Logo
  • वि.सं.: २०८२, कात्तिक १८ मंगलबार

  • इ.स.: 2025 November 4,TUESDAY

  • वि.सं.: २०८२, कात्तिक १८ मंगलबार

  • प्रहरी संरक्षणमा रहेको ब्रह्मा मूर्ति पुनरुत्थान भएको मन्दिरको आसनमा फिर्ता 

    महानगरपालिकाको वडा नं. ८ ले हराएको मन्दिर उत्खनन गरेर मूर्ति पुनःस्थापना गराएको 

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जय बागेश्वरी गायत्री मार्गमा पुनरुत्थान गरिएको व्रह्मा मन्दिरमा मूर्ति पुनस्थापना गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालामा संरक्षण गरेर राखिएको मूर्तिलाई आज बग्गीमा राखेर मन्दिर पुर्‍याइएको थियो । यस क्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित स्थानीयले उल्लासपूर्ण पुनःस्थापना यात्रामा सहभागिता जनाउनुभएको थियो । 

    मूर्तिलाई आसनमा पुनःस्थापना गराएपछि बोल्दै उपप्रमुख डंगोलले, महानगरपालिका भित्रका स्मारकहरुबाट हराएका, चोरिएका मूर्ति, काष्ठकला, धातुकला, चित्रकलाजस्ता सम्पत्ति पुनःस्थापना गर्न निरन्तर काम गरिरहेको बताउनुभयो । मन्दिर पुनःनिर्माण र मूर्ति पुनःस्थापनाका विषयमा उहाँले भन्नुभयो, ‘वडाध्यक्षको नेतृत्व र समुदायको सक्रियता लोभलाग्दो छ । यो आपसी सम्बन्ध अन्य स्थानका लागि पनि अनुकरणीय छ ।’ चोरेर विदेशका संग्रहालयहरुमा लगिएका कला सामग्री फिर्ता ल्याउने र पुनःस्थापना गराउने काममा आफू सक्रिय रहेको बताउँदै उहाँले थप्दै भन्नुभयो, ‘म बेल्जियम पुगेका बेला त्यहाँ भेटिएका कला फिर्ता ल्याउन राजदूताबासमार्फत पहल गरेकी छु । यसको प्रक्रिया अगाडि बढेको सुनेका छौँ । राजदूताबासबाट फिर्ता भएन भने महानगरपालिका आफैँले खर्च गरेर फिर्ता गराउँछौँ । मूर्तिहरु संग्रहालयमा भन्दा जहाँ पुगिन्छन् । त्यही राख्नुपर्छ, भन्ने हाम्रो भनाइ हो ।’ 

    ब्रह्माको मूति हराएको भेट्टाइएको र संरक्षण गरिएको विषयमा जानकारी दिँदै वडाध्यक्ष आशामान संगतले पाका स्थानीयहरुको भनाइ उधृत गर्दै भन्नुभयो, ‘एकाथरीको भनाइ छ, चोरले मूर्ति चोरेर लाँदा लैजान नसकेपछि धोवी खोलामा फालेको थियो । अर्को एकथरीको भनाइ छ, पशुपतिको तिलगंगा क्षेत्रमा फालिएको थियो । जता फाले पनि २०३६ देखि २०३८ का बिचमा आसनबाट मूर्ति चोरी भएको हो । र, फालिएको ठाउँबाट प्रहरीले ल्याएर प्रहरी कम्पाउण्डमा राखेको चाहिँ सत्य हो ।  

    वडाध्यक्ष संगतका अनुसार यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । यसस्थानमा झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरिएको थियो । यसबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । 

    ‘मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गरेर पुननिर्माण गराएका हौँ ।’ संगतले जानकारी दिनुभयो । 

    सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट मन्दिरको पुनःनिर्माण गरिएको हो । यसको लागत करिब १ करोड १५ लाख रुपियाँ हो । मन्दिर माटो, इटा र काठको प्रयोगबाट निर्माण गरिएको छ । यो दुई तलाको प्यागोडा शैलीको छ ।

    तस्विर : सुजन तिमल्सिना

  • प्रकाशित मिति सोमबार १७ कात्तिक २०८२ ०९:०८ PM