काठमाडौँ महानगरपालिकामा ५६ जना मेयर र ३१ जना उपमेयरको उम्मेदवारी दर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि ५६ जनाको र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ ।
५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलकातर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराउनुभएको छ । उहाँहरुमध्ये ८ जना महिला हुनुहुन्छ । उपमेयर पदमा उम्मेदारी दिने ३१ जनामध्ये १२ जनाले दलकातर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गर्नुभएको छ । उपमेयरका उम्मेद्वारमध्ये १२ जना महिला हुनुहुन्छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को दोस्रो दिनसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गर्नुभएको हो । स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत हिजो र आज (बैशाख ११ र १२ गते) गरी २ दिन मनोनयन दर्ताको कार्यक्रम राखेको थियो ।
मनोनयनको पहिलो दिन मेयर पदका लागि १६ जनाले र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिनुभएको थियो ।
मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौँ महानगरका ३२ वटा वडामध्ये हरेक २ वटाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो । यसै गरी मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स राखिएका थिए । यी हरेक डेक्समा इन्टरनेट सुविधासहितका ल्यापटप राखिएका थिए । खतिवडा भन्नुहुन्छ, ‘यसरी क्षेत्र विभाजन गरेर डेक्स राखिएकाले भीड कम गराउन मद्दत भयो ।’
निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्ला भएका पालिकाहरुमा जम्मा १ हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराउनुभएको छ । जसमा मेयर पदका लागि १२५ जनाले, उपमेयर पदका लागि ५७ जनाले, वडाध्यक्ष पदका लागि ३३४ जनाले, महिला सदस्य पदका लागि १९१ जनाले, दलित महिला सदस्य पदका लागि १२९ जनाले र सदस्य पदका लागि ४२६ जनाले मनोनयन पत्र दर्ता गराउनु भएको हो ।