Logo

छोराछोरी विदेश पठाउने २१.७% ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना - शोधवृत्ति अध्ययन 

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१, ‘सम्मानित बुढ्यौली, विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतिको सवलीकरण’

काठमाडौँ । विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुका विचमा काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७% व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । ६२.३% मा मध्यम खालको एक्लोपना देखियो । १५% मा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८% उच्च एक्लोपना, २८.३% मा मध्यम र २३.७% मा शून्य देखियो । हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उहाँहरुले हीनता बोध गर्नुभएको हो । यसैकारण उहाँहरुमा एक्लोपना र निराशा देखिएको, अध्ययनले देखाएको छ । 

महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप — एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले गर्नुभएको अध्ययनले यस्तो अवस्था देखाएको हो । विनिता अधिकारी अध्ययनको सुपरीवेक्षक हुनुहुन्थ्यो । 

छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्य (एक्लोपना र डिप्रेसन) को स्तर थाहा पाउन र अवस्था सुधार गर्न महानगरपालिकालाई सुझाव दिन अध्ययन गरिएको थियो । सर्वेक्षणमा महानगरपालिकाभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका, सवै वडा समेटिने गरी ५०९ जना ज्येष्ठ नागरिकलाई सहभागी गराइएको थियो । सहभागीमध्ये ६१ जनाले सोधिएका सबै प्रश्नहरुको जवाफ दिन चाहनुभएन । यसकारण उहाँहरुले दिनुभएका जवाफहरुलाई तथ्याङ्क विश्लेषणमा राखिएन । उहाँहरुमध्ये १३५ जनालाई उपनाम राखेर सहभागी गराइएको थियो । ५२ जनासँग कुराकानी गरिएको थियो ।  

सहभागीको औसत उमेर ६९ वर्ष थियो । ३१९ जना विवाहित हुनुहुन्थ्यो । २ जना सम्बन्ध विच्छेद भएका र २ जना अविवाहित हुनुहुन्थ्यो । १२५ जना एकल ज्येष्ठ नागरिक हुनुहुन्थ्यो । उहाँहरुमध्ये २३७ जना (५२.९%) ले आफू साक्षर भएको बताउनुभएको थियो । ६६ जना (१४.७%) ले एसएलसी सम्मको अध्ययन गरेको, ३७ जना (८.२%) ले हाइस्कूल डिग्री हासिल गरेको, ७२ जना (१६.१%) ले स्नातक वा उच्च शिक्षा हासिल गरेको र ३४ जना (७.६%) ले निरक्षर रहेको बताउनुभएको थियो । उहाँहरुमध्ये ८९.३% मध्यम वर्ग, ४% गरिब र ६.७% धनी परिवारको हुनुहुन्थ्यो । 

अध्ययनमा २०४ जना महिला र २४४ पुरुष गरी ४४८ जना ज्येष्ठ नागरिकको जवाफलाई तथ्याङ्क मानेर १८ जना विषयविज्ञबाट विश्लेषण भएको हो । 

आधा भन्दा बढी ५९.८% ज्येष्ठ वयस्कहरूले पेन्सन वा ज्येष्ठ नागरिक भत्ता पाइरहनुभएको छ । ३५.७% ले आफ्नो केही पनि आय नभएको बताउनुभयो । ६१ सहभागी १३.६ % ले आफूसँग पर्याप्त आम्दानी नभएको बताउनुभयो । ७५% ले राम्रो आम्दानी र ११.४% पर्याप्त आम्दानी भएको जवाफ दिनुभयो । 

उहाँहरुमध्ये ४४.०९% का एकजना बच्चा विदेश गएका थिए । ३५.३% का २ जना, ९.६ जनाका ३ जना १.१% का ४ वा त्यसभन्दा धेरै छोराछोरी विदेश थिए । अधिकांशका छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, दुबई र जापान जस्ता विकसित देशहरूमा थिए । 

उनीहरुसँग ३४.६% का छोराछोरीले दैनिक कुराकानी गर्छन् । ३०.८% ले हप्तामा दुई वा तीन पटक, १९.६% ले हप्तामा एक पटक र  ३.८% ले महिनामा एक पटक कुराकानी गर्ने गरेका छन् । १.६% ले कुराकानी नै गर्दैनन् । 

आधा भन्दा बढी ५१.६% ले विदेशी राष्ट्रहरू भ्रमण गर्नुभएको छ । ५२.७% ले आफ्ना छोराछोरी फर्केर स्वदेश आउँछन् भन्ने कुरामा विश्वाश गरेका छैनन् । ९४ प्रतिशतले आफूलाई सहयोग गर्ने सहयोगी राखेका छैनन् । ३९.३ प्रतिशतलाई छिमेकीहरुले साप्ताहिक रुपमा भेट्ने गरेका छन् । 

सर्वेक्षणमा सहभागीमध्ये २५.५% ले आफू बलियो भएको र ७.९% ले कमजोर रहेको जवाफ दिनुभयो । ६% ले आफ्नो नजिक शंकास्पद व्यक्ति रहको महसुस गर्नुभयो । ६.५% ले आफूलाई अपरिचित र शंकास्पद व्यक्तिले निगरानी गरिरहेको महसुस भएको सुनाउनुभयो । २०.५% ले आफू विरामी भएकोले आफूलाई हेरचाह गर्न नजिकको मान्छे चाहिएको बताउनुभयो । 

समाजमा रहनुभएका ज्येष्ठ नागरिकमध्ये उहाँहरु एउटा प्रकृतिको समस्यासँग सम्बन्धित हुनुहुन्छ । समाजमा यस्ता धेरै प्रकृतिका समस्या छन् । ती हरेक प्रकृतिसँग जुध्ने ज्येष्ठ नागरिकका समस्या फरक खालका छन् । 

यस्तो अवस्थालाई विश्लेषण गर्दै अध्ययनले काठमाडौँ महानगरपालिकालाई ज्येष्ठ नागरिकको पुनः परिभाषा गरेर पहिचान प्रदान गर्न सुझाव दिएको छ । उहाँहरुलाई अधिक प्राथमिकता दिएर, छुट र सुविधा प्रदान गरेर सम्मान प्रकट गर्न, यसका लागि कानुनमा प्रतिवद्धता गरिएका व्यवस्था कार्यान्वयन गर्न अध्ययनले सुझाएको छ । 

मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरेर यस्ता स्थानमा ज्येष्ठ नागरिकहरुलाई घुम्ने, बस्ने वा सहभागी हुने व्यवस्था मिलाउन शिफारिस गरिएको छ । सहरको चौतर्फी विकास गर्ने, युवाहरुलाई रोजगारी प्रदान गरेर स्वदेशमा रहने वातावरण सिर्जना गर्ने, उहाँहरुको हेरचाहको ख्याल गर्ने, मानसिक स्वास्थ्य विग्रिन नदिन ज्येष्ठ नागरिकमैत्री सामान खरिद गर्ने स्थान बनाउने सुझावका बुँदामा समेटिएको छ । घर र समुदायमा आधारित हेरचाह प्रणालीले ज्येष्ठ नागरिकको मानसिक अवस्थामा विग्रिन दिँदैन, एक्लोपना घटाउन मद्दत पुग्छ, अध्ययनले देखाएको छ ।    

अध्ययन कसरी भएको हो?
स्थानीय विषयलाई परिवेश बुझेका अनुसन्धानकर्ताबाट सहभागितामुलक र सामुहिकता जस्ता अध्ययनका विधि अपनाएर विकास आवश्यकता पहिचान गरेर नीतिमा पृष्ठपोषण दिन सहरी योजना आयोगले महानगर अध्ययन शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप) कार्यक्रम सञ्चालन गरेको छ । प्रमाणका आधार तथ्य संकलन गरेर विकासलाई अनुसन्धानमा आधारित बनाउने कार्यक्रमले योगदान गर्ने अपेक्षा राखिएको छ । प्रचलित अभ्याससँग सम्बन्धित प्राज्ञिक विषयलाई स्थानीयकरण गर्न यसले मद्दत गर्नेछ । यसबाट नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाउन स्थानीय परिवेश बुझ्ने अनुसन्धानकर्तालाई व्यवहारिक अनुसन्धानका लागि प्रोत्साहित गर्ने गरिन्छ । 

समाजका अभिभावक ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिकको अभिभावक स्थानीय सरकार — संयोजक के. सी.

महानगरपालिकाले यस वर्षको ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ज्येष्ठ नागरिक आश्रममा आश्रित पाका व्यक्तिहरुलाई न्यानो ब्लाङ्केट  र तन्ना वितरण ग¥यो । यस क्रममा वडा नंं ३१ को निःसहाय सेवा सदनमा आश्रित ४० जनालाई, वडा नं. १२ को सत्प्रयासमा आश्रित ९ जनालाई, वडा नं. १३ को जनक बाबा आश्रममा आश्रित ३ जनालाई र वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी आमाघरमा आश्रित १८ जनालाई सामाग्री उपलब्ध गराइएको हो । सामाजिक समितिका संयोजक रामकुमार के. सी., सदस्यहरु ललिता खड्गी, विनोद अछामी, वडाध्यक्ष र जनप्रतिनिधिसहितको टोलीले आश्रममा पुगेर सामान प्रदान गरेको हो । त्यस क्रममा विभागका अधिकारी सहभागी हुनुभएको थियो । 

सामग्री उपलब्ध गराउँदै सामाजिक समितिका संयोजक के. सी. ले भन्नुभयो, ‘पारिवारिक विचलन घटाएर ज्येष्ठ नागरिकलाई सम्मानजनक आवास र खानपान सुनिश्चित गर्न महानगरपालिकाले काम गरिरहेको छ । परिवार र समाजका अभिभावक ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुको अभिभावक स्थानीय सरकार हो । स्थानीय सरकारले आफ्नो दायित्व पूरा गर्नेछ ।’

वडा नं. ३१ को निःसहाय सेवा सदनमा सामग्री वितरण गर्दै अध्यक्ष सरोज ढकालले, ज्येष्ठ नागरिकलाई राज्यले प्रदान गरेका अधिकार प्रत्याभूत गराउन वडाले आफ्नो तहबाट जिम्मेवारपूर्वक काम गरिरहेको बताउनुभयो । 

हरेक वर्षको अक्टोबर १ तारिखका दिन मनाइने अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा यस वर्ष ‘सम्मानित वुढ््यौली, विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतिको सवलीकरण’ नारा राखिएको छ ।  


तस्विरमा राखिएका ज्येष्ठ नागरिक आश्रममा आश्रित हुनुुहन्छ । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले न्यानो कपडा वितरण गरेको समयमा यी तस्विर लिइएका हुने । कभर तस्विरमा देखिनुभएका ज्येष्ठ नागरिक १०१ वर्षको हुनुहुन्छ । 

  • प्रकाशित मिति: बुधबार १६ असोज २०८१ ११:२१