वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
काठमाडौँमा ४ हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति प्रदान हुने : असार २९ गतेसम्म आवेदन दिन पाइने
                        काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ । विद्यालयमा गएको वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका आधारमा शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो ।
यो वर्ष सबै भन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउनेछन् । यस्तै १७ सय ५२ जनाले विज्ञान विषय, १७३ जनाले मानविकी, १३६ जनाले कानुन विषय र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिनु भयो ।
महानगरपालिका भित्र कक्षा ११ र १२ अध्यापन हुने ३९० वटा शैक्षिक संस्था छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।
छात्रवृत्ति आवेदनका लागि अनलाइन फाराम खुला 
शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परीक्षामा सहभागी हुन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको छ । इच्छुक विद्यार्थीहरुले असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन दिन सक्नेछन् । 
आवेदन दिनका लागि चाहिने योग्यता, फाराममा भर्नु पर्ने विवरण, परीक्षाको पाठ्यक्रम, परीक्षा सञ्चालन र नतिजा प्रकाशन विधि, उत्तर दिने तरिका, परीक्षा रद्द हुने अवस्थालाई विधि र प्रक्रियामा समावेश गरिएको छ । छनोट प्रक्रिया, कसका लागि कति छात्रवृत्ति प्रतिशतका आधारमा वर्गीकरण, फाराम भर्ने विधि, त्रुटी भए सच्याउने तरिका, विवरण पेश गर्ने तरिका यसका आधारभूत सूचना हुन् ।
अनलाइन आवेदन फाराम पेस गर्ने विधि 
काठमाडौँ महानगरपालिकाको वेभसाइट http://entrance.kathmandu.gov.np/ मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो सम्लग्न गर्नुपर्छ । यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका शिफारिस पेश गर्नुपर्छ । 
तोकिएको आरक्षित समूहमा फाराम भर्नेले आरक्षणको प्रमाण पत्र पेश गर्नुपर्छ ।
पेश भएका विवरणहरु झुठो ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ । भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्काशन गरिनेछ ।
अनलाइन फाराम भर्ने विधि 
अनलाइन फाराम भर्दा एसईई प्रवेश पत्रको विवरण भरेपछि मात्र मुख्य फाराम खुल्नेछ । विवरण गलत भए फाराम खुल्दैन । मुख्य पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नु पर्नेछ । माग गरिएका सवै विवरणहरू भरे पश्चात स्वघोषणा स्वीकार (सेल्फ डिक्लियरेसन स्टेटमेन्ट एसेप्ट) गर्नु पर्छ । यसो नगर्दासम्म फाराम सुरक्षित (सेभ) हुँदैन । 
फाराम सुरक्षित (सेभ) गर्दा त्रुटि भएमा, विवरण भर्न छुटेमा वा मागअनुसारको विवरण नभएका ठाउँहरूमा रातो अक्षरले दर्शाएको हुन्छ । यी विवरणहरू सच्याएर फेरि माथिबाटै सबै विवरण रुजु गरेर फारम भर्नु पर्छ । एकपटक फारम भरेर सुरक्षित (सेभ) गरे पछि फाराम पेश (समिट) नगर्दासम्म जति पटक पनि सच्याउन सकिन्छ ।
आफ्ना सबै विवरणहरू भरी सकेर सुरक्षित (सेभ) गरेपछि अर्को पेजमा आफूले भरेको एकमुष्ट विवरण देखिनेछ । यो पेजमा माथिबाट सबै विवरण पढेर सही भए नभएको जाँच गर्नुपर्छ । सही नभएमा पेजको माथि दिइएको संशोधन गर्ने बटन (इडिट बटन) मा क्लिक गरेर सच्याउन सकिन्छ । आफूले भरेको विवरण ठिक भएमा पेश गर्ने बटन (समिट बटन) मा क्लिक गर्नुपर्छ ।
यो बटनमा थिचेपछि सुनिश्चित गर्ने बक्स (कन्फरमेसन बक्स) आउँछ । आफूले भरेको विवरण सही भएमा ठिक बटन (ओके बटन) मा थिच्नुपर्छ । फाराम अनलाइन पेस (फम समिट) भएपछि कुनै पनि विवरण सच्याउन सकिँदैन ।
आवेदन फारम अनलाइन पेस (फर्म समिट) भएपछि सुनिश्चित गर्ने (कम्फरमेसन) पृष्ठ देखिनेछ । यो पेजलाई प्रिन्ट गर्न र डाउनलोड गर्न सकिन्छ ।
यो पेज अनलाइन फारम भरेको प्रमाण हो ।
आवेदन दिन योग्यता र छनोट प्रक्रिया  
छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनु पर्नेछ । सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्छ । संस्थागत (निजी) विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन शिफारिस गर्नुपर्छ । 
छात्रवृत्ति वितरण गर्दा संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिलाईं शतप्रतिशत मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि १४%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
बाँकी रहेको ४० प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद, वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।
आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्यामा विद्यार्थी उपलब्ध नभएमा काठमाडौँ महानगरवासीलाई प्राथमिकता दिइनेछ । बैकल्पिक तथा धार्मिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सामुदायिक विद्यालय सरह मानिनेछ ।
पेश गर्नुपर्ने सिफारिस 
आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने व्यहोरा प्रमाणित हुने कागज पेश गर्नु पर्नेछ । सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त शिफारिस पेश गर्नुपर्छ । अपाङ्गता भएका व्यक्तिले स्थायी बसोबास भएको स्थानीय तहबाट जारी भएको अपाङ्गताको परिचय पत्र पेश गर्नुपर्छ । 
दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका व्यक्तिले स्थायी बसोबास भएको जिल्ला प्रशासन कार्यालय, आयोग वा प्रतिष्ठानबाट प्राप्त परिचय पत्र वा शिफारिस पेश गर्नुपर्छ ।
पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहबाट हाल बसोबास गरिरहेको व्यहोराको सिफारिस पेश गर्नुपर्छ । यसरी शिफारिस पेश गर्दा दरखास्त दिँदाका बखत निज सोही स्थानमा स्थायी बसोबास गरेको भनेर स्थानीय तहबाट शिफारिस हुनु पर्नेछ । यससँगै सोही जिल्लाबाट जारी भएको नागरिकता र जन्म दर्ताको प्रमाण पत्र पेश गर्नुपर्नेछ ।
सामुदायिक विद्यालयमा अध्ययन गरेको व्यक्तिले महानगरपालिकाले उपलब्ध गराएको (अनुसूची १ बमोजिमको) ढाँचामा, अध्ययन गरेको विद्यालय सामुदायिक भएको व्यहोरा सम्बन्धित स्थानीय तह वा शिक्षा विकास समन्वय एकाइको शिफारिस पेश गर्नुपर्छ ।
काठमाडौँ महानगरपालिकाका स्थायी बसोबास भएका विद्यार्थीले नागरिकताको प्रमाण पत्र, जन्म दर्ताको प्रमाण पत्र वा बसाइँ सरी आएको प्रमाण पत्र पेश गर्नुपर्छ । ल्याण्डफिल साइट क्षेत्रका हकमा वडाको शिफारिस चाहिन्छ ।
प्रवेश पत्र र परीक्षा  
छात्रवृत्ति परीक्षा हुने मितिभन्दा २ दिन अघिदेखि प्रवेशपत्र प्रिन्ट गर्ने बटन (प्रिन्ट एडमिट कार्ड बटन) मा थिचेर त्यहाँ माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र सम्बन्धी व्यवस्था प्रवेश पत्रमा उल्लेख हुनेछ । 
परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । प्रत्येक परीक्षार्थीको आवश्यक सुरक्षा जाँच गरिने हुँदा परीक्षा सुरु हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ । परीक्षार्थीले परीक्षा केन्द्रमा क्याल्कुलेटर, पेजर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेटलगायत अन्य कुनै पनि विद्युतीय उपकरण तथा वालेट, पर्स तथा घडी लैजान पाउने छैनन् ।
परीक्षा सुरु भएको १५ मिनेट पछि आउने परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश दिइने छैन । परीक्षाका लागि आवश्यक पर्ने कालो कलम (ब्लाक जेल पेन) विद्यार्थी आफैँले ल्याउनु पर्नेछ । आफूलाई सही लागेको उत्तर ओएमआर सिटभित्रको थोप्लो (बबल) मा पुरै पोत्नु पर्नेछ । लेखिसकेको उत्तर सच्याउन तथा टिपेक्स जस्ता करेक्टिङ मसीको प्रयोग गर्न पाइँदैन । सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएका उत्तरहरूको कुनै अङ्क प्राप्त हुने छैन ।
परीक्षार्थी निर्धारित समयको २ घण्टा सकिएपछि मात्र परीक्षा हलबाट बाहिर जान पाउनेछन । नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिएमा वा दिन प्रयास गरेमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी प्रचलित कानुनबमोजिम कारवाही गरिनेछ ।
नतिजा प्रकाशन 
परीक्षाको नतिजा विद्यार्थीले फाराम भर्ला रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यता क्रमअनुसार भर्ना नतिजा सूची प्रकाशन हुनेछ । 
विषयगत रुपमा विद्यालयमा भर्नाका लागि पूर्व मनोनयन गरिनेछ ।
मनोनयनका आधारमा विद्यार्थीले ३ दिनभित्र भर्ना भइसक्नु पर्नेछ । तोकिएको मितिभित्र भर्ना नभए योग्यता क्रमअनुसारको दोस्रो सूची प्रकाशन गरिनेछ । यस सूचीमा रहेको विद्यार्थीले भर्नाको अवसर पाउनेछन् । यसमा पनि भर्ना नभए ¥यापअप कोटामा परीक्षाको योग्यता क्रमका आधारमा मनोनयन गरेर सूची प्रकाशन गरिनेछ ।
प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तीर्णाङ्क 
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ्) हुँदैन । 
सबै प्रश्नहरु वहुवैकल्पिक हुनेछन् ।
परीक्षा मिति 
छात्रवृत्तिका लागि साउन ४ गते शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App