वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
वडा नं. २६ बाट ज्येष्ठ नागरिकलाई भालेश्वर महादेवको दर्शन गरायो
काठमाडौँ । ‘जमाना राम्रो आएछ । हामीजस्ता पाका उमेरकालाई वडाले तीर्थ लग्यो ।’ काठमाडौँ महानगरपालिका वडा नं. २६ बालाजु बस्ने ७२ वर्षिया लक्ष्मीदेवी घिमिरेले भन्नुभयो, ‘उमेर पो पाको भयो त, मन त हुन्छ नि । वडाले हाम्रो पनि कुरा बुझ्यो । हाम्रै लागि कार्यक्रम बनायो । मलाई त हर्ष लागेको छ ।’ आज वडा नम्बर २६ कार्यालयले ज्येष्ठ नागरिकका लागि आयोजना गरेको चन्द्रागिरी भालेश्वर महादेवको दर्शन गर्न बसको यात्रा गर्दा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँ बसबाट बाहिर हेरेर बोर्डमा लेखेका अक्षर पढ्दै अरुलाई सुनाउँदै हुनुहुन्थ्यो । उहाँले पढेको देखेर छेवैमा बस्ने अर्की आमा भन्दै हुनुहुन्थ्यो, ‘आफूलाई त ९ वर्षकै उमेरमा विहे गरेर खेदाइहाले । के पढ्न पाउनु?’ उहाँको कुरा सुनेर घिमिरेले प्रत्युत्तरमा भन्नुभयो, ‘पहिलो किताब पढेको, त्यहाँ ए, बि, सि, डी, एम, जेड (अक्षरको क्रम नमिलेको) पनि पढेको भए त अहिले राम्रो हुने रहेछ । नेपाली अक्षर मात्रै पढियो ।’
उहाँहरुको कुरा सुनेर छेउमा बस्ने अरु ज्येष्ठ नागरिक मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । लाग्थ्यो, आज उहाँहरुमा अविस्मरणीय सुखी प्राप्त भएको छ ।
सामाखुशी बस्ने ७३ वर्षिय केदारनाथ दाहाल (पिएचडी) ले खाजा खाने ठाउँमा अनुभूति सुनाउँदै भन्नुभयो, ‘म सामाखुशी बसेको यत्तिका वर्ष भइसक्यो । छिमेकीसँग कुराकानी नै हुँदैनथ्यो । आज छिमेकीसँग कुरा गर्ने मौका मिल्यो । यो सामाजिक सद्भावका लागि बलियो पक्ष हो ।’
२०५४ सालमा संघीयतामा पिएचडी गर्नुभएका दाहालले थप्दै भन्नुभयो, ‘उमेरमा अध्ययन गरेको विषय अहिले महसुस गर्न पाएँ । वडाबाट सञ्चालन हुने यस्ता क्रियाकलापले नागरिकलाई आफ्नै भरोसामा राख्न सक्छन् ।’ यात्राको अनुभव र पाका उमेरका मानिसहरुका अवसरका बारेमा उहाँले भन्नुभयो, ‘केवुलकारमा हामी ८ जना चढेका थियौँ । जसमा ५ जना पहिलो पटक चन्द्रागिरी आउनुभएको रहेछ ।’
चन्द्रागिरीमा महादेवको दर्शन गराएपछि जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मानपछिको प्रतिक्रियामा ९१ वर्षिय ज्ञानुगोपाल प्रधानले भन्नुभयो, ‘हामी आफैँले पनि आफ्नै उमेरका व्यक्तिसँग कुराकानी गर्न पायौँ । खुशी साट्न पायौँ । यसले मन हलुङ्गो भएको छ । यस्ता काम गर्न वडालाई प्रेरणा प्राप्त भइरहोस् ।’
तीर्थाटनका क्रममा सबैभन्दा पाको उमेर ९२ वर्षिया कान्छी मगरलाई दोसल्ला ओढाएर सम्मान कार्यक्रम थालिएको थियो । यस क्रममा ९१ वर्षिय ज्ञानुगोपाल प्रधान, ८८ वर्षिय ललितसिंह रायमाझी, ८८ वर्षकै मचाय महर्जनसहित सबै ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गरिएको थियो । भ्रमणमा २१९ जना ज्येष्ठ नागरिक सहभागी हुनुहुन्थ्यो । केवुलकारको माथिल्लो स्टेशनमा पुगेर मन्दिरसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकका लागि हायस गाडीबाट लगिएको थियो ।
ज्येष्ठ नागरिकसँग अन्तरक्रियात्मक संवाद गर्दै महानगरपालिकाको सुशासन समितिका संयोजक एवं वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले, ज्येष्ठ नागरिकले समाज निर्माणमा प्रदान गर्नुभएको भूमिकालाई वडाले सम्मान गर्न चाहेको बताउनुभयो । ‘वडाले पहिलो पटक आयोजना गरेको यो भ्रमणबाट ज्येष्ठ नागरिकहरुका अनुहारमा देखिएको खुशीबाट वडालाई आगामी कार्यक्रम तर्जुमा गर्न पृष्ठपोषण प्राप्त भएको छ ।’ तिवारीले भन्नुभयो, ‘ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको टोलीसहित तीर्थाटनका कार्यक्रमलाई निरन्तरता दिइनेछ । हामी ज्येष्ठ नागरिकलाई समाजका अभिन्न अङ्गका रुपमा सम्मान प्रदान हुने वातावरण बनाउनेछौँ ।’
तीर्थाटनका क्रममा ज्येष्ठ नागरिकहरुलाई बस र केवुलकारमा यात्रा गराइएको थियो । यस्तै विहानको खाजा, दिउँसो खाना र अपरान्हको खाजा खुवाइएको थियो । दिनमा उहाँहरुले कविता बाचन गर्ने, भजन गाउने, मादल बजाउने, नाच्ने, योग अभ्यास गर्नेलगायत क्रियाकलाप गर्नुभएको थियो ।
वडामा ६८ वर्ष उमेर पूरा हुनुभएका ज्येष्ठ नागरिकको संख्या १ हजार ७ सय रहेको छ । वडा सचिव केदार रिमालका अनुसार पोषण भत्ता लिने ज्येष्ठ नागरिकको संख्या ६२० जना रहेको छ । महानगरपालिकाले ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई मासिक १ हजार रुपैयाँका दरले वार्षिक एकमुष्ट पोषण भत्ता उपलब्ध गराउने गरेको छ ।






निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App