वि.सं.: २०८३, साउन २४ आइतबार
इ.स.: 2026 August 9,SUNDAY
वि.सं.: २०८३, साउन २४ आइतबार
समन्वय र सहकार्यबाट निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य
काठमाडौँ । काठमाडौँको बनकालीमा रहेको प्राचीन धर्मशाला र धर्मशाला परिसरमा पार्क, वरिपरि पर्खाल निर्माण गर्ने कार्यको शिलान्यास भएको छ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले विधिपूर्वक पूजाआजा गरेर निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।
शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले, पशुपति क्षेत्रमा आउने श्रद्धालुहरुले पशुपति क्षेत्रमै बास बसेर दर्शन गर्न पाउने वातावरण बनाउन लगानी गरिएको बताउनुभयो । ‘१ वर्षमा काम सम्पन्न गर्ने लक्ष्यसहित योजना अगाडि बढाएका छौँ । वडाले नेतृत्व लिएको छ । पशुपति क्षेत्र विकास कोषसँग समन्वय छ । सबैको सक्रियतामा योजना सम्पन्न हुनेछ ।’ उहाँको भनाइ छ ।
‘बनकाली धर्मशालाको पुनरुत्थानका लागि २ चरणमा काम हुँदैछ । पहिलो चरणमा धर्मशालाको छाना मर्मत, छानामा फल्याक राख्ने, वाटर प्रफिङ गर्ने, छाना नभएको ठाउँमा राख्ने काम भएको छ ।’ वडाध्यक्ष एवं समितिका संयोजक संगतले भन्नुभयो, ‘यस क्षेत्रको प्राचीन पहिचान पुनःस्थापना गर्ने लक्ष्यसहित काम गर्दैछौँ । २०४५ सालदेखि २०५० साल तिर पुरिएको पोखरी पुनरुत्थान गर्नेछौँ ।’
छाना मर्मतका लागि सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ३२ लाख ५४ हजार ६१३ रुपियाँमा अगाडि बढाइएको हो । यसको अहिले ९० प्रतिशत काम सकिएको छ ।
यो परियोजनाको गुरुयोजना सहरी योजना आयोगले तयार पारेको हो । आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईका अनुसार पशुपति क्षेत्र बिकास कोष अन्तर्गत रहेको करिब १२ रोपनी ६ आना क्षेत्रफलमा निर्माण कार्य हुनेछ । यसको लागत करसहित ३ करोड ६५ लाख १३ हजार ४३२ रुपियाँ हो । कामका लागि निर्माण पक्षसँग असार १७ गते सम्झौता भएको छ । यसको निर्माण अवधि २०८४ असार १० गतेसम्म हो ।
यस ठाउँको करिब एक रोपनी क्षेत्रफलमा ३६ कोठे धर्मशाला भवन छ । भवन पुरानो र जीर्ण भएको, झ्याल ढोका मक्किएको, थामले ठाउँ छोडेको, छाना चुहिने भएको, कति ठाउँमा छानो नै नभएकोले यसमा मानव बसोबास हुन सक्ने अवस्था थिएन । अब भवनलाई मौलिक स्वरुपमा जीर्णोद्धार गरिनेछ । श्रद्धालुको बसोबासलाई सहज बनाउन हरेक तलाका दुवैतर्फ महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नान कक्ष बनाइनेछ । यसपछि धर्मशालामा २४ वटा शौचालय र २० वटा स्नान कक्ष हुनेछन् ।
धर्मशाला भवनमा सरसफाइ र स्वच्छताको काम हुनेछ । पानीका लागि पाइप जडान र विद्युत जडानको काम हुनेछ ।
धर्मशालामा रहने श्रद्धालुहरुका लागि भवन अगाडि मनमोहक पार्क बनाइनेछ । पार्क डिजाइन गर्दा सबै उमेर समूहका व्यक्तिहरुलाई ध्यानमा राखिएको छ । ज्येष्ठ नागरिकलाई सामान्य व्यायाम गर्ने, योग गर्ने स्थान उपलब्ध हुनेछ । आराम गर्ने फलैँचा, बस्ने कुर्सी राखिनेछन् । युवाहरुका लागि व्यायाम गर्ने साधन राखिनेछन् । व्याटमिन्टन कोर्ट निर्माण गरिनेछ । बालबालिकाका लागि खेल्न ट्रामपोलिन, मङ्की बार, चिप्लेटी लगायत सामान सहितको सुविधा हुनेछ ।
परिसरमा समूहगत रुपमा बस्न मिल्ने बेञ्च राखिनेछ । खुला स्थानका विभिन्न स्थानमा बस्न कुर्सी राखिनेछन् । पानीको फोहोरा, वरपरि मानिस बस्न मिल्ने साना ठुला चौतारा बनाइनेछन् । निर्माण कार्य गर्दा वर्षादको पानी भुइँमा सोस्ने बनाइनेछ ।
आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार ६ हजार ३८१ वर्ग मिटर क्षेत्रको सरसफाइ गरेपछि काम थालनी गरिनेछ । पोखरी निर्माणसहित बगैँचा बनाउन करिब ३ हजार २३० घन मिटर माटो, बालुवा घटु चाः (पोखरी बनाउने माटो) प्रयोग हुनेछ ।
बगैँचामा ४ फिट उचाइका १५० वटा र ८ फिट उचाइका ३० वटा विरुवा रोपिनेछन् । ६ सय वटा मौसमी फूल रोपिनेछन् । २५० वटा पोली हेज सहितको हरियाली क्षेत्र निर्माण हुनेछ ।
करिव ३५० मिटर लम्बाईको सिमाघेरा पर्खाल लगाइनेछ । पर्खालको १ हजार ३५४ वर्गमिटर क्षेत्रमा दछी आपा राखिनेछ । पर्खाल कासिमो बुट्टा र पालेफो बुट्टासहितको हुनेछ ।
भुइँको २२७ दशमलव ७९ वर्गमिटर क्षेत्रमा परम्परागत तेलिया टायल राखिनेछ । भुइँ र पर्खाल गरी ३९७ दशमलव ९९ वर्गमिटर क्षेत्रमा टायल राखिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App