Logo
  • वि.सं.: २०८३, असोज ९ शुक्रबार​

  • इ.स.: 2026 September 25, FRIDAY

  • वि.सं.: २०८३, असोज ९ शुक्रबार​

  • सम्यक् महादान मूल समारोह समिति घोषणा : आउँदो माघ १ गते महादान हुने 

    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखको प्रमुख संयोजकत्वमा मूल समारोह समिति र कार्यान्वयन समिति, १३ वटा उपसमिति गठन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा ‘सम्यक् महादान मूल समारोह समिति’ घोषणा भएको छ । महानगरपालिकाले विभिन्न संघ, विहार, बहाल तथा गुठीको प्रतिनिधित्व र सहभागिता हुने गरी ३०१ सदस्यीय समिति घोषणा गरेको हो । आउँदो माघ १ गते स्वयम्भूको भुइँखेलमा महादान पूजा आयोजना हुनेछ । हरेक १२ वर्षमा हुनु पर्ने तर वितेका २२ वर्षदेखि हुन नसकेको थिएन । यस अघि ऐच्छिक गुठीमार्फत आयोजना गर्ने गरिएको तर रोकिएको महादान आयोजना गर्न समुदाय स्तरबाट कठिन हुने ठाउँमा पुगेपछि अमूर्त सम्पदा बचाउन तथा पुस्तान्तरण गर्न महानगरपालिकाले महादान आयोजना गर्न लागेको हो । 

    मुख्य दुई दिन मनाइने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइखेलमा मनाइने परम्परा छ । महादान २०६१ साल पछि काठमाडौँमा मनाउन सकिएको छैन । 

    बिहीबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको घोषणा कार्यक्रममा गठित समितिको संयोजकमा नेपाल बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्य हुनुहुन्छ । यस्तै महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, महादान हुने वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, महाविहार संघ, काठमाडौँका अध्यक्ष शुभकाजी शाक्य, उराय् समाज, काठमाडौँका सदस्य डा. सुमनकमल तुलाधर सहसंयोजक हुनुहुन्छ । मूलश्री महाविहार काठमाडौँका समज्वल बज्राचार्य मूल समारोह समितिका सदस्य सचिव हुनुहुन्छ । 

    यस्तै कार्यवाहक प्रमुख डंगोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति घोषणा भएको छ । समितिको उपाध्यक्षमा प्रा. डा. नरेशमान बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरुमा ईश्वरमान डंगोल, आशामान संगत, न्हुच्छेकाजी महर्जन, राजेशकुमार श्रेष्ठ, राजेन्द्र मानन्धर, मचाराजा महर्जन, विनोद कुमार राजभण्डारी, राजेश डंगोल, योगेश खड्गी हुनुहुन्छ । यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, महानगरपालिकाका प्रशासन विभाग, वित्त विभाग, स्वास्थ्य विभाग, वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलका प्रमुख सदस्य हुनुहुन्छ । समितिमा शाक्य महाविहार संघ काठमाडौँका अध्यक्ष शाक्य, उराय् समाज काठमाडौँका सदस्य डा. तुलाधर, मूलश्री महाविहारबाट बज्राचार्य, मञ्जुश्रीरत्न बज्राचार्य, संघरत्न बज्राचार्य, डा. सुरेन्द्रमान बज्राचार्य सदस्य हुनुहुन्छ । 

    महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने यस समितिमा प्रमुखले ९ जना सदस्य तोक्नुहुनेछ । 

    कार्यान्वयन समिति मातहतमा रहेर क्षेत्रगत काम गर्नका लागि १३ वटा उपसमिति गठन भएका छन् । यसमा मञ्जुश्री रत्न बज्राचार्यको संयोजकत्वमा पुजा, दान, दाता उपसमिति गठन भएको छ । संघरत्न शाक्यको संयोजकत्वमा देवता निमन्त्रण उपसमिति, डा. सुरेन्द्रमान बज्राचार्यको संयोजकत्वमा अभिलेखीकरण तथा प्रकाशन उपसमिति गठन भएको छ । 
     
    अन्य उपसमितिहरुमा सम्यक् भोजन व्यवस्थापन उपसमिति, स्थान व्यवस्थापन उपसमिति, स्वयमसेवक परिचालन उपसमिति, यातायात तथा ढुवानी उपसमिति, सांस्कृतिक उपसमिति, स्वास्थ्य उपसमिति, प्रचारप्रसार उपसमिति, आर्थिक उपसमिति, सुरक्षा उपसमिति, खाजा तथा खाना व्यवस्थापन उपसमिति छन् । यी उपसमितिका संयोजकहरु तोक्न बाँकी छ । 

    परम्परागत रुपमा सञ्चालन गर्नु पर्ने महादानलाई पुनःजीवन दिने र पुस्तान्तरण गर्ने लक्ष्यसहित हामी अगाडि बढेका छौँ । समिति घोषणा भएपछि समारोहमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘मेरो पुस्ताले सम्यक् देखेको छैन । मभन्दा पछिको पुस्ताले देख्ने कुरै भएन । यसरी पुस्ता पुस्ताले देख्न नपाउने अवस्थामा पुगेका हाम्रा मौलिक परम्परा बचाउने दायित्व लिएका हौँ ।’ मूर्त सम्पदालाई जीवन दिने अमूर्त परम्परा थाहै नपाइ हराउँदै जाने विगतलाई सच्याउँदै जानु पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘अघिल्लो पुस्तासँग सिक्दै पछिल्लो पुस्तामा संस्कार हस्तान्तरण गर्नु नै हामीले चाहेको नतिजा हो ।’ 

    ‘मूर्त सम्पदा जीर्ण भएको, भत्किएको, विग्रिएको देखिन्छ । महसुस गरिन्छ । २०७२ सालको भूकम्पले ढलेका सम्पदा हामीले उठायौँ । तर, अमूर्त सम्पदा ढलेको, विग्रिएको, भत्किएको नदेखिन सक्छ । यसकारण थाहै नपाई हराउन सक्छन् । त्यसैले अमूर्त सम्पदा बचाउने विभिन्न कार्यक्रममध्ये संघ, विहार, बहीसँगै जातीय समूह तथा महानगरबासी सबैको साथ लिएर महादान आयोजना गर्न लागेका हौँ ।’ डंगोलले बताउनुभयो । 

    बुद्ध दर्शनको विकासका दृष्टिले लिच्छवीकाल स्वर्ग युग थियो । त्यस बेला देखिका परम्परालाई पुस्तान्तरण गर्नु अहिले हाम्रो मुख्य जिम्मेवारी हो । कार्यक्रममा मूल समारोह समितिका संयोजक चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्यले दानको महत्वका विषयमा भन्नुभयो, ‘बुद्धद्वारा मानव कल्याणका निमित्त उपदेशित शिक्षाको पहिलो शिक्षा तथा अभ्यास ‘दान’ हो । बौद्ध साहित्यमा दानको महत्व वर्णन हुने अनेक सूत्र, जातक तथा अवदान कथाहरु र ती प्रसङ्गसंग जोडिएर आउने नमोबुद्ध, मणिचूड पर्वत जस्ता नेपालका चर्चित स्थानहरुमा बुद्धले सरीर अर्पण गरेर परमार्थ दान अभ्यास गरेको उल्लेख्य उदाहरण छन् ।’ 
    मानव कल्याण र विश्व शान्तिका लागि यी परम्पराहरुलाई जीवित राख्नुपर्ने उहाँको भनाइ थियो । 

    समारोहमा मूल चक्रेश्वर फणिन्द्ररत्न बज्राचार्यले भन्नुभयो, ‘सम्यक् महादान गर्ने महानगरपालिकाको निर्णयको गहिरो अर्थ छ । यो निर्णय कार्यान्वयनमा सघाउ गर्नु सबैको दायित्व हो । यसले मानव कल्याण गर्नेछ ।’ मूल समारोह समितिका सल्लाहकार एवं संघीय संसद कुलभक्त शाक्यले, महानगरपालिकाले गरेको निर्णय संस्कारm संस्कृति र परम्पराप्रतिको सम्मान भएको धारणा व्यक्त गर्नुभयो । ‘समुदायप्रति समर्पित यस्ता निर्णयले काठमाडौँको सांस्कृतिक पहिचान त जोगाउँछ नै यसले समाज व्यवस्थापनको असल अभ्यासलाई पुस्तारन्तण गर्नेछ ।’ शाक्यले धारणा राख्नुभयो । 

    कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, क्षेत्रगत र साझेदार सबैको सहभागिता सुनिश्चित गरेर ऐतिहासिक कामको प्रारम्भ गरेको बताउनुभयो । यस्तै महादान आयोजना हुने स्थल रहेको वडाका अध्यक्ष ईश्वरमान डंगोलले, बर्षौँपछि भुइँखेलको परम्पराले निरन्तरता पाउनु महानगरबासीसँगै वडावासीका लागि गौरव भएको उल्लेख गर्नुभयो । 

    बौद्धहरुले गर्ने हरेक धार्मिक क्रियाकलापमा दान कार्य प्रायः अनिवार्य रुपमा समावेश हुन्छ । नेपालमा दान अभ्यासका लागि नियमित बार्षिक पञ्जरां (पञ्चदान), ऐच्छिक पञ्जरा, नराँ पञ्जरां दान, निश्चित अन्तराल पछि गरिने महा सम्यक् दानहरु पर्व कै रुपमा मनाइँदै आएका छन् । साथै यी दानहरु नीजि तजविजमा ऐच्छिक रुपमा समर्थवान् श्रद्धालु व्यक्तिहरुले आयोजना गर्ने गरेको विगत अभ्यास हो । 

    यी विभिन्न प्रकारका दान चर्याहरु मध्ये ‘सम्यक् महादान’ सबभन्दा महत्वपूर्ण, कठिन र दुर्लभ मानिन्छ । महादानको मुख्य दिनमा सहरका सबै दीपङ्कर बुद्ध (देवमूर्तिहरु) लगायत प्रायः सबै प्रमुख बौद्ध मन्दिरहरुका देव, देवीहरुलाई निमन्त्रणा गरी विराजमान गराउनु पर्ने, पूजापाठ अर्पण गर्नुपर्ने, दान दक्षिणा चढाउनु पर्ने, राष्ट्र प्रमुखको उपस्थितिको अनिवार्य व्यवस्था गर्नु पर्ने, साथै आएजति संघ अर्थात् नेपाल मण्डलका श्रद्धेय बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु, चैलक भिक्षुहरु सबैलाई उत्तिकै उत्साहका साथ निर्धारित उपयोगी बस्तुहरु पूर्ण तयारीका साथ दान अर्पण गर्नु पर्छ । 

    यी सबै क्रियाकलापको तयारीका लागि निकै खर्च, श्रम, स्रोत साधन आवश्यक हुन्छ । त्यसैले यसको आयोजना कठिन हुन्छ । यति कठिन हुँदाहुँदै पनि विगतमा धर्मचित्त भएका श्रद्धालुहरुले यस्तो पर्व ऐच्छिक रुपमा आयोजना गरेर नेपाली सामथ्र्य सावित गरेका थिए । अहिले आएर सम्यक् महादानको आयोजना सर्वसाधारणको क्षमता र पहुँचभन्दा बाहिर पुगिसकेको छ । 

    सम्यक् महादानका मुख्य आकर्षण बुद्धवंश साहित्यमा उल्लेख भएका २८ मानुषी बुद्धहरु मध्ये चौथो बुद्ध दीपङ्कर हुन् । यिनै बुद्धका समयदेखि नेपालमा दान पर्व चलिआएको जनविश्वास छ । यससँग सम्बन्धित कथालाई दान चर्या गर्दा स्मरण गरिन्छ । सम्यक् दानको वेला ठुलो संख्यामा लस्करी प्रदर्शनमा राखिने बडेमानका दीपङकर बुद्धका धातु मूर्तिहरु विशेष रुपले शोभायमान गरिन्छ । यो शोभा उत्सव स्वदेश तथा विदेशमा निकै चर्चित छ । साथै, राष्ट्र प्रमुखको उपस्थिति हुनु, अनेकौँ बौद्ध देवदेवीहरुको एकै स्थानमा एकत्रित गरिनु, बौद्ध संघ सदस्यहरु भेला हुनु, ती आराध्य वस्तु र अर्पण गरिने विभिन्न तरहका अमूर्त श्रद्धा भाव, दान कार्य प्रस्तुतीकरण आदि सम्यक् महादानका थप आकर्षण हुन् ।

    महान बौद्ध दान ‘सम्यक महादान’ नेपालको प्राचीन मौलिक परम्परा हुँदाहुँदै काठमाडौँको सांस्कृतिक पहिचान पनि हो । यो तत्कालीन उपत्यकाबासीहरुका सामूहिक सहकार्यको अनुपम नमूना पनि हो । यो पर्व कुनै बेला काठमाडौँ नगरको वैभवताको प्रतीक थियो । 

    यो प्रतीकलाई बचाउन महानगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा काठमाडौँ उपत्यकाको प्राचीनतम सांस्कृतिक महत्व बोकेको सम्यक् महादान जस्तो मानवीय, करुणामयी र व्यापक जनएकता गराउने सम्यक् महादान सञ्चालन गर्ने कार्यक्रम पारित गरेको थियो । यसले काठमाडौँ महानगरवासी र उपत्यकाका अन्य बौद्धमार्गी नेवार समुदायलाई एकीकृत र सामुहिक कल्याणकारी कार्यमा सहभागिता मात्र गराउँदैन, मानव जाती र समग्र चराचर जगतको कल्याणको कामना गर्ने पवित्र भावनालाई समेत संस्थागत गर्न मद्दत गर्दछ ।

  • प्रकाशित मिति शुक्रबार​ ९ असोज २०८३ १०:३२ AM