समितिहरुबिच न्यायिक विकेन्द्रीकरणका विषयमा समान धारणा विकास हुनु, पहिलो सम्मेलनको नतिजा - उपप्रमुख डंगोल

काठमाडौँ । ‘न्यायिक समिति (स्थानीय सरकार) हरुले प्रयोग गर्ने न्यायिक अधिकारका विषयमा सामुहिक धारणा विकास हुनु पहिलो न्यायिक सम्मेलनको नतिजा हो ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोल भन्नुहुन्छ, ‘भूगोल, सामाजिक तथा आर्थिक अवस्था, शिक्षा र चेतनास्तर जस्ता कारण विभिन्न पालिकाहरुमा आउने विवाद फरक छन् । यी फरक समस्यालाई समाधान गर्ने कानुनी व्यवस्थाको प्रयोगमा एउटै खालको अभ्यास हुन थालेको छ ।’

गोरखा जिल्लाको धार्चे गाउँपालिका, माछीखोलाका उपाध्यक्ष सुनिला गुरुङ्को नेतृत्वमा आएको मेलमिलापकर्तासहितको प्रतिनिधि मण्डलसँग आपसी अभ्यासका विषयमा कुरा गर्दै आज उहाँले यस्तो बताउनुभएको हो । ‘निःशुल्क कानुनी सहायता, लैङ्गिक हिंसा हेर्ने उद्देश्यसहित वडास्तरमा गठन तथा सञ्चालन गरिएका महिला सञ्जाल, वडास्तरीय मेलमिलाप केन्द्र महानगरपालिकाका अनुकरण योग्य कार्यक्रम हुन् ।’ डंगोलको भनाइ थियो । 

त्यस क्रममा उपाध्यक्ष गुरुङ्ले भन्नुभयो, ‘गएको बर्ष सम्पन्न सम्मेलनले न्यायिक विकेन्द्रीकरण, न्यायिक समितिका क्षेत्रधिकार र विवाद समाधानका उपायहरुको प्रयोग गर्न बाटो देखायो । यसपछि विवाद निरुपणका काम गर्न सहज भएको छ ।’ 

‘गाउँ ठाउँका मानिसहरुका समस्या र ती समस्याको समाधानका लागि पक्षहरु के चाहन्छन् भन्ने कुराको ज्ञान जनप्रतिनिधिभन्दा अरु कसैले बुझ्न सक्दैनन् ।’ न्यायिक समितिका सदस्य एवं वडाध्यक्ष कुश ढकालले भन्नुभयो, ‘न्यायिक समितिले कागज हेरेर होइन, आचरण र अवस्था हेरेर विवाद समाधान गर्न सक्छन् । न्यायिक विकेन्द्रीकरणको यो सफल अभ्यास हो ।’  

‘निर्णयले विवादका पक्षलाई सन्तुष्ट पार्न सक्दैन । तर मेलमिलापले दुवै पक्षको चित्त बुझाउन सक्छ । यो नै वास्तविक न्याय हो ।’ भेटका क्रममा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले, दुवै पक्षलाई जिताउन भन्दा दुवै पक्षको हित हुने गरी न्यायिक निरुपणमा जोड दिनुपर्ने बताउनुभयो । 

अवलोकन भ्रमणका लागि प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार, न्यायिक समितिका सदस्यहरु किसान गुरुङ् र मित्रबहादुर सुनार, उजुरी प्रशासक सोमप्रसाद गुरुङ्, कर्मचारीहरु र मेलमिलापकर्ताहरु सहभागी हुनुहुन्छ ।

उहाँहरुले महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको मेलमिलाप कक्ष, इजलास कक्षसहित पूर्वाधारको अवलोकन तथा अहिलेसम्म जारी भएका कानुन र यसको प्रयोगका विषयमा जानकारी लिनुभएको थियो ।  

भेटपछि उपप्रमुख डंगोलले, महानगरपालिकाका कानुन संग्रह र बसन्त आचार्यले लेख्नुभएको मेलमिलाप पुस्तक प्रदान गर्नुभयो । यसैगरी गाउँपालिकाकी उपाध्यक्ष गुरुङ्ले स्थानीय उत्पादन निगालोबाट बनाइएको काइँयो, दारको चौँठो र उत्पादनसँग सम्बन्धित तस्विर प्रदान गर्नुभएको थियो । 

 

सम्बन्धित समाचार

Facebook Comments