वि.सं.: २०८२, मंसिर १६ मंगलबार
इ.स.: 2025 December 2,TUESDAY
वि.सं.: २०८२, मंसिर १६ मंगलबार
चावहिल गणेशस्थान र सिफल चौरलाई सुविधा सम्पन्न खेल मैदान बनाउन टेन्डर आह्वान भइसकेको छ : अध्यक्ष होडा
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ ले आयोजना गरेको पाँचौँ वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटरले जितेको छ । फ्रिडम फाइटरले फाइनल खेलमा चावहिल स्पोर्टसलाई ० का विरूद्ध १ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । फ्रिडम फाइटरका कन्या सुब्बा गुरुङले निर्णायक गोल गर्दै टिमलाई विजेता बनाउनुभएको हो ।
‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै असोज २५ गतेदेखि सञ्चालन भएको भेट्रान फुटबल प्रतियोगितामा फ्रिडम फाइटरले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको चावहिल स्पोर्टस क्लवले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । ट्रफी तथा पुरस्कार अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी विराटजङ्ग शाहीले प्रदान गर्नुभएको थियो ।
फाइनल खेलमा ‘म्यान अफ द म्याच’को उपाधि फ्रिडम फाइटरका नरबहादुर राईले हात पार्नुभयो भने ‘म्यान अफ द टुर्नामेन्ट’ पनि फ्रिडम फाइटरकै कन्या सुब्बा गुरुङ हुनुभयो । त्यस्तै, ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ चावहिल स्पोर्टसका राजेश शाही बन्न सफल हुनुभयो । ‘बेस्ट डिफेन्स’ र ‘बेस्ट किपर’ चावहिल स्पोर्टसकै सगुन श्रेष्ठ र सचिन श्रेष्ठ हुनुभएको थियो । सबै उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको थियो ।
भेट्रान कपका सन्दर्भमा वडा अध्यक्ष विमल होडाले खेलकुद कुनै उमेर समूहमा सीमित नहुने बताउनुभयो । उहाँले भन्नुभयो,“खेलकुद भनेको बालबालिका र युवाहरूका लागि मात्र होइन, जुनसुकै उमेर समूहका लागि पनि आवश्यक हुन्छ । स्वस्थ र सभ्य जीवन जिउनका लागि खेलकुद अत्यावश्यक भएकाले नै हामीले ४० वर्ष माथिका खेलाडीहरूलाई लक्षित गरेर यो फुटबल आयोजना गरेका हौँ ।”
उहाँ भन्नुहुन्छ,“हामीले भेट्रान कप मात्र होइन, विद्यालयस्तरीय प्रतियोगिता पनि गर्दै आएका छौँ । बजेट थोरै छ, तर आगामी वर्षहरूमा खेलकुदका कार्यक्रमका लागि बजेट बढाउनुपर्ने आवश्यकता महसुस भएको छ । खेलकुदमा सबै उमेर समूहका स्थानीय बासिन्दालाई आकर्षित गर्नु हाम्रो लक्ष्य हो । सानो मैदानमा खेले पनि स्थानीयको उत्साह र उपस्थिति देख्दा दशरथ रंगशालामा नै खेल हेरेको अनुभूति भयो ।”
होडाले वडा नं. ७ मा खेलकुदका पूर्वाधार विस्तारका काम तीव्र गतिमा अघि बढेको जानकारी पनि दिनुभयो । “खेलकुदको समग्र विकासका लागि स्थानीय वडास्तरीय खेलकुद प्रतिष्ठान आवश्यक छ । त्यसका लागि पूर्वाधार विकासको तयारी भइरहेको छ । चावहिल गणेस्थान र सिफल चौरलाई व्यवस्थित बनाउन टेन्डर आह्वान भइसकेको छ,” होडाले बताउनुभयो ।
उहाँका अनुसार आगामी दिनमा वडा अन्तर्गतका ४ वटा सामुदायिक विद्यालय र ५० भन्दा बढी निजी विद्यालयका विद्यार्थीका साथै स्थानीय बासिन्दाले निर्धारित रूटिन अनुसार ती मैदानमा खेल्न पाउनेछन् । उहाँ थप भन्नुहुन्छ,“अहिले सार्वजनिक जमिनको कमी छ, विद्यालयहरूमा पनि पर्याप्त खेलमैदान छैनन् । त्यसैले स्थानीय चौरलाई व्यवस्थित गरेर खेलमैदानको रूपमा प्रयोग गर्ने योजना बनाएका हौँ ।”
प्रतियोगिताका संयोजक तथा वडा सदस्य सुरेश शाहीका अनुसार भेट्रान कपमा उपत्यका बाहिरका खेलाडीहरूको समेत सहभागिता रह्यो । उहाँले भन्नुभयो, “यो वर्षको प्रतियोगितामा कैलाली, चितवन, बुटवल र हेटौँडाबाट पनि टिम आएका थिए । बाहिरबाट आएका खेलाडीहरूका लागि लजिङ–फुडिङको व्यवस्था गरिएको थियो ।”
वडा सदस्य कल्पना सुन्दासले खेलकुद प्रतियोगिता आयोजना गर्न धेरै परिश्रम र तयारी आवश्यक पर्ने बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो,“खेल हेर्न सजिलो लाग्छ तर आयोजना गर्न निकै चुनौतीपूर्ण हुन्छ । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्न चाहन्छु ।”
प्रतियोगिताको प्राविधिक सहयोग चावहिल स्पोर्टस क्लवले गरेको हो । क्लवका अध्यक्ष अजब श्रेष्ठका अनुसार पाँचौँ वडा अध्यक्ष भेट्रान फुटबल प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गरेका थिए । काठमाडौँ महानगरपालिका वडा नं. ७ को यो पहलले स्थानीय स्तरमा खेलकुदप्रतिको रुचि र उत्साह बढाएको छ ।
वडाले खेलमैदानको पूर्वाधार विकाससँगै वडा नं. ७ लाई खेलमैत्री वडाको रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App