Logo
  • वि.सं.: २०८३, असोज ३ शनिबार

  • इ.स.: 2026 September 19,SATURDAY

  • वि.सं.: २०८३, असोज ३ शनिबार

  • मनुमती खोलामा बाढीले निम्त्याएको जोखिम : महानगरद्वारा स्थायी रिटेनिङ वाल र बाटो निर्माण हुँदै

    काठमाडौँ । असोज १७ र १८ गतेको अविरल वर्षापछि करखुसी समेत भनिने मनुमती खोलामा आएको बाढीले काठमाडौँ महानगरपालिका वडा नं. १४ सरस्वतीनगरस्थित लक्ष्मीनारायण मन्दिर छेउलाई उच्च जोखिममा पारेको थियो । बाढीका कारण सडक भासिएर पहिरो जानुका साथै नजिकैका स्थानीय बासिन्दाका घरहरू समेत जोखिममा परेपछि महानगरले तत्काल अस्थायी रोकथामको काम गरेको थियो ।

    तर, पुनः त्यस्तै वर्षा हुन गएमा थप क्षति हुने सम्भावना देखिएपछि महानगरले उक्त क्षेत्रमा स्थायी रूपमा मजबुत ढलान रिटेनिङ वाल निर्माण र बाटो पुनर्निर्माण कार्य गरिरहेको छ । निर्माण कार्य स्थानीय  उपभोक्ता समितिमार्फतको लागत सहभागितामा अघि बढाइएको हो ।

    काठमाडौँ महानगरपालिका सार्वजनिक निर्माण महाशाखा प्रमुख ई. भीष्मराज शिगूका अनुसार बाढीले करिब ५२ मिटर क्षेत्रमा क्षति पुर्र्याएको भए पनि वरिपरिका भाग पनि कमजोर देखिएकाले ६७ मिटर लम्बाइमा रिटेनिङ वाल निर्माणको इस्टिमेट गरिएको हो । शिगूले भन्नुभयो, “रिटेनिङ वाल सहित बाटो निर्माण गर्न भ्याटसहित करिब १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।'' सार्वजनिक निर्माण विभागले उपभोक्ता समितिमार्फत निर्माण कार्य सम्पन्न गर्ने बताइएको छ ।

    स्मरण रहोस्, बाढी र पहिरो गएलगत्तै महानगरले “डुबान समस्या समाधान स्वर्णिम योजना” अन्तर्गत सो क्षेत्रमा तत्कालै महानगर प्रहरी बल, विपद् व्यवस्थापन विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायहरूको समन्वयमा बोरा, फलामका पाइप, जस्तापाता र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने अस्थायी कार्य गरेको थियो । अब सो क्षेत्र मजबुत रिटेनिङ वालसहित स्थायी रूपमा सुरक्षित र पक्की बन्ने भएको छ ।
     

  • प्रकाशित मिति आइतबार​ २६ असोज २०८२ ११:३८ AM