कार्यान्वयनमा आएका र प्रक्रियामा रहेका कार्यक्रमका विषयमाथि समितिमा छलफल
काठमाडौँ । समतामूलक समाज निर्माणका लागि काठमाडौँ महानगरपालिकाले समावेशी र लक्षित वर्गका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले बताउनुभएको छ । विहीबार सामाजिक समितिको बैठकमा उहाँले, सामाजिक विकासमा महानगरपालिकाले लिएको नीति र कार्यक्रमलाई नतिजामूलक बनाउन अन्तरसम्बन्ध र आन्तरिक सञ्चारमा ध्यान दिन अधिकारीहरुलाई आग्रह गर्नुभयो ।
नजिकिँदो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकमैत्री वातावरणका लागि हामीले गरेका प्रयास उहाँहरुलाई महसुस हुनुपर्छ ।’
त्यस क्रममा समितिका सदस्य महेश नेपालीले, विगतमा प्राप्त गरेका लाभ र ती लाभ प्राप्त गर्न अपनाइएका प्रयासबाट यस वर्षको प्रगति सुधार हुनु पर्ने बताउनुभयो । समितिका अर्का सदस्य ललिता खड्गीले, विगतमा थालिएका तर सम्पन्न हुन बाँकी कार्यक्रमलाई टुङ्गोमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
समितिका सदस्य सचिव एवं विभागका प्रमुख समिक्षा निरौलाका अनुसार चालु आर्थिक वर्षका लागि स्वीकृत ८७ वटा कार्यक्रमका लागि ६४ करोड ९४ लाख २५ हजार रुपैयाँ विनियोजित छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरवको योजना एउटा र ‘साथी महानगर’ स्वर्णिम योजना एउटा छन् । यी कार्यक्रमका लागि क्रमशः ११ करोड ६३ लाख ७५ हजार र २ करोड रुपैयाँ विनियोजित छ ।
वैठकमा सामाजिक विकासका क्षेत्रगत जिम्मेवारी प्राप्त गर्नु भएका अधिकारीहरुले, आफूअन्तर्गत सञ्चालन हुने कार्यक्रममा अहिलेसम्ममा भएको प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो ।
ज्येष्ठ नागरिक विषयमा केन्द्रीत छलफल
बैठकमा ३४ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा सन्दर्भमा केन्द्रीत छलफल भएको थियो । यस कार्यक्रममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने, पोषिलो खानेकुरा प्रदान गर्ने नियमित कार्यक्रम सञ्चालन गर्ने तथा ज्येष्ठ नागरिकका ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गर्ने कार्यक्रमलाई विशेष कार्यक्रमका रुपमा सञ्चालन गरिने संयोजक के. सी. ले जानकारी दिनुभयो ।
महानगरपालिकाले ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई मासिक १ हजार रुपैयाँका दरले वार्षिक एकमुष्ट पोषण भत्ता उपलब्ध गराउने गरेको छ । वरिष्ठ शाखा अधिकृत सुनिता श्रेष्ठका अनुसार गएको आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ६८६ महिला, ३ हजार ८८५ पुरुष गरी १० हजार ५७१ ज्येष्ठ नागरिकलाई पोषण भत्ता उपलब्ध गराइयो । यस्तै १९७ महिला, ३०९ जना पुरुष गरी ५०६ जना पूर्ण अपाङ्गता पोषण भत्ता उपलब्ध गराइएको थियो । यस वर्ष पोषण भत्ता पाउनेको संख्या ११ हजार ७७ जना छ । यसका लागि १३ करोड २९ लाख २४ हजार रुपैयाँ खर्च भएको थियो ।
पूर्ण अपाङ्गता र ज्येष्ठ नागरिकलाई एकै ठाउँमा राख्दा सबैभन्दा धेरै संख्या वडा नंं २६ मा ५७१ जना छ । दोस्रोमा वडा नंं ३२ मा ५३१ जना र तेस्रोमा वडा नंं १५ मा ५२२ जना छ । सवैभन्दा धेरै ज्येष्ठ नागरिक भएको वडा नं. २६ हो । यस वडामा ५४८ जना हुनुहुन्छ । दोस्रोमा वडा नं. ३२ मा ४९४ जना र तेस्रोमा वडा नं. वडा नं. १५ मा ४९२ जना हुनुहुन्छ । सबैभन्दा कम ज्येष्ठ नागरिक भएका वडा २ वटा (वडा नं. १८ र २०) छन् । यी वडामा १५७/१५७ जना ज्येष्ठ नागरिक हुनुहुन्छ । दोस्रो कम हुने वडामा नं. १ मा १६५ जना र तेस्रो कम हुनेमा वडा नं. २३ मा १७७ जना हुनुहुन्छ ।
सवैभन्दा धेरै पूर्ण अपाङ्गता भएको वडा नं. ३२ हो । यसमा ३७ जना हुनुहुन्छ । दोस्रोमा वडा नंं १५ हो । यस वडामा ३० जना र तेस्रोमा वडा नं. ३१ मा २७ जना पूर्ण अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ ।
सबैभन्दा कम पूर्ण अपाङ्गता भएको वडा नं. २३ मा ३ जना, ११ र २० मा ५/५ जना, वडा नंं ८ र १७ मा ८ जना हुनुहुन्छ ।