वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
उपप्रमुख डंगोलबाट विद्यार्थीहरुलाई प्रोत्साहन
काठमाडौँ । हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् । यो विद्यालय काठमाडौँ महानगरपालिकाभित्रका वडा नं. २२ नयाँ सडकमा छ । सामुदायिक विद्यालयमा महानगरपालिकाले कार्यान्वयन गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र वालबालिका (वावा) उपसमूहका विद्यार्थीहरु विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर विक्री गर्न थालेका हुन् । विद्यालयमा सफाइ गर्दा संकलन भएको कागज, कडा प्लाष्टिक, रवर, खाना प्याकिङ् गर्ने खोल सुख्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई २ वटा बाल्टिनमा राख्ने गरिएको पाइन्छ । यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा ४ खण्ड छन् । बिचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा ८ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यवसायिक रुपमा विक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।
शुक्रबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विद्यार्थीहरुको फोहर विक्री गर्ने अभ्यास अवलोकन गर्नुभयो । यसक्रममा उहाँले विद्यार्थीहरुलाई फोहर कहाँबाट प्राप्त गर्नुहुन्छ? प्राप्त भएको फोहर कसरी बर्गीकरण गर्नुहुन्छ? सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका लागि के के गर्नुहुन्छ? जस्ता प्रश्न सोधेर व्यवहारिक ज्ञानका बारेमा जानकारी लिनुभएको थियो । उपप्रमुखले अबको योजना के छ? भनेर सोध्नुभएको प्रश्नमा विद्यार्थीहरुले, फोहर बेचेर प्राप्त भएको रकम विद्यालयको सरसफाइ र स्वच्छताका लागि प्रयोग गर्ने योजना सुनाए ।
उनीहरुले उपप्रमुखकै अगाडि वर्गीकरण गरिएको फोहर निकाले । तौल गरे । त्यसपछि धरमनाथ जैसवाललाई फोहर विक्री गरे । यसबाट प्राप्त भएको रकम ग्रहण गरे ।
उपलब्ध ठाउँमा विद्यार्थीहरुले गरेको यो प्रयासको प्रशंशा गर्दै उपप्रमुख डंगोलले, थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन गर्नुभयो । ‘यो प्रयास सिकाइ योग्य छ ।’ उहाँले भन्नुभयो, ‘विद्यालयमा सिकेको कुरा घरमा पनि प्रयोग गर्नु । यो सिकाइ आमाबाबालाई पनि सुनाउनु है ।’ बाल उमेरमा सिकेको ज्ञानले जीवनभर काम दिन्छ । यसकारण विद्यालय उमेरका बालबालिकालाई वातावरणीय सुधारका लागि व्यक्तिको दायित्व बोध गराउन वावा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यसको दिगोपनाका लागि बुक फ्री फ्राइडेसँग जोडिएको बताउनुभयो ।
कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले, फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनःभरणको कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App