Logo
  • वि.सं.: २०८२, मंसिर ५ शुक्रबार​

  • इ.स.: 2025 November 21, FRIDAY

  • वि.सं.: २०८२, मंसिर ५ शुक्रबार​

  • 'सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ '- उपप्रमुख डंगोल

    महिला समूह, समित र सशक्तिकरण विषयक अन्तरक्रिया

    काठमाडौँ । महानगरपालिकामा बसोबास गर्ने हातमा केही न केही सिप भएका महिलाहरुले अब खाली बस्नु नपर्ने बताउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगालले, महिला उद्यमशीलता सम्बन्धी नीतिगत प्रबन्ध गरिने बताउनुभएको छ । बिहीबार महानगरपालिकाको सभा कक्षमा सामाजिक विकास विभागले आयोजना गरेको महिला समूह, समित र सशक्तिकरण विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । उद्यमशीलतासँग सम्बन्धित एक वडा एक नमूना कार्यक्रमले नतिजा प्रदान गर्न थालेको बताउँदै उहाँले महिला समूहहरुलाई पनि उद्यमी बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । 

    ‘घरमै बसे पनि हातमा केही न केही सिप हुन सक्छ । कसैलाई मिठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन आउँछ । कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सिप हो । मैले के जानेको छु र भनेर नबस्नु ।’ उहाँले महिलाहरुलाई प्रोत्साहित गर्नुभयो । 

    महिला समितिबाट महिलाहरुको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थिति (स्वाभिमान, मर्यादा, आवाज र प्रभाव) र अभिकार्य (अग्रता, समर्पण र समाधान)मा सकारात्मक परिवर्तन आएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको भनाइ छ ।

    महानगरपालिकामा सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो । २०७८ सालमा सबै वडामा समुह गठन भइसकेका छन् । अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् । यी समिति अन्तर्गत ५÷५ जना रहेका अरु ६ सय वटा समूह छन् । समूहका सदस्यहरुले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा १ सय रुपियाँदेखि ५ सय रुपियाँसम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक २ वर्षमा व्याज सहित फिर्ता हुन्छ । 

    महानगरभित्रका समूहमा अहिले ३ हजार १ जना सदस्य छन् । समूहहरुको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सिपमुलक तालिमबाट उनीहरु आय आर्जन समेत गर्छन् । यसरी गठन गरिएका समूहमा आवद्ध भएपछि महिलाहरु घर बाहिर आउन सक्छन् । महिला सशक्तिकरणको पहिलो पाइला यही नै हो । 

    कार्यक्रममा सहभागी महिलाहरुले महानगरपालिकाले सहयोग गरेको अवस्थामा आफूहरु व्यवसाय दर्ता नै गरेर उद्यम सञ्चालन गर्न सक्षम भएको बताउनुभएको थियो । ‘भाँडा माझ्ने साबुन, सरफ, हर्पिक, फिनेल जस्ता सामान किन्नै नपर्ने भएको छ । आफैँ उत्पादन गर्छौँ । हामी अन्य समितिमा गएर पनि अनुभव आदान प्रदान गर्छौँ । यसबाट हामी त उत्साहित छौँ ।’ उहाँहरुले अनुभूति सुनाउनुभयो । 
     

  • प्रकाशित मिति शुक्रबार​ ५ मंसिर २०८२ ११:५३ AM