पोलिथिन झोला निषेध अनुगमन टोली माइक्रोमिटरसहित फिल्डमा जाने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लाष्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ । यसका लागि आज नगर प्रहरी बलका अधिकारीहरुलाई प्लाष्टिक निषेधको कानुनी प्रबन्ध, यसको व्यवहारिक पक्ष र प्लाष्टिकको मोटाइ नाप्ने उपकरण प्रयोगका विषयमा प्रशिक्षण दिएको छ । वातावरण व्यवस्थापन विभागले आयोजना गरेको प्रशिक्षणमा प्रहरी बलका क्षेत्रहरुबाट अधिकारीहरुलाई सामेल गराइएको थियो ।
प्रशिक्षणमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, महानगरका वडा, केन्द्र तथा अन्य कुनै पनि कार्यालयमा पोलिथिन झोला प्रवेश नगराउने कामबाट अभियान थालिएको बताउनुभयो । कार्यालयको प्रवेश द्वारबाट पोलिथिन लैजान रोक्नु पर्छ । उहाँले नगर प्रहरी अधिकारीलाई निर्देशन दिँदै भन्नुभयो, ‘यसलाई कडाइका साथ पालना गराउनु पर्छ ।’ यसपछि आयात, भण्डारण तथा विक्री प्रणालीमा गएर ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकको प्रयोग रोक्दै लगिने उहाँको भनाइ छ ।
कार्यक्रममा वातावरण समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले, प्लाष्टिक निषेध अभियान महानगरका लागि नभइ नागरिकको स्वास्थ्य र वातावरणको सुधारका लागि भएकोले सबैले दायित्व बोध गर्नु पर्ने बताउनुभयो । यस्तै वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले, पोलिथिनकै कारण ल्याण्डफिल साइट व्यवस्थापन गर्न कठिन भएको उल्लेख गर्नुभयो ।
प्लाष्टिक उपयोग र यसका असरका विषयमा प्रस्तुतिकरण गर्दै प्रशिक्षणमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, माइक्रो पोलिथिन (आँखाले देख्न नसकिने प्लाष्टिकका कण) मानव स्वास्थ्यमा देखिन थालेको बताउनुभयो । ग्लोवल इकोलोजी एण्ड कन्जर्भेसन जर्नलमा प्रकाशित तथ्य उधृत गर्दै उहाँले, जनावरको दिशामा प्लाष्टिक भेटिएको बताउनुभयो । यसबाट थाहा हुन्छ, प्लाष्टिकको असर कति गहिराइमा छ, श्रेष्ठको भनाइ थियो ।
प्लाष्टिक उत्पादन गर्दा रसायन प्रयोग गरिएको हुन्छ । यसकारण प्लाष्टिक बाल्दा डाइअक्सिन, फ्युरान जस्ता विषाक्त ग्याँसहरु उत्सर्जन हुन्छन । जुन ग्याँसका कारण मानिसमा फोक्सो, मुटु र छाला सम्बन्धी रोगहरु लाग्ने खतरा हुन्छ । फालिने प्लाष्टिकले ढल निकास बन्द हुन्छ । माटोको प्राकृतिक गुण परिवर्तन गरिदिने, जथाभावी उडेर तथा छरिएको अवस्थामा रहेर सहरी सुन्दरतामा ह्रास ल्याउँछ । सहरको सभ्यताका बिम्ब वागमती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचा लगायतका नदी, राजकुलाहरु र खुल्ला स्थानहरूमा प्लाष्टिक फ्यालिएका कारण प्रदुषित बनेका छन् । सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि गम्भीर आघात परेको छ ।
माइक्रो प्लाष्टिकले मानव कोषमा पार्ने असर सबैभन्दा घातक छ । यसैकारण दीर्घ रोग र महामारीबाट जनधनको क्षति व्यहोर्नु परिरहेको छ । मानिसमा जस्तै असर अन्य जीव जनावरमा पनि परेको छ । जमिनको उर्वराशक्ति क्षय भइरहेको छ । मानव सभ्यता र वातावरण माथिको यो असर घटाउन काठमाडौँ महानगरपालिकाले पोलिथिन झोला र प्लाष्टिकजन्य फूललगायतका सामान निषेध अभियान थालनी गरेको हो ।
स्वच्छ वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने नागरिकको अधिकार संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको हो ।
अनुगमन
कार्यक्रम कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन हुनेछ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटिनेछन् । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्नेछ । जाँचिएका पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्नेछ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन ।
प्लाष्टिक प्रयोग र असरका केही तथ्य
प्लाष्टिक निषेध गर्न यस अघि पनि प्रयास गरिएको थियो । ती प्रयास यस्ता थिए —