Logo

आ. व. २०८१/८२ का लागि काठमाडौँ महानगरपालिकाको वार्षिक बजेट २५ अर्व ७० करोड ६३ लाख २५ हजार रुपैयाँ प्रस्ताव 

आ. व. २०८१/८२ का लागि काठमाडौँ महानगरपालिकाको वार्षिक बजेट २५ अर्व ७० करोड ६३ लाख २५ हजार रुपैयाँ प्रस्ताव 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०८१/८२ का लागि काठमाडौँ महानगरपालिकाका लागि २५ अर्व ७० करोड ६३ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट पेस गर्नुभएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा १५ औँ अधिवेशनको तेस्रो वैठकमा आज उहाँले महानगरपालिकाका नीति तथा कार्यक्रमलाई साकार पार्न अनुमानित बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।

सभामा उपप्रमुख डंगोलले ‘बजेट तथा कार्यक्रम’ सहित ‘आर्थिक विधेयक २०८१’ र ‘विनियोजन विधेयक २०८१’ पनि पेश गर्नुभयो । 

नगर सभामा नीतिमाथि भएको छलफल, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक पेश भएको भिडियो यहाँ हेर्न सकिन्छ । 

 

यसरी पेश गरिएको बजेट सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाहरुबाट आम्दानी हुने १ अर्व ५० करोड रुपैयाँको आय आम्दानीबाट प्रस्ताव गरिएको हो । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गत कार्यक्रमहरुका लागि १९ करोड ९ लाख बिनियोजन गरिएको छ । यो कुल बजेटको ०.७९ प्रतिशत हो । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको १४.४४ प्रतिशत हो । पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्व ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ वजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ६१.२० प्रतिशत हो । सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको १५.७५ प्रतिशत हो । 

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार रुपैयाँ बिनियोजन गरिएको छ । यो कुल बजेटको ७.८२ प्रतिशत हो । 

यसरी बजेट तथा कार्यक्रम प्रस्ताव गर्दा, उपलब्ध श्रोत, सूचना र मानव संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तीव्रता दिने विषयलाई प्राथमिकता दिएको उपप्रमुख डंगोलले बताउनुभयो । 

यस्तै स्थानीय स्रोत र साधनलाई सन्लुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिवी न्यूनीकरण गर्ने,  सामाजिक, आर्थिक भौतिक पूर्वाधार विकास मार्फत समुन्नत र समाजवाद उन्मुख विषयहरु, गतिविधिहरु मार्फत योगदान गर्ने विषय,  लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम सञ्चालन, बढ्दो बेरोजगार दरलाई न्यूनीकरण गर्न स्वदेशमै सिप तथा तालिम दिइ स्वरोजगारबाट विदेशिने युवाको दर घटाउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ । 

भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने, खाद्य गुणस्तरलाई उच्च प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकता दिइएको, डंगोलले बताउनुभयो । 

महानगरपालिकाका गौरव योजनाअन्तर्गत ‘ढलरहित नदी नाला’ लाई थप गरेर ११ वटा बनाउन प्रस्ताव गरिएको छ । गएको बर्ष गौरवका योजना १० वटा थिए । एउटा थप गरेर ११ बटा बनाएर ३ अर्ब ८० करोड रुपैयाँ यसका लागि प्रस्ताव गरिएको छ । 

‘कपडा बैंक’, ‘थेमाटिक स्कूल’, ‘पोखरी मर्मत तथा संरक्षण’, ‘फोहरबाट मल’ र ‘महानगर होम स्टे’ कार्यक्रम थप गरेर महानगर स्वर्णिम योजना २५ वटाबाट ३० वटा बनाउन प्रस्ताव गरिएको छ । यी योजनाका लागि २ अर्बको बजेट प्रस्तावित छ । 

यस आर्थिक वर्षका लागि सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने १ अर्ब ४५ करोड सशर्त अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने ४ करोड ४७ लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँटबाट १ अर्व ९९ करोड २० लाख २५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ५५ करोड रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १० करोड ५० लाख रुपैयाँ, नेपाल सरकार समानीकरण अनुदानबाट ८० करोड रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट १० करोड रुपैयाँ, आन्तरिक जनसहभागिता ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

सभामा नीतिमाथि छलफल 
चालु आर्थिक बर्षका लागि ज्येष्ठ ३२ गते प्रमुख शाहले सभामा पेश गर्नुभएका नीतिमाथि असार २ गते संक्षिप्त छलफल भएको थियो । यसमा आज वृहत छलफल भएको छ । 

नीति संशोधनमाथि प्रवक्ता नविन मानन्धर, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, राजस्व समितिका संयोजक नवराज पराजुली, विधायन समितिका संयोजक मचाराजा महर्जन, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन, विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा,  वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य, कार्यपालिका सदस्य अनिता कार्की ढोली, मीना सिंहसहित २९ जना नगर सभा सदस्यहरुले संशोधन प्रस्ताव राख्नुभएको थियो । 

यस्तै नगर सभाअन्तर्गतको सुशासन समितिकी संयोजक सिर्जना भेटवाल र लेखा समितिकी संयोजक गायत्री पुडासैनीले संशोधन प्रस्ताव राख्नुभएको छ । 

यसरी संशोधन प्रस्ताव राख्नुहुनेमा, वडा नं. १ का सदस्य रसला तण्डुकार र रोशन श्रेष्ठ, वडा नंं ३ की सदस्य शर्मिला परियार, वडा नं. ४ की सदस्य सरु अधिकारी र  सदस्य सन्ध्यादेवी खनाल, वडा नंं ६ का सदस्य लीला विसुन्के, वडा नं. ७ का सदस्य कल्पना सुन्दास, वडा नं. २० का सदस्य शोभादेवी मानन्धर, वडा नं. ६ का सदस्य भगवान बुढाथोकी, वडा नं. ९ का सदस्य टेकराज अधिकारी, वडा नं. ११ की सदस्य आशा श्रेष्ठ रौनियार, वडा नं. १३ की सदस्य रजनी महर्जन (धौवन्जार), वडा नं. १६ का सदस्य हर्कबहादुर खाती, वडा नं. २२ का सदस्य चन्द्रमान तुलाधर, वडा नं. २४ का सदस्य रत्नाकर बज्राचार्य, वडा नं. ३२ का सदस्य हरिबहादुर बस्नेत, वडा नं. २९ का सदस्य सन्तोष ढुङ्गेल र वडा नंं ३२ का सदस्य सीता विसुङ्खे हुनुहुन्छ ।   

चालु आर्थिक बर्षको समीक्षा 
नगर सभाको १३ औं अधिवेशन चालु आर्थिक वर्षका लागि २४ अर्व ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट पारित भएको थियो । त्यसमा कुल वजेटमा परिवर्तन नगरी नगरसभाको १४औं अधिवेशनवाट केही योजनाहरुलाई संशोधन गरिएको थियो । बजेट कार्यान्वयनका लागि राजस्व तथा अन्य निकायवाट प्राप्त हुने १० अरब ८० करोड ७८ लाख रुपैयाँ र बैंक मौज्दातबाट १३ अर्व २३ करोड आम्दानी प्रक्षेपण गरिएको थियो । 

यस वर्ष सेवा प्रवाह, सरसफाई, शिक्षा र स्वास्थ्यतर्फका महत्वपूर्ण कार्यक्रमसहित जनताको प्रत्यक्ष सरोकारका विषयहरुलाई द्रुत गतिमा सञ्चालन गर्ने उद्देश्यले महानगर गौरव र महानगर स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएका थिए । यीमध्ये केही योजना कार्यान्वयनमा आइसकेका छन् । केही योजना सञ्चालन गर्न कार्यविधि निर्माण भएको छ । 

चालु आर्थिक वर्षका वजेट कार्यान्वयनतर्फ कुल बजेट २४ अर्व ८ करोड ५७ लाख २२ हजार रुपैयाँमध्ये असार ९ गतेसम्ममा ९ अर्व ३३ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ३९ प्रतिशत हो । 

त्यसैगरी पूँजीगततर्फ विनियोजित १५ अर्व १० करोड १० लाख ५२ हजार रुपैयाँमध्ये ४ अरब ५२ करोड ७ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ३० प्रतिशत हो । चालु खर्चतर्फ ८ अर्व ९३ करोड ४६ लाख ६८ हजार वजेट रकम विनियोजन भएकोमा ४ अर्व ७६ करोड ८१ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । यो कुल वजेटको ५३.३८ प्रतिशत हो ।

सभामा उपप्रमुख डंगोलले चालु आर्थिक बर्षको क्षेत्रगत बजेटको विश्लेषण गर्दै आर्थिक विकास क्षेत्रमा कुल विनियोजन भएको रकमको ३२.१४ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । त्यसैगरी, सामाजिक क्षेत्रतर्फ ४६.७५ प्रतिशत, पूर्वाधार क्षेत्रमा ३१.५५ प्रतिशत, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा २४.२७ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६५.९४ प्रतिशत रकम खर्च भएको छ ।

विकास निर्माण कार्यको भौतिक प्रगति धेरै छ । उपप्रमुख डंगोलले भन्नुभयो, ‘कतिपय खर्च भुक्तानी प्रक्रियामा रही लेखाङ्कन भई नसकेका कारण वित्तीय प्रगति आर्थिक वर्षको अन्त्य सम्ममा थपिनेछ ।’

आम्दानी 
राजस्व आम्दानीतर्फ चालु आर्थिक वर्षमा १० अरब ८० करोड ७८ लाख २० हजार रुपैंयाँ संकलन हुने लक्ष्य राखिएको थियो । त्यसमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ६ अर्व ३९ करोड २० लाख रुपैयाँ थियो । असार ९ गतेसम्ममा ८ अर्व ८१ करोड ६५ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसमा आन्तरिक आयतर्फ ५ अर्व ६ करोड ५९ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ । 

समग्र प्रतिशतमा हेर्दा आम्दानी लक्ष्य प्रगति ८१.५८ प्रतिशत संकलन भएको छ । आन्तरिक तर्फ कुल लक्ष्यको ७९.२५ प्रतिशत प्रगति भएको छ । राजस्व सङ्कलन गर्ने समय अझै केही दिन वाँकी रहेकाले लक्ष्यको करिब नजिक रहने अपेक्षा गरिएको छ । 

तस्विर : अमृत पाण्डे 

  • प्रकाशित मिति: सोमबार १० असर २०८१ २०:५८