्त गरेको वित्तीय प्रगतिको ग्राफ प्रस्तुत गर्नुभएको थियो । ‘वडाका काम महानगरबाट अलग छैनन, अलग्ग होइनन् । यसकारण त्यहाँको सम्भावनालाई उपयोग गर्नुपर्छ । चुनौतीको समाधान गर्नुपर्छ । समस्याको समाधान गरिदिनु पर्छ । यसका लागि एकजना विभागीय प्रमुखलाई २ वटा वडाको जिम्मेवारी दिएको छु ।’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म देखिएको प्रगतिको अङ्क तपाईँहरुले काम थाल्ने विन्दु हो । तपाईँको सहजीकरणपछि यसअघिको विकास गतिले कति फरक पार्छ, तपाईँको उपस्थितिको मापन सूचक हो ।’ उहाँका अनुसार उच्चतम प्रगति गर्ने वडाको वित्तीय प्रगति ४७.५ प्रतिशत र सबैभन्दा कम प्रगति गर्नेले ९.८ प्रतिशत प्रगति गरेका छन् ।
प्रशासन विभागका प्रमुख दीपक अधिकारीलाई वडा नं. वडा नं. ६ र १६, सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेलाई वडा नं. ५ र ७, सहरी विकास विभागका प्रमुख अर्चना श्रेष्ठलाई वडा नं. २ र १७, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलाई वडा नं. १२ र १५, राजस्व विभागका प्रमुख ध्रुव काफ्लेलाई वडा नं. ८ र १४ को जिम्मेवारी दिइएको छ । यसैगरी वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीलाई वडा नं. ९ र १० को जिम्मेवारी दिइएको छ ।
खरिद एकाइका प्रमुख नमराज ढकाललाई वडा नं. ३ र ११, सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्यलाई वडा नं. २१ र २९, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीलाई वडा नं. २० र ३०, आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरेलाई वडा नं. १ र ३१, वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठलाई वडा नं. ४ र २६, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यलाई वडा नं. २२ र ३२ को जिम्मेवारी दिइएको छ ।
सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालालाई वडा न. १३ र १९, सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईलाई वडा नं. २५ र २८, स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनलाई वडा नं. १८ र २७, शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेललाई वडा नं. २३ र २४ को जिम्मेवारी दिइएको छ ।
यसरी वडाको जिम्मेवारी दिँदा सुधारमा अलि धेरै काम गर्नु पर्ने एउटा र प्रगति उच्च बनाउँदै लगेको एउटा गरेर दुईवटा वडा दिइएको हो । एउटाको सिकाइ अर्कोमा प्रयोग गर्न सकियोस् भनेर यसो गरिएको हो ।