बाबा उपसमूहअन्तर्गतका नगर स्वयमसेवकहरुलाई सम्मान र धन्यवाद ज्ञापन
काठमाडौँ । ‘सहरी वातावरणको एकीकृत ज्ञानका लागि ‘बालबालिका तथा वातावरण – बाबा’ कार्यक्रम प्रभावकारी छ । यस कार्यक्रमबाट विद्यमान वातावरणीय अवस्थाको व्यवहारिक र वास्तविक ज्ञान प्राप्त हुन्छ ।’ शनिवार काठमाडौँमा आयोजना गरिएको बाबा ‘बाबा उपसमूहअन्तर्गतका नगर स्वयमसेवकहरुलाई सम्मान र धन्यवाद ज्ञापन’ कार्यक्रमका वक्ताको सार भनाइ थियो । महानगरपालिकाले सामुदायिक विद्यालयहरुको स्वच्छताका लागि सरसफाइका कार्यक्रम चलाउन, हरियाली बढाउन तथा कलात्मक र सवाजटका क्रियाकलाप गर्न ६ महिनाका लागि ‘बाबा’ कार्यक्रमअन्तर्गत स्वयमसेवक परिचालन गरेको थियो । यो कार्यक्रममा युएसएआइडी, एफएचआइ ३६०, वाइल्ड लाइफ कन्जरभेसन नेपाल, ल्याण्ड आवर फ्युचर, क्लिन अप नेपाल, एन्फो, इनर्जी पोलिसी इन्स्टिच्युट एट द युनिभर्सिटी अफ सिकागो, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, वन टु वाचलगायत संघसंस्थासँग सहकार्य गरेको थियो ।
कार्यक्रममा स्वयमसेवकहरुलाई प्रमाण पत्र प्रदान गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘स्वस्थ्य जीवनका लागि स्वच्छ वातावरणको अर्थ मैले बाबा कार्यक्रमबाट नै सिक्न पाएकी हुँ । कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको व्यवहारिक ज्ञान जीवनभरका लागि काम लाग्ने हुन्छ ।’ उहाँले भन्नुभयो, ‘वातावरण र मानव तथा प्राणी जीवनको अदृश्य सम्बन्ध कार्यक्रमले महसुस गराउँछ । यो सहअस्तित्व र सहभाव स्वीकार गर्ने आचरणको विकास गर्ने थलो पनि हो ।’
कार्यक्रममा उहाँले, विकास निर्माण गर्नु र दिगो उपयोग गर्नुसँग वातावरणीय आचरणको महत्वमा कुरा गर्दै सबै जीवनको अस्तित्व बचाउन, सबै सरोकारवाला सहभागी हुन सक्ने, समावेशी कार्यक्रमका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई हरित विद्यालयका रुपमा विकास गरिरहेको छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘इको क्लव, हरियाली प्रवर्धन, फोहर व्यवस्थापन, पानीको व्यवस्थापन र स्वच्छता, उर्जामैत्री विद्यालय, सिकाइ केन्द्रका रुपमा विकास कार्यक्रमका पक्षहरु हुन् । यी कार्यक्रम कार्यान्वयनमा स्वयमसेवकहरुको महत्वपूर्ण भूमिका रह्यो ।’ महानगर सुन्दर विद्यालयका फोकल पर्सन शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार स्वचालित कार्यक्रमबाट दिगो र प्रभावकारी नतिजाका प्राप्त गर्ने गरी विभागले काम गरिरहेको छ ।
कार्यक्रममा युएसएआइडी, स्वच्छ हावा परियोजनाका चिफ अफ पार्टी भुषण तुलाधरले भन्नुभयो, ‘इको सिस्टममा समुदायको सम्बन्ध जान्नका लागि स्थानीय सरकारसँग काम गर्नुपर्छ । यसमा पनि काठमाडौँ महानगरपालिकासँग काम गर्दा वहुपक्षीय सम्बन्ध जान्न पाइन्छ ।’
कार्यक्रममा बाँसबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणी पाठक तिमिल्सिनाले, विद्यालयमा स्वयमसेवकको व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । ‘विरुवामा पानी राख्ने विषय सामान्य हो । यसमा कति पानी राख्दा माटोलाई ठिक्क हुन्छ । धेरै पानीले कस्तो वेफाइदा हुन्छ । यस्ता विषयमा विद्यार्थीहरुले ज्ञान पाएको देखेपछि मलाई कार्यक्रमको निरन्तरता महसुस भएको छ ।’ उहाँको भनाइ छ । यस्तै भानु माध्यमिक विद्यालयका फोकल शिक्षक देवकी आचार्यले बाबा उपसमूहका स्वयमसेवक विद्यालयमा आएपछि सरसफाइ, स्वच्छता, हरियालीदेखि छात्राहरुको स्वच्छतासम्मका विषयमा विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्न सकिएको अनुभव सुनाउनुभयो ।
विद्यालयमा काम गरेका स्वयमसेवकहरु मध्ये १५ जना विद्यार्थीहरुले आफू रहँदा देखेको परिवर्तनका बारेमा भिडियो सामग्री पठाएका थिए । ती उत्कृष्ट भिडियोमध्ये ममता खत्री, अमिका महर्जन र सुमन श्रेष्ठको भिडियोलाई विशेष प्रोत्साहन प्रदान गरिएको थियो ।
स्वयमसेवकलाई विद्यालय पढाउनु अघि उहाँहरुले पूरा गर्नुपर्ने दायित्वका विषयमा तालिम प्रदान गरिएको थियो । ‘वाबा’ विद्यालय र वातावरणसँग केन्द्रीत कार्यक्रम हो । कार्यक्रमबाट स्वयमसेवकहरु आफैँलाई पनि जिम्मेवारी जान्न पाउने, नेतृत्व विकास र समूहगत कार्यको विकासमा आफू उत्प्रेरित हुने र अरुलाई उत्प्रेरित गराउन सक्ने क्षमता विकास गराइएको थियो ।
२४ हप्ताका लागि योजना गरिएको कार्यक्रममा खटिएका स्वयमसेवकले हप्तामा २ दिन समय दिएर फोकल पर्सनसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरेका थिए । यी दुई दिनमध्ये विहीबारका दिन शुक्रबार गरिने कार्यक्रम तर्जुमा गर्ने गरिएको थियो । शुक्रबार विहीबार तर्जुमा गरिएको कार्यक्रम कार्यान्वयन गर्ने गरिएको थियो ।