वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
१५ वटा वडामा उत्पादन छनोट, वडा नं. ५ मा प्रविधि हस्तान्तरण हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ । सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर वडाको उत्पादन सार्वजनिक गर्दै कार्यक्रम थालनी गरेको हो । त्यस अवसरमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, गुणस्तरीय स्वदेशी उत्पादनले आयात विस्थापन गर्दै लैजान सानासाना उद्यम विकास कार्यक्रम थालिएको जानकारी दिनुभयो ।
संख्यात्मक रुपमा यस अघि धेरै तालिम भए । ती तालिमबाट थोरै मात्र उद्यमी भए । बाँकीले भेटेसम्म तालिम लिए तर सिपयुक्त हुने क्षमता विकास गरेनन् । विगत अभ्यासका बारेमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘एक वडा, एक नमूना उद्यम कार्यक्रममा जुन वडामा जुन उद्यम छानिएको छ, त्यही उद्यमको तालिम दिएर सिपयुक्त बनाउँछौँ । उद्यमी बन्न दृढ इच्छा भएकालाई मात्र तालिम दिन्छौँ । उत्पादनमा रुपान्तरण हुन नसक्ने खालका तालिम रोक्छौँ । तालिम लिएकालाई उद्यमी बनाउँछौँ ।’ गुणस्तरीय सामान उत्पादन भएपछि ‘नेपाल उत्पादन मेला’ गर्ने, त्यसभित्र पनि ‘काठमाडौँ उत्पादन’को छुट्टै स्थान बनाउने र वडाका खाली ठाउँहरुमा मेला गरेर स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने योजना रहेको उहाँको भनाइ थियो ।
उद्यमशील विकासमा महानगरपालिकाले अहिलेसम्म हासिल गरेका उपलब्धी र सिकाइलाई संस्थागत गर्दै समस्यालाई सिकाइका रुपमा विकास गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताउनुभयो । ‘गुणस्तरीय नेपाली उत्पादन विदेशमा निर्यात हुन्छ । काठमाडौँका वडाबाट उत्पादन भएका उत्पादनले पनि यो क्षमता राख्छन् । प्रयास गरौँ ।’
‘सिप सानो हुँदैन । सानो उद्यमबाट जीवन यापन गर्न पर्याप्त आय प्राप्त भएको हामीले तालिम दिएका महिलाहरुको अभ्यास भएको छ ।’ सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘ग्रामीण क्षेत्रका महिलाहरु सबै काम सकेर उद्यम गरिरहेका हुन्छन् । काठमाडौँका महिलाहरुले गृहस्थी जीवनसँगै उद्यमी बन्न सक्छन् ।’ वडा नं. २ का अध्यक्ष एवं सामाजिक समितिका सदस्य राजेन्द्रकुमार श्रेष्ठले, धेरै प्रयासपछि तालिमबाट प्राप्त सिप उद्यममा रुपान्तरण हुन लागेको बताउनुभयो ।
यस बर्षका लागि उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कार्यक्रम सञ्चालन गर्नेछौँ । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले, महिलासँगै पुरुषहरु पनि कार्यक्रम सहभागी हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा उद्यमी तथा उद्यम प्रशिक्षकहरुले महानगरपालिकाको कार्यक्रमले धेरै महिलाहरु आत्म निर्भर बन्ने वातावरण बनेको बताउनुभयो ।
कुन वडामा कुन उद्यम
वडाहरुले स्थानीय उद्यमीहरुको रुचि, यसअघि भइरहेका अभ्यास, कच्चा पदार्थको उपलब्धताजस्ता आधारमा विभिन्न उत्पादन छानेका छन् । यीमध्ये धेरै वडाले मस्यौरा बनाउने, तितौरा बनाउने, अचार बनाउने उद्यम छानेका छन् । विभागका अनुसार अहिले १५ वटा वडाका लागि एक एक वटा उद्यम छानिएका छन् । वडा नं. ५ मा प्रविधि हस्तान्तरण हुने भएको छ । यस वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरु उत्पादन हुन थालेपछि यसको प्रवर्धन र उत्पादन मात्रा बढाउन प्रविधि हस्तान्तरण गर्न लागिएको हो ।
१) वडा नं. १ – गुन्द्रुक र मस्यौरा
२) वडा नं. २ – मस्यौरा र तितौरा
३) वडा नं. ३ – फेल्टको सामान बनाउने
४) वडा नं. ४ – फेल्टको सामान बनाउने
५) वडा नं. ७ – क्रिष्टल तथा पोतेको गहना बनाउने
६) वडा नं. ८ – दुना टपरी र रुद्राक्षको ढक्की बनाउने
७) वडा नं. ९ – रुद्राक्षको माला धुप बनाउने
८) वडा नं. १० — मस्यौरा र अचार बनाउने
९) वडा नं. १२ – सुकुल बनाउने
१०) वडा नं. १६ – काष्ठकला
११) वडा नं. २१ – कटाँ की मूर्ति कुँद्ने
१२) वडा नं. २२ – जुत्ता बनाउने
१३) वडा नं. २४ – व्याग बनाउने
१४) वडा नं. ३० – गुन्द्रुक मस्यौरा बनाउने
१५) वडा नं. ३२ – अचार बनाउने
‘एक वडा एक उद्यम, आफ्नै सिप आफ्नै मौलिकपन, आत्मनिर्भर उद्यमी बन्न, हाम्रै लगानी हाम्रै श्रम’ नारा राखेर कार्यक्रम चलाउन थालेको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App