वि.सं.: २०८२, मंसिर ११ बिहीबार
इ.स.: 2025 November 27,THRUSDAY
वि.सं.: २०८२, मंसिर ११ बिहीबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री (डिजिटल) बनाउँदै लगिएको छ । महानगरले अब आफ्ना सामुदायिक विद्यालयका लगभग सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने तयारी गरेको छ । यससँगै सामुदायिक विद्यालयका विद्यार्थीहरूले डिजिटल स्मार्ट बोर्डमार्फत आधुनिक तरिकाले पढ्ने अवसर पाउने छन् भने शिक्षकहरूले पनि डिजिटल प्रविधिको प्रयोग गर्दै अध्यापन गर्न सक्ने वातावरण तयार हुँदै छ ।
डिजिटल कक्षाकोठा स्थापनाका सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह भन्नुहुन्छ, “हाम्रा बालबालिकाहरू हाम्रो पहिलो प्राथमिकता हुन् । उनीहरूमा गर्ने लगानीले मात्र उनीहरूलाई विद्यालय, समाज र देशप्रति गर्व गर्न सक्ने आधार तयार हुन्छ भन्ने कुरामा हामी स्पष्ट छौँ । यस अभियानमा सबैको अपनत्व र सहभागिता अपरिहार्य छ ।”
महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार महानगरले स्मार्ट बोर्डको गुणस्तरीयतामा विशेष ध्यान दिएको छ । उहाँ भन्नुहुन्छ ,“विद्यालयलाई स्मार्ट बोर्ड खरिदका लागि बजेट पठाइएको छ । विद्यालयले खरिद गर्दा गुणस्तर कायम गर्न न्यूनतम मापदण्ड तोकिएको छ ।''
काठमाडौँ महानगर सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले विद्यालयका कक्षाकोठा पनि प्रविधिमैत्री बन्नैपर्छ ।“पहिले सधैँ चक–डस्टर लिएर पाठ्यपुस्तक हेरी पढाउने एकै किसिमको विधि चल्दै आएको थियो । प्रविधिको यत्रो विकास भइसकेको सन्दर्भमा त्यही पुरानो शैलीमा मात्र शिक्षामा परिवर्तन सम्भव छैन,” उहाँ भन्नुहुन्छ, “स्मार्ट बोर्डले विद्यार्थी र शिक्षक दुवैका लागि अध्ययन–अध्यापनमा उत्साह र सक्रियता ल्याउनेछ भन्ने विश्वास गरेका छौँ ।”
स्मार्ट बोर्डको आकार कक्षा कोठाको परिमाण र विद्यार्थी सङ्ख्याका आधारमा निर्धारण गरिएको छ । महानगरका वरिष्ठ शाखा अधिकृत तथा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका फोकल पर्सन सुशील सुवेदीका अनुसार,’’विद्यालयले पठाइएको बजेटको १ प्रतिशत रकम प्रयोग गरेर लागत अनुमान र स्पेसिफिकेसन तयार गर्न पाउनेछन् । विद्यालयकै टेक्निकल टिमले परीक्षण गर्ने व्यवस्था मिलाइएको छ, जस्तो पायो त्यस्तै बोर्ड खरिद नहोस् भन्ने नै महानगरको मनसाय हो ।’’
स्मार्ट बोर्ड खरिदमा विद्यालयलाई स्वायत्तता दिइए पनि गुणस्तर र पारदर्शिता कायम गर्न महानगरका शिक्षा विभाग, सूचना प्रविधि विभाग र सहरी योजना आयोगको छुट्टै टोलीले खरिद प्रक्रियादेखि लिएर टेक्निकल तथा आर्थिक पक्षसम्म अनुगमन गर्नेछन् ।
गत आर्थिक वर्षमा खरिद भएका ३१३ वटा स्मार्ट बोर्ड विद्यालयहरूलाई हस्तान्तरण भएको छ । सुवेदीका अनुसार हाल खातामा रकम निकासा भइसकेको छ र माघ मसान्तभित्र कार्य सम्पन्न गर्ने कार्यादेश दिइएको छ । विद्यालयले चाँडै काम गरेमा तिहारअघि नै स्मार्ट बोर्ड जडान सम्पन्न हुन सक्ने अवस्था छ ।
पहिले नै विद्यालयहरूमा १७७ वटा स्मार्ट बोर्ड जडान भइसकेका छन् । गत आर्थिक वर्षको बजेटबाट थप ३१३ बोर्ड वितरण भएको छ । यसमा चालु योजनाअनुसार थप ५७० स्मार्ट बोर्ड जडान हुने भएकाले जम्मा १,०६० बोर्ड जडान हुनेछन् ।
अब विद्यालयहरूमा सबै कक्षाकोठामा स्मार्ट बोर्ड पुग्नेछन् भने ठूला र धेरै सेक्सन भएका विद्यालयहरूमा पनि ८० प्रतिशतभन्दा बढी कक्षाकोठा समेटिने अपेक्षा गरिएको छ । बाँकी कक्षाकोठाहरूका लागि आगामी वर्ष बजेट विनियोजन गरिनेछ ।
यस योजनाबाट सामुदायिक विद्यालयका करिब ५३ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।
स्मार्ट बोर्ड खरिदका लागि बजेट महानगरको ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ शीर्षक अन्तर्गत महानगर गौरव योजनामार्फत प्रदान गरिएको हो । विद्यालयहरूले स्वायत्त रुपमा खरिद गर्न सक्ने गरी व्यवस्था गरिएको छ, तर महानगरले गुणस्तर, पारदर्शिता र समयसीमामा विशेष जोड दिएको छ ।
यसरी काठमाडौँ महानगरपालिकाले स्मार्ट बोर्डमार्फत अध्यापन विधि र विद्यार्थीको सिकाइ वातावरणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App