वि.सं.: २०८३, असोज १० शनिबार
इ.स.: 2026 September 26,SATURDAY
वि.सं.: २०८३, असोज १० शनिबार
हामी ढलेका मूर्त सम्पदा पुनःनिर्माण र हराउँदै गएका अमूर्त सम्पदा पुनःस्थापना गरिरहेका छौँ – कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सवा ८ करोड लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण गराउन थालेको छ । २०७२ सालको भूकम्पले जीर्ण भएपछि भत्काइएको सत्तल पुननिर्माणका विषयमा स्थानीय बिच फरक मत भएपछि काम हुन सकेको थिएन । असहमतिसँग सम्बन्धित आवाजलाई प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट सहमतिमा ल्याएपछि पुनःनिर्माणका लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलले, जग पूजा र शिलान्यास गर्नुभयो ।
त्यस क्रममा उहाँले, ढलेका मूर्त सम्पदा उठाउने र हराएका अमूर्त सम्पदा पुनःस्थापना गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । ‘यी संरचना काठमाडौँका पहिचान स्मारक हुन् ।’
पुनःनिर्माण सुरु हुनु नै हाम्रा लागि पहिलो सफलता हो । वडाध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, ‘भत्किएका सम्पदा बनाउँछौँ भन्दा पनि काम गर्न पाइएको थिएन । सत्तल पुनःनिर्माणपछि वडाको प्रशासनिक सेवा पनि यहीँबाट प्रवाह गर्नेछौँ ।’
शिलान्याससम्मको चरमा ल्याउनु नै ठुलो कुरा बन्यो । वडा सचिव सर्वज्ञराज पौडेलले भन्नुभयो, ‘काम थालनी भएको छ । अब निर्धारित समयमा निर्माण सम्पन्न गराउनेमा हाम्रो ध्यान हुनेछ ।’ यसको निर्माण अवधि २०८५ भदौ ३० गतेसम्म हो ।
आर्किटेक्ट डिजाइनर इरु श्रेष्ठका अनुसार ४४१ दशमलव १४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सत्तलको चौडाइ १८ फिटको हुनेछ । सत्तल मौलिक स्वरुपमा २ तलाको हुनेछ । लम्बाइ दक्षिणतर्फ १४८ फिट र पश्चिमतर्फ १४७ फिटको हुनेछ । हरेक तला ३ हजार ८८१ वर्गफिटका हुनेछन् ।
श्री ५ सुवर्णप्रभा महारानीले साके संवत् १७३० मा निर्माण गराएको सत्तल वि. सं. १९९० र २०२८ सालमा जीर्णोद्धार भएको थियो । २०७२ सालको भूकम्पले भत्किएपछि पुनःनिर्माण गराउने क्रममा स्थानीयबासीका बिचमा भएको मतान्तरका कारण रोकिएको थियो ।
सत्तल पुनःनिर्माणका लागि ११ करोड ९८ लाख २५ हजार ६३५ रुपियाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ८ करोड १६ लाख ९१ हजार ७२३ रुपियाँमा निर्माण कम्पनी आर.आर. - आर. जी. एस.सँग सम्झौता भएको छ ।
२०३६ सालमा काठमाडौँ नगर पञ्चायतले बनाएको अभिलेख अनुसार यो सत्तल चारै दिशामा समान रूपले फैलिएको थियो । सत्तलको बिच प्राङ्गणमा एक मन्दिर पनि रहेको छ । सत्तलको दक्षिणतर्फको भागमा नन्दी रात्री विद्यालयले कक्षा सञ्चालन गर्न प्रयोग गरेको छ ।
त्यस बेला घरबारविहीनहरु सत्तलमा आश्रय लिएर बसेका थिए । अभिलेखमा भनिएको थियो, ‘काष्ठकला र प्रस्तरकलाले समृद्ध सत्तल संरक्षणको अभावमा ठाउँ ठाउँको काष्ठकला सहितको काठहरू मक्किएर खेर गैराखेकोले यथाशीघ्र यसतर्फ ध्यान पु¥याउनु आवश्यक देखिन्छ । जस्ता र झिँगटीको मिश्रित छाना भएको यस सत्तलको जस्ता प्वाल परेर र झिंगटी फुटेर पानी चुहिने गरेकोले त्यसको प्रतिकुल असर गारोमा परेको छ ।’ यसबाट भन्न सकिन्छ, सत्तल त्यसबेलामा नै तत्काल मर्मत गर्नु पर्ने अवस्थामा थियो । अभिलेखमा ‘सत्तलको पूर्वमा चार तथा दुई धारा, पश्चिममा खाली ठाउँ तथा बाटो, उत्तर र दक्षिण दुवैतर्फ सडक गएको छ ।’ भन्ने उल्लेख छ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App