Logo
  • वि.सं.: २०८३, जेठ २० बुधबार

  • इ.स.: 2026 June 3,WEDNESDAY

  • वि.सं.: २०८३, जेठ २० बुधबार

  • जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान 

    नागरिकलाई आफ्ना दुःखमा महानगर प्रहरी बल छ भन्ने अनुभूति दिलाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन 

    काठमाडौँ । नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति हुनुभएका विष्णुप्रसाद जोशीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । काठमाडौँ महानगरपालिकाकोे सभा कक्षमा आयोजिक एक समारोहमा कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन अवसरमा प्रवक्ता नविन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार, सामाजिक समितिका संयोजक रामकुमार के. सी. सहित जनप्रतिनिधि, विभागीय प्रमुखहरु र नगर प्रहरी बलका अधिकृतहरु सहभागी हुनुहुन्थ्यो । जेठ ३ गते बसेको ४९ औँ कार्यपालिका बैठकले जोशीलाई नगर प्रहरी उपरीक्षकबाट नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति गरेर महानगर प्रहरी बलको प्रमुखमा मुकर्रर गर्ने निर्णय गरेको थियो । 

    सुशोभन अवसरमा कार्यवाहक प्रमुख डंगोलले, महानगरबासीले दुःख पर्दा नगर प्रहरी बल सम्झने गरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो । ‘महानगरपालिकाको मुहार नगर प्रहरी बलको सेवा र आचरणमा देखिन्छ । त्यसैले कानुनले तोकेका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन, शिष्टता र नम्रताबाट महानगरबासीको साथीका रुपमा आफूलाई स्थापित गराउनुहोला । कार्यालयले नगर प्रहरीको वृत्ति विकास र क्षमता विकासमा भेदभाव विना सबैलाई आत्मसम्मान प्रदान गर्ने गरी कार्यालयले प्रक्रिया अगाडि बढाउने छ । पदोन्नति हुनु पर्ने अधिकृतहरुलाई प्रक्रिया पूरा भएपछि माथिल्लो पदमा लगिनेछ । बलले महानगरपालिकाको गौरव उच्च राख्ने काम गर्नुहोला ।’

    आदेश पालनाको श्रङ्खलामा प्रतिवद्ध, प्रहरी बलका बिचमा एकता, नेपाल प्रहरी सहित सुरक्षा निकायहरुसँग बलियो सम्बन्ध र समन्वय, कानुनले दिएका सहरी व्यवस्थापनका दायित्व तपाईँहरुका प्राथमिक दायित्व हुन् । यससँगै सहरी सुन्दरता र व्यवस्थापनमा निर्देशित काम जवाफदेही भएर सम्पन्न गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौँ । कार्यवाहक प्रमुख डंगोलको भनाइ थियो । 

    त्यस क्रममा प्रहरी बलका प्रमुख जोशीले, कर्तव्यप्रति इमान्दार र निष्ठामा कुनै पनि कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    २०५० साल भदौ १४ गते नगर प्रहरी सेवामा प्रवेश गर्नुभएका जोशी २०६५ साल भदौ १५ गते नगर प्रहरी निरीक्षक, २०७२ साल माघ १ गते नगर प्रहरी नायव उपरीक्षक, २०७७ फागुन १० गते नगर प्रहरी उपरीक्षक र २०८३ जेठ ३ गते नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति हुनुभएको हो । 

    नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ । महानगरपालिकाले वि. सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सेवा थालेको हो । त्यस बेला नगर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा विभिन्न तहमा २१९ प्रहरीको दरबन्दी थियो । 

    नगर प्रहरीको विकास र विस्तारका क्रममा २०७७ साल चैत २९ गते महानगर प्रहरी बलका रुपमा विकास गरियो । २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी गर्‍यो । यसबाट महानगर प्रहरी बल थप सशक्त र संगठित बनेको छ । 

    महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा नगर प्रहरीले गर्ने कामको जिम्मेवारी ऐनले व्यवस्था गरेको छ । 


     

  • प्रकाशित मिति बुधबार २० जेठ २०८३ ०८:१० PM