बिहीबार, निर्माणाधीन वडा कार्यालय र इनाखा क्षेत्रको सडक अनुगमन
काठमाडौँ । सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि अनुगमन समितिले पूर्वाधार अनुगमन कार्यलाई नियमित गरेको छ । अनुगमनका क्रममा निर्माण सामग्री, निर्माण शैलीसहित तोकिएका मापदण्ड जाँच गर्ने गरिन्छ । यस्तै स्थानीय, लाभग्राहीसँग निर्माण सन्तुष्टिका विषयमा कुराकानी गर्ने गरिएको छ ।
यस क्रममा विहीबार महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले वडा नं. २१ इनाखा गणेशदेखि इनाखा नारायणसम्मको सडक खण्ड र वडा नं. ११ को निर्माणाधीन कार्यालय भवनको अनुगमन गर्नुभयो । त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, वडाध्यक्ष हीरालाल तण्डुकार, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
‘सार्वजनिक भौतिक संरचनाको निर्माण गर्दा गुणस्तर र मापदण्डको पालनासँगै यसको पहुँचका बारेमा पनि ध्यान दिन आवश्यक छ । सडकलाई सवारी यात्रा तथा पैदल यात्राबाहेक अनधिकृत व्यापारसहितका उपयोगलाई निरुत्साहित गर्नुपर्छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘सडकमा पुग्ने, निर्वाध र सुरक्षित रुपमा सडकमा हिँड्ने वातावरणका लागि डिजाइनदेखि नै ध्यान दिन जरुरी छ ।’ यो सडक भेरिएसनसहित ४१ लाख ९३ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।
वडा कार्यालयको अनुगमन गर्दै उहाँले, ‘व्हिल चेयर प्रयोगकर्ता व्यक्तिहरु कार्यालयको सेवा लिने ठाउँमा, शौचालयमा कसरी पुग्न सक्छन् भन्ने पक्षलाई प्राथमिकता दिनुभएको थियो ।’
करिव २ सय मिटर इनाखा सडक खण्डमा खनेर बेस हाल्ने, सेमिग्रेडिङ् गर्ने, मंगाल सफाइ गर्ने, २० मिलिमिटर कालोपत्रे गर्ने कामका लागि भ्याटसहित ४० लाख ८० हजार रुपैयाँ लागत अनुमान थियो । बोलपत्रका आएका निर्माण पक्षमध्ये ३९ लाख ९४ हजार रुपैयाँ कबोल गर्ने इन्द्रदह निर्माण सेवाले काम गरेको हो । २०८० माघ १८ कार्यादेश दिइएको योजना २०८१ जेठ ३२ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । त्यस अवधिमा काम नसकिएपछि २०८१ भदौ ३१ गतेसम्मका लागि म्याद थपिएको थियो । निर्माण पक्षले यही अवधिमा निर्माण सम्पन्न गरेको हो ।
वडा नं. ११ को कार्यालय भवन बाग दरबारको दक्षिण पूर्वी कुनामा बागदरबारकै निर्माण शैलीमा निर्माण भइरहेको छ । २०८० मंसिर २८ गते महानगर दिवसको अवसरमा पारेर निर्माण कार्य थालनी गरिएको हो ।
वडाध्यक्ष हीरालाल तण्डुकार भन्नुहुन्छ, ‘बाहिरी संरचनाको काम भइसकेको छ । रङ्ग रोगनको काम बाँकी छ । विजुली, इन्टरनेट जडानको काम गर्नुृपर्ने छ । यो काम सम्भवत पुस महिनाभित्र सम्पन्न होला । हामीले माघको दोस्रो साताबाट सेवा थाल्ने योजना बनाएका छौँ ।’
भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बिमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ । २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको हो ।
इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा ७ हजार २५० स्वायरफिट क्षेत्रफलमा निर्माण हुने ४ तलाको भवन बागदरबारकै शैली र उचाइको छ । भवनको भित्री सुविधा आधुनिक छन् । भवनको भुइँ तला १ हजार ६३० दशमलव ८१ स्क्वायर फिटको छ । यो तला सेवा प्रवाहका लागि प्रयोग गर्ने योजना छ । पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरको कक्ष राखिनेछ । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष हुनेछ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष हुनेछ । यही तलामा ५० जना अट्ने सभा कक्षसमेत हुनेछ ।