Logo
  • वि.सं.: २०८२, मंसिर ५ शुक्रबार​

  • इ.स.: 2025 November 21, FRIDAY

  • वि.सं.: २०८२, मंसिर ५ शुक्रबार​

  • जुद्ध बारुण यन्त्र कार्यालय सवलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन 

    ' निर्माणमा प्रक्रिया र मापदण्ड पालना गर्नेलाई अनुगमन आउनु र नआउनुले फरक पार्दैन, फरक पार्ने त गलत नियत राख्नेलाई हो' - उपप्रमुख डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको शैली, तत्कालीन निर्माण सामग्री जस्ता पक्षमा जानकारी लिएपछि समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले, निर्माण कार्य गर्ने पक्षले मापदण्ड र प्रक्रिया पालना गर्ने हो भने अनुगमन कार्यबाट डराउनु नपर्ने बताउनुभयो । ‘अनुगमनमा टोलीँ आउनुलााई कारवाही जस्तो मान्नु हुँदैन । यो सुधार गर्ने अवसर दिने संयन्त्र पनि हो ।’ उहाँले भन्नुभयो, ‘अनुगमनको त्रास त गलत नियत राख्नेहरुलाई मात्र हुन्छ । विधि, प्रक्रिया र मापदण्डको पूर्ण पालना गर्नेका लागि अनुगमन आफ्नो क्षमता देखाउने अवसर हो ।’

    ‘महानगरपालिका काठमाडौँको प्राचीनता खोजी रहेको छ । सहरको यो पक्ष प्राप्त गर्न सबैको साथ र सहयोग आवश्यक छ । अझ भौतिक संरचना निर्माण कार्य गर्नेले त झन सहयोग गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘हरेक विषयमा पक्ष र विपक्षका मत हुन्छन् । दुवै मत सुनेर दुवैलाई चित्त बुझ्ने निर्णयको प्रयासमा केही समय लाग्न सक्छ । यसबाहेक महानगरपालिकाले मौलिक निर्माण सामग्री, शैली र शिल्पको उपयोग गरेर आधुनिक सुविधा वितरणमा नियमित काम गरिरहेको छ ।’

    त्यस क्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले, वडाभित्रका सम्पदाहरुमा प्रयोग गरिएको आधुनिक निर्माण सामग्री तथा बस्तु हटाएर मौलिक सामग्रीले पुनःस्थापना गर्ने क्रममा रहेको बताउनुभयो । ‘यसै क्रममा हामीले वडाकै बजेटबाट राणाकालीन भवनलाई पूर्ववत् सवलीकरण गराएका हौँ ।’ महर्जनको भनाइ छ ।

    राणा प्रधानमन्त्री जुद्ध शम्शेरको शासनकाल वि. सं. १९९४ सालतिर निर्माण भएको यो भवनमा अग्नि नियन्त्रण कार्यालयको स्थापना भएको हो । त्यसबेलाको आधुनिक अग्नि नियन्त्रण कार्यालय नै यही थियो । राणा वास्तुकलामा आधारित भवन चुना सुर्कीको प्रयोग गरेर बनाइएको हो । मोटो पर्खाल, ठुला झ्यालढोका भवनको संरचनागत विशेषता हो । यसको पुनःनिर्माण कार्यमा भवनको पुरानो शैली नबिगारी, नहटाइ, परम्परागत ईंटा, चुन–सुर्की, माटो र काठको प्रयोग गरिएको छ । 

    अग्नि–नियन्त्रणका लागि साधन तथा उपकरण राख्न ठुलो कोठा बनाइएका छन् । आपतकालीन सेवाका लागि बस्ने ठाउँ हुनेछ । पुराना दमकल गाडी राख्ने छुट्टै कक्ष निर्माण भएका छन् । 

    ०७२ को महाभूकम्पले भवनको संरचना कमजोर भएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ७२ लाख ९८ हजार रुपियाँ लागतमा ०८२ जेठ २९ गतेबाट सवलीकरण थालिएको हो । इन्द्रदह निर्माण सेवाले जिम्मा पाएको यो काम २०८३ जेठ १ गतेसम्ममा सम्पन्न हुनेछ । 

    यससँंगै केन्द्रीय बजेटको करिब ३ करोड रुपियाँ लागतमा यससँगै अर्को भवन बनाउने काम प्रारम्भ हुने चरणमा पुगेको छ । 

    आज नै लैनचौरमा भूमिगत फायर ड्राइराइजरको प्राविधिक तथा निर्माण कार्यको अनुगमन गरिएको छ । यस क्रममा डंगोलले भन्नुभयो, ‘प्रणाली प्रयोग सिद्ध हुनुपर्छ । काम परेको बेला आगलागी नियन्त्रण गर्न सकिने गरी पानीको प्रेसर पुग्ने हुनुपर्छ । यसको सार्वजनिक परीक्षण गर्नुहोला । स्थानीयबासीले यसको उपयोग थाहा पाउनुपर्छ ।  ड्राइराइजरका होज र आउटलेट कभरलाई हराउनबाट बचाउनुपर्छ ।’ 
    दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीका घरहरुमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ । 

    ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ । 

    दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।

    महानगरपालिकाको केन्द्र (विपद व्यवस्थापन विभाग)बाट कार्यान्वयनमा आएको यो योजना १ करोड १७ लाख २ हजार ४५० रुपियाँ लागतमा १४ ठाउँमा ड्राइराइजर राखिएको छ । यस कार्यबाट विभिन्न ठाउँमा गरी २ हजार ८९६ मिटर लामो ड्राइराइजर स्थापना हुनेछ । यसमा अधिकतम ५६० मिटर र न्यूनतम २५ मिटरसम्मको लम्बाइ रहेको छ । 


     

  • प्रकाशित मिति बिहीबार ४ मंसिर २०८२ ०८:०२ PM