Logo
  • वि.सं.: २०८३, वैशाख २४ बिहीबार

  • इ.स.: 2026 May 7,THRUSDAY

  • वि.सं.: २०८३, वैशाख २४ बिहीबार

  • डेङ्गी नियन्त्रणको थालनीमा विद्यालय स्तरीय विद्यार्थीहरुमा सचेतना कार्यक्रम सुरु 

    दोस्रो चरणमा स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मीहरुको क्षमता विकास गर्ने तयारी 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेङ्गी नियन्त्रणका लागि विद्यालयका विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम थालनी गरेको छ । ३२ वटा सामुदायिक विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुलाई डेङ्गी संक्रमणका बारेमा जानकारी दिएर समुदायमा सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम थालिएको हो । पहिलो कार्यक्रम वडा नम्बर ३ मा रहेको शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा सम्पन्न गरिएको हो । 

    बर्खायाम सुरु भएसँगै डेङ्गी संक्रमणको जोखिम बढ्ने भएकोले जोखिम घटाउने रोकथाम, नियन्त्रण र उपचारका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम थालिएको हो । महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषाल भन्नुहुन्छ, ‘३२ सय विद्यार्थीहरुलाई सचेत बनाएर उहाँहरुलाई डेङ्गी नियन्त्रणका सन्देश संवाहक बनाउने योजना अनुरुप कार्यक्रम थालिएको बताउनुभयो ।’

    समुदाय स्तरमा डेङ्गी रोगको रोकथामका प्रयासका बारेमा छलफल र अन्तरक्रिया चलाएर सम्भावित जोखिम घटाउने वडा कार्यालयको योजना छ । वडा नम्बर ३ का सदस्य सीता थापा र शर्मिला परियारले भन्नुभयो, ‘महामारी नियन्त्रणका लागि साझा प्रयास चाहिएको छ ।’

    कार्यक्रममा स्वास्थ्य प्रवर्धन केन्द्रका इञ्चार्ज सिर्जना पाठक र स्कूल नर्स सविता दनुवारले विद्यार्थीहरुसँग रोग लाग्ने कारण, रोगका लक्षण, वचावट गर्ने उपायका बारेमा अन्तरक्रिया गर्नुभएको थियो । यस क्रममा विद्यार्थीहरुले, कुन लामखुट्टेले टोक्दा डेङ्गी लाग्छ? डेङ्गी लागेको कसरी थाहा पाउने? जनावरबाट मान्छेमा रोग सर्छ कि सर्दैन? जस्ता प्रश्न राखेका थिए । यी प्रश्नहरुको स्वास्थ्यकर्मीहरुले जवाफ दिनुभएको थियो ।     

    सचेतनामूलक र क्षमता विकासका कार्यक्रमपछि डेङ्गी रोग फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यक्रमलाई सक्रिय बनाउने योजना छ । डेङ्गी संक्रमण फैलाउने लामखुट्टे सफा जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरुमा पानी भरेर राख्नुहुँदैन । पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन । अहिले झरी परिरहेको र यस क्रममा जम्मा हुने पानीमा लामखुट्टेका लार्भा हुर्किन सक्ने भएकोले अहिलेदेखि नै सजगता अपनाउन आवश्यक छ । 

    बर्षायाममा साउन, भाद्र, असोज र कात्र्तिक महिनासम्म यस रोगको संक्रमण दर तीब्र हुने गरेको विगत अभ्यासले देखाउँछ । एडिस जातको संक्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिन सक्छ । 


     

  • प्रकाशित मिति मंगलबार ६ जेठ २०८२ १२:२४ PM