Logo
  • वि.सं.: २०८२, असर ३२ बुधबार

  • इ.स.: 2025 July 16,WEDNESDAY

  • वि.सं.: २०८२, असर ३२ बुधबार

  • सेरामिक्सबाट निर्मित उपभोग्य र सजावटका सामान नरःदे (हाँडीगाउँ) को रैथाने पहिचान बन्दै

    आधारभूत र विशिष्ठ सिप सिकाउने, प्रविधि प्रदान गर्ने काम हामीले गरेका छौँ, महानगरपालिकाको यो लगानीलाई उत्पादनमा रुपान्तरण गर्नुहोला - उपप्रमुख डंगोल

    काठमाडौँ । रैथाने सिप जोगाउन सिप सिकाउने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सेरामिक बस्तु विकास, डिजाइनिङ्, रङ्ग समिश्रण तथा फिनिसिङ्’ विषयमा २१ दिने प्रशिक्षण सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग र नेपाल हस्तकला महासंघ, कला तथा शिल्प परिषद्को संयुक्त आयोजनामा नरःदे (हाँडीगाउँ)मा सञ्चालन गरिएको प्रशिक्षणमा १५ जना सहभागीले प्रशिक्षण लिनुभएको थियो । प्रशिक्षणको अन्तिम दिन आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले वडाध्यक्ष वीरेन्द्र प्रजापतीलाई माटो मुछ्ने उपकरण हस्तान्तरण गर्नुभयो ।  

    त्यस अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्दै उपप्रमुख डंगोलले, पूर्खाको सिप नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजाने चलन चल्दै गर्दा बिचको एक पुस्तामा हस्तान्तरण नभएपछि रैथाने कला पुस्तान्तरणमा संकटमा पुगेको बताउनुभयो ।

    ‘मौलिक सिपको विकास र विस्तारका लागि आएको संकटबाट व्यवस्थापन गर्न हामीले आधारभूत र विशिष्ठ प्रकार गरी तहगत रुपमा क्षमता विकासका कार्यक्रम चलाएका छौँ । पेशा सञ्चालन गर्न आवश्यक पर्ने प्रविधि प्रदान गरेका छौँ । महानगरपालिकाले गरेको यो लगानी बस्तुको गुणस्तरीय र पर्याप्त उत्पादनबाट फिर्ता गर्नुहुनेछ भन्ने आशा गरेका छौँ ।’ डंगोलको भनाइ थियो । वडा नम्बर ५ लाई पाला (माटोको दियो) मा आत्मनिर्भर बनाउँदै क्रमशः बजार बढाउनेमा हामीले आशा गरेका छौँ । उहाँको भनाइ थियो । 

    कार्यक्रममा वडाध्यक्ष वीरेन्द्र प्रजापतीले, प्रशिक्षार्थीहरुले उत्पादन गरेका बस्तुको बजारीकरणमा समस्या हुन नदिने बताउनुभयो । ‘गुणस्तरीय बस्तु उत्पादन गर्नोस्, बिक्री भएन भने वडाले ती सामान विक्रीको प्रवन्ध मिलाइदिनेछ ।’ उहाँले भन्नुभयो, ‘नरःदे को प्राचीनता जोगाउन हामी काम गरिरहेका छौँ । परम्परागत रुपमा हेर्दा प्रजापतीहरुले माटोका सामान बनाउनु हो । अब यो विस्तार भएको छ । प्रजापती मात्र होइन । यसको विकास र प्रवर्धनका लागि हरेक जातजाती, उमेर समूहका व्यक्तिहरुको सक्रियता छ ।’ 

    ‘मौलिक सिपलाई हराउनबाट जोगाउन तालिम आयोजना गरिएको हो ।’ सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले भन्नुभयो, ‘भक्तपुरका प्रजापती माटोका भाँडा बनाउने कामसँग परिचित छन् । रैथाने सिप बोकेर उनीहरु हाँडीगाउँबाट भक्तपुर गएको विश्वाश पाइन्छ । उता (भक्तपुर) मा पहिचान छ । नरःदे (हाँडीगाउँ) मा हरायो । हराएको यो कुरा पुनः सञ्चालनमा आउने अपेक्षा गरेका छौँ ।’

    हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले, कला जसको जसले सिके पनि हुने बताउनुभयो । ‘हामीले उत्पादन गर्ने सेरामिकका कलामा नेपाल मण्डलको पहिचानसँग सम्बन्धित संकेत राखेर विश्व बजारमा परिचय बढाउन सकिन्छ ।’ उहाँको भनाइ थियो । 

    वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, महासंघका उपाध्यक्ष तथा कला तथा शिल्प परिषद्का सदस्य नविन शाक्यले प्रशिक्षण अवधिमा प्रदान गरिएको सिपका विषयमा जानकारी गराउँदै माटोको विज्ञान, 
    सामान तथा सजावटका सामान बनाउन अपनाउनु पर्ने तयारी, उत्पादन, उत्पादित बस्तुको बजारीकरणसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइएको बताउनुभयो ।  

    माटोको विज्ञान र तयारीमा माटोलाई मिश्रण बनाउने, लचकता परीक्षण गर्ने, पुनःप्रयोग गर्ने तरिका, स्ल्याब निर्माणलगायत सिप सिकाइएको थियो । यस्तै उन्नत ह्याण्डविल्डिङ्मा कुरुनिकी प्रविधि, पिन्च पोटरी, कोइल निर्माण, मोल्ड निर्माण, किन्सुकी, सेन्टरिङ् सिकाइएको थियो । व्हील थ्रोइङ् कलामा जटिल आकार, क्र्‍याक पोटरी सिकाइएको थियो । 

    ग्लेज रसायन र प्रयोगमा ग्लेजको रसायन, यसको संरचना, रङ्ग बनाउने, डुवाउने, खन्याउने, परीक्षण गर्ने, ब्रस गर्ने, स्प्रे गर्ने, तहगत ग्लेजिङ् गर्ने सिप प्रदान गरियो । सतह सजावट र बनावटमा टेक्सचरिङ्, डिजाइनमा नवप्रवर्तन विषय समावेश थिए । फायरिङ् प्रविधिमा बिस्क फायरिङ्, ग्लेज, राकु, ब्ल्याक, लस्टर फिनिस गर्ने सिप प्रशिक्षणमा सिकाइयो । व्यावसायिक सिपमा उत्पादन, कार्यप्रवाह, लागत निर्धारण, ब्राण्डिङ्, बजारीकरण, स्टल सजावट, कार्यक्रम व्यवस्थापन, बजारका लागि उत्पादन छनोट सिप प्रदान गरियो । 

    यसरी प्रदान गरिएको सिपबाट उत्पादन भएका बस्तु तथा सामग्रीको गहना पोखरी परिसरमा प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा दैनिक उपभोग्य बस्तु, नर टेप (परम्परागत रुपमा चामल राख्न प्रयोग गरिने माटोको ठुलो भाँडो), चित्रलेखन लगायतका विषय समावेश थिए । प्रदर्शनी अवलोकन गर्दै उपप्रमुख डंगोलले माटोको परम्परागत चक्रमा माटोको दियो बनाउनुभएको थियो । 

    तालिमले नयाँ पुस्तालाई मौलिक सिपप्रति उत्साहित गरेको बताउँदै प्रशिक्षक जेम्स लिम्बूले, सेरामिकबाट दैनिक उपभोग्य सामान मात्र नभइ स्कल्चर र सजावटका सामान बनाउन सकिने भएको बजारको प्रशस्त सम्भावना रहेको बताउनुभयो । यस्तै प्रशिक्षार्थी श्रेया सिंहले सामानको व्राण्डिङ् र बजारीकरणका लागि वडाले सहयोग गर्ने अपेक्षा राख्नुभयो । तालिमका संयोजक माणिकमान शाक्यले नरःदेमा सेरामिक्सको विकास र विस्तारका लागि आफूले प्रशिक्षण गरेवापत् प्राप्त हुने सबै पारिश्रमिक उपलब्ध गराउने बताउनुभयो ।  

    यस अघि हस्तान्तरण गरिएको प्रविधि 

    २०८१ असार १५ गते उपप्रमुख डंगोलले, सेरामिकका सामग्री उत्पादन गर्ने प्रविधि फर्नेस (भट्टी) हस्तान्तरण गर्नुभएको थियो । प्रविधि प्रदान गर्नुअघि ४५ दिनको उच्च सिप तालिम सञ्चालन गरिएको थियो । 

    माटो मुछ्ने उपकरण नभएपछि फर्नेसलाई उचित प्रयोगमा ल्याउन सकिएको थिएन । यो उपकरण पनि प्रदान भएपछि फर्नेसलाई पूर्ण प्रयोगमा ल्याइने आशा गरिएको छ । 

  • प्रकाशित मिति बुधबार १४ जेठ २०८२ ०७:०० AM