वडा नं. ११ मा ४ बर्षको आय व्ययको लेखाजोखा : औसतमा प्रतिव्यक्ति खर्च ९ हजार ७ सय रुपैयाँ, आय करिब ५८ हजार रुपैयाँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११ ले जनप्रतिनिधि, कर्मचारी र नागरिकलाई एकै ठाउँमा राखेर ‘वडा स्तरीय सहभागितामूलक योजना तर्जुमा तथा सेवा प्रवाह सम्बन्धी अनुशिक्षण’ सम्पन्न गरेको छ । शुक्रबार र शनिवार गरी २ दिन सञ्चालन गरिएको अनुशिक्षणमा वडाबाट सञ्चालन गर्ने तथा महानगर र अन्य निकायबाट कार्यान्वयन हुने पूर्वाधार निर्माण, सामाजिक, शैक्षिक तथा स्वास्थ्य सेवासहित विभिन्न सेवामा सहजीकरणका विषयमा प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक छलफल गरियो ।
त्यस क्रममा बोल्दै वडाध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, ‘हामी जनताको ढोकाको सरकार हौँ । हामीले जनताको कुरा सुन्न पर्छ । हाम्रा कुरा पनि सुनाउनु पर्छ । यसरी गरिने दोहोरो संवादबाट विकास र सेवा प्रवाह सहज र सरल हुन्छ ।’
‘जनप्रतिनिधिसँग व्यवहारिक ज्ञान हुन्छ । कानुनी र प्रक्रियागत ज्ञान कम हुन्छ । यस्तै नागरिकहरुमा विकास चाहना हुन्छ तर माग गर्ने प्रक्रिया थाहा हुँदैन । आफ्नालागि स्वीकृत भएका योजना कार्यान्वयन प्रक्रिया थाहा हुँदैन । प्रक्रियासँग सम्बन्धित काजगपत्र थाहा हुँदैन । यसकारण सेवा लिने र दिने दुवैलाई एकै ठाउँमा राखेर प्रशिक्षण आवश्यक भएको हो ।’
प्रशिक्षणमा महानगरपालिकाको प्रशासन विभागका प्रमुख दीपक अधिकारीले आन्तरिक सेवा प्रवाह र यसमा सकारात्मक धारणाको सम्बन्ध, वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले, वडा ११ ले गएको ४ बर्षमा गरेको खर्चको अवस्था, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, स्थानीय तह र वडा स्तरीय सेवाका लागि कानुनी प्रबन्ध, राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, संकलन हुने राजस्वको विश्लेषण र काठमाडौँका जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजालले, योजना तर्जुमा चरणका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
प्रस्तुतिकरणमा रिजालले भन्नुभयो, ‘मरेका जीवजन्तु उठाउने कामबाहेक अरु सबै क्षेत्रका कामका लागि दायित्व बोक्ने २ वा त्योभन्दाधेरै निकाय छन् । यसबेला कतै योजना नै योजना आउने, कतै कुनै पनि योजना नहुने जोखिम रहन्छ ।’
१४ हजार ३३१ जना जनसंख्या रहेको वडा नं. ११ मा गएको ४ बर्षको आय र खर्चका विश्लेषण गर्दा औसतमा प्रति व्यक्ति सेवा प्रवाहको खर्च ९ हजार ७ सय रुपैयाँ रहेको छ । प्रतिव्यक्ति आम्दानी करिब ५८ हजार रुपैयाँ छ । वित्त विभागका प्रमुख डा. अधिकारीले भन्नुभयो, औसतमा प्रतिव्यक्ति वेरुजु ११ हजार रुपैयाँ छ । उहाँले समस्याको समाधानमा ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘सम्परीक्षण र असुलउपरबाट वेरुजु रकम घटाउन सकिन्छ । यसका लागि वडाबाट थप सक्रियता चाहिएको छ ।’
प्रस्तुतिकरणमा खर्चका शीर्षकहरु, यसका नतिजाहरु, कानुन र मानव पुँजीलगायत विषयमा छलफल गर्नुभएको थियो । यस्तै सेवा प्रदायक र सेवाग्राहीको समय व्यवस्थापन, कार्य भार, योजनाको प्राथमिकता निर्धारणलगायत विषय समेटिएका थिए ।
वडागत, महानगरपालिका, प्रदेश र संघका योजना कार्यान्वयनबाट प्राप्त हुने उपलब्धी र यसका चुनौतीमा अन्तरक्रियात्मक छलफल गर्दै कतिपय योजना दोहोरिएर आएका, कतिपय क्षेत्र योजनामा समेटिन नसकिएको बताउनुभएको थियो ।
२०६४ सालमा आफू महानगरपालिकाबाट अलग भएको बताउँदै पूर्व विभागीय प्रमुख रामशरण हुमागाईँले, आफूले काम गर्दाको समयभन्दा महानगरपालिकाको आन्तरिक क्षमता धेरै वृद्धि भइसकेको महसुस भएको बताउनुभयो ।
सेवा र विकास कार्यमा खर्च गरेपछि प्राप्त भएको उपलब्धी र खर्च नगरी प्राप्त भएको उपलब्धीलाई छुट्टाछुट्टै लेखाङ्कन गर्नुु पर्ने आवश्यकता औँल्याइएको छ ।
अनुशिक्षणबाट प्राप्त भएका सुझावलाई आगामी बर्षको योजना कार्यान्वयनमा आवद्ध गरिने वडा सचिव धर्मराज भट्टराईले योजना सुनाउनुभयो ।