वि.सं.: २०८२, मंसिर २३ मंगलबार
इ.स.: 2025 December 9,TUESDAY
वि.सं.: २०८२, मंसिर २३ मंगलबार
सडक निर्माणका क्रममा विस्थापन गर्न खोजेपछि गुठियारहरुले विरोध गरेर बचाएको सम्पदा
काठमाडौँ । लैनचौरमा रहेको दिगु द्यःया देग (कुल देवताको घर) जीर्णोद्धार सकिएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ ले उपभोक्ता समितिमार्फत जीर्णोद्धार सम्पन्न गराएको हो । २०८१ बैशाखबाट थालिएको जीर्णोद्धारको काम सकिएपछि बैशाख १३ गते शनिवार अमृत कालको शुभमुहुर्त पारेर महानगरपालिकाको सुशासन समितिका संयोजक एवं वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले शिलापत्र अनावरण गर्नुभयो ।
यो कुलदेवता घर, महानगरपालिकाको वडा नं. १७ थँहिटी, क्वाबहालको लघःछे टोलका आदिबासी ज्यापू समुदायको हो । यसको लागत करिब २० लाख रुपैयाँ हो । मुल सडकको बिचमा रहेकोले कुनै समय सडक विस्तारका क्रममा यसलाई हटाएर देवता रहेको स्थानमा पनि सडक बनाउने योजना अगाडि सारिएको थियो । परम्परादेखि मानी आएको देवस्थानलाई अन्यत्र सार्न नहुने, यसबाट अनिष्ट सिर्जना हुने भन्दै स्थानीय समुदायबाट विरोध भएपछि देवघर स्थानान्तरण हुनबाट रोकिएको थियो ।
पुनःनिर्माणका क्रममा केशरमहलबाट नारायणहिटी पर्खालहुँदै सोह्रखुट्टेतर्फ लाग्ने चोकबाट लैनचौर फुटबल ग्राउण्ड नजिकसम्म आइल्याण्ड निर्माण गरिएको छ । आइल्याण्डको मध्य भागमा देवघर बनाइएको छ । आइल्याण्डमा गमलामा फूल राखेर सजावट गरिएको छ । मन्दिर तले शैलीमा बनाइएको छ । देवस्थल भने सडक सतहभन्दा केही तल छ ।
देवघर शुभारम्भ गरिसकेपछि वडाध्यक्ष तिवारीले वडाबाट सम्पदा पुनःनिर्माणका लागि आधा दर्जन ठूला योजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो । ‘ठमेलको गाःहिटी, भगवान वहाल, लैनचौरमा २ वटा ढुङ्गेधारा, कपुरधारामा २ वटा ढुङ्गेधारा, गल्कोपाखामा एउटा ढुङ्गेधारा पुननिर्माण भइरहेका छन् ।’ तिवारीले भन्नुभयो, ‘मौलिक र ऐतिहासिक यस्ता सम्पदा क्षेत्र र पर्यटकीय स्थान ठमेलको अभिन्न सम्बन्ध छ ।’
मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष महेन्द्रराज डंगोल भन्नुहुन्छ, ‘आदिबासी ज्यापू कुलका देवताको मन्दिर पुनःनिर्माणमा वडाले प्रदान गरेको तत्परताबाट समयमा पुनःनिर्माण सम्पन्न हुन सकेको हो । यसबाट परम्परादेखि चलिआएको मान्यता बचाउन ठुलो मद्दत पुगेको छ ।’
कार्यक्रममा ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंह, महागुथि नेपाःका अध्यक्ष सत्यनारायण डंगोल, महागुथि नेपाःका महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, लघःछे नास पुचका अध्यक्ष सुकुकाजी महर्जनसहितका सरोकारवालाले प्राचीन र मौलिक स्थान बचाउन, संरक्षण र प्रवर्धन गर्न महानगरपालिकाबाट निरन्तर सहयोग प्राप्त भइरहने अपेक्षा व्यक्त गर्नुभयो ।
शिलापत्र अनावरण अघि पुनःनिर्माणका क्रममा भएको गल्तीप्रति क्षमा पूजा गरिएको थियो । त्यस क्रममा परम्परागत टोलका अध्यक्ष, थाकुली, मुगुरुसहित संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App