Logo
  • वि.सं.: २०८२, वैशाख २० शनिबार

  • इ.स.: 2025 May 3,SATURDAY

  • वि.सं.: २०८२, वैशाख २० शनिबार

  • उद्यमशीलता सिप विकास तालिम सुरु : थप ११ वटा वडामा 'एक वडा एक उद्यम कार्यक्रम'

    उद्यमीहरुले उत्पादन गरेका बस्तु तथा सामग्रीको बजारीकरणका लागि कोसेली घर स्थापना गरिएको हो - उपप्रमुख डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप ११ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ शुभारम्भ गरेको छ । अघिल्लो आर्थिक वर्षमा थालिएका १५ वटामा ११ वटा वडा थपिएका हुन् । अब ६ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन बाँकी छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, गएको आर्थिक वर्षमा उद्यमी बन्नुभएका सहभागी र प्रशिक्षकलाई प्रमाण पत्र वितरण गर्दै चालु आर्थिक वर्षका तालिम कार्यक्रम शुभारम्भ गर्नुभएको हो । कार्यक्रम स्थलमा यस नमूना उद्यम सञ्चालन गर्ने समूहले तयार पारेका सामग्री प्रदर्शन गरिएको थियो । 

    उद्यमी समूहबाट उत्पादन भएका सामग्री हेरिसकेपछि कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, उत्पादित सामानको बजारीकरणका लागि वडास्तरीय कोसेली घर स्थापना गरिएको जानकारी दिनुभयो । ‘उद्यम सञ्चालनको सिप प्रदान गर्न तालिम दिएका छौँ । यस्ता उद्यमीहरुलाई प्रोत्साहन गर्न सूचकका आधारमा ९५ प्रतिशतसम्म कर छुटको व्यवस्था गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘महिला सशक्तिकरणलाई प्रभावकारी बनाउन उहाँहरुमा आय हुन आवश्यक रहेकोले गृहिणी लक्षित कार्यक्रम थालेका हौँ । यसमा महानगरपालिकाले दिएको सुविधाका विषयमा जानकारी लिन वडा कार्यालयमा गएर वा जनप्रतिनिधिसँग सम्पर्क गरेर थाहा पाउन सकिन्छ ।’

    त्यस क्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले, उद्यमीहरुले उत्पादन गर्नुभएका सामानहरुमा निखार आउँदै थएको बताउनुभयो । उद्यम विकास र उद्यमशीलता प्रवर्धन गर्ने कामको दिगोपनाका लागि समितिले कार्यान्वयन योग्य नीतिमा जोड दिएको उहाँको भनाइ छ । 

    कार्यक्रमले महिलाहरुको नेतृत्व विकास भएको छ । सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले, महिलाहरुको निर्णय क्षमता समेत बढ्दै गएको अनुभव सुनाउनुभयो । तालिमका प्रशिक्षकहरु सोमबहादुर तामाङ् र सावित्री शिवाकोटीले तालिमका विषयमा समय सापेक्ष रहेकोले उत्पादित बस्तुको बजारीकरण तत्कालै गर्न सकिने सम्भावना रहेको धारणा राख्नुभयो । मौलिक शिल्पका काममा जनशक्ति अभाव हुन थालेपछि संस्कृति सञ्चालनमै समस्या परेको छ । यस क्षेत्रमा पनि उद्यमशीलताको प्रचुर सम्भावना छ । उहाँहरुको भनाइ थियो । कार्यक्रममा बोल्दै उद्यमीहरु सन्तोष बयलकोटी र सीता राईले, उद्यमीहरुलाई सरकारले सम्भावित मानसिक समस्या र वित्तीय जोखिममा बचाउने वातावरण बनाइदिनुपर्ने, व्यवसाय दर्ता, नविकरण, कर दाखिला र वित्तीय सहायताको प्रक्रियालाई सरल र सहज बनाइदिनु पर्ने माग राख्नुभयो । 

    गएको वर्ष १५ वडामा कार्यक्रम थालिएका महानगरपालिकाको वडा नं. १ र ३० को नमूना उद्यम गुन्द्रुक र मस्यौरा हो । यस्तै वडा नं. २ को मस्यौरा र तितौरा, वडा नं. ३ र ४ को फेल्टको सामान बनाउने, वडा नंं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं. ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम नमूना उद्यमका रुपमा सञ्चालित छन् । वडा नं. ८ को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं. ९ को रुद्राक्षको माला र धुप बनाउने, वडा नं. १० को मस्यौरा र अचार बनाउने, वडा नं. १२ को सुकुल बनाउने, वडा नं. १६ को काष्ठकला, वडा नं. २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं. २२ को जुत्ता बनाउने, वडा नं. २४ को मखमलका सजावटका सामान बनाउने र वडा नं. ३२ को अचार बनाउने उद्यम सञ्चालन छन् । र वडा नं. ३२ को अचार बनाउने उद्यम सञ्चालन छन् । 

    यीमध्ये वडा नं. ५ मा उद्यमका लागि प्रविधि हस्तान्तरण भइसकेको छ । यो उद्याम विकासको अर्को चरण हो । वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरु उत्पादन हुन थालेपछि यसको प्रवर्धन र उत्पादन मात्रा बढाउन प्रविधि हस्तान्तरण गरिएको हो । 

    यस वर्ष थालिएका ११ वटा वडाहरु वडा नम्बर ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडाहरुमा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी भेषभुषा तयार गर्ने, सचिका (धागो), सुर्के थैली र रिबनका फूलहरु बनाउने, पपेट बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबी सेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःमसहित खाद्य बस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने उद्यम सञ्चालन हुनेछन् । यी तालिमहरु कम्तीमा १० दिन र बढीमा २ महिनासम्मका छन् ।    

    उद्यमी समूहले उत्पादन गरेका सामानहरुको विक्रीका लागि बानेश्वरको एनबि सेन्टरमा प्रदर्शनी तथा विक्री कक्ष सञ्चालन भएको छ । महानगरपालिकाले अस्पायर भेन्चरसँगको सहकार्यमा गएको असोज ४ गतेदेखि बस्तु तथा सामग्रीको विक्री र प्रवर्धनका स्टल राखेको हो । उद्यमीहरुलाई यो स्थान निःशुल्क उपलब्ध हुन्छ । १५ वटा वडाबाट छनोट भएका नमूना उद्यम र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं. ६ र १४ एक एक वटा समूह गरी १७ वटा समूहका स्टल राख्ने गरिएको छ । 

     


     

  • प्रकाशित मिति शुक्रबार​ १९ वैशाख २०८२ ०७:२४ PM