वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौँ महानगरको प्रयास उल्लेखनीय – सरोकारवालाहरू
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा नभई उनीहरूको अधिकारलाई केन्द्रमा राखेर सेवा प्रदान गरिरहेको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले बताउनुभएको छ। नेपाल अपाङ्ग महिला सङ्घद्वारा आयोजित “अपाङ्गता भएका महिला तथा बालिकामाथिको हिंसाविरुद्धको सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो कुरा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष मीना पौडेलले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका महिला तथा बालिकाहरूको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका सबै निकायहरूबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले पालिकास्तरमा सहायता कक्षको स्थापना, नेपाल प्रहरीलगायत सरकारी कार्यालयहरूमा साङ्केतिक भाषा (दोभाषे) को व्यवस्था, र पूर्ण अपाङ्गमैत्री भौतिक संरचनाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो। यस्ता प्रयासले मात्र अपाङ्गता भएका महिला तथा बालिकाहरूले सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण बन्ने उहाँको भनाइ थियो। पौडेलले काठमाडौँ महानगरपालिकाले अपाङ्गमैत्री वातावरण निर्माणमा गरेको प्रयासको प्रशंसा गर्नुभयो।
यसैगरी, अधिवक्ता डा. विद्या चापागाईंले अपाङ्गता सम्बन्धी छरिएर रहेका कानुनहरूलाई एकीकृत गरी छाता कानुन निर्माण गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनले अपाङ्गता भएका महिला तथा बालिकाहरूले न्याय पाउने वातावरण बन्ने बताउनुभयो। उहाँले काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिरहेको सेवालाई देशका ७५३ वटै पालिकाले अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश अधिकारीले पनि महानगरको कार्यको सराहना गर्नुभयो।
सामाजिक विकास विभाग प्रमुख निरौलाले महानगरपालिकाले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। गत वर्ष अपाङ्ग कोषलाई २० लाख सहयोग गरेको महानगरले यस वर्ष ३० लाख प्रदान गर्ने तयारी गरेको उहाँले बताउनुभयो। साथै, सञ्चारमा सहजता ल्याउन साङ्केतिक भाषा (दोभाषे) को सङ्ख्या वृद्धि गर्न महानगरले प्रयास गरिरहेको उहाँको भनाइ थियो।
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले सेवा प्रदायक सरकारी कार्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा गराई सामाजिक सङ्घसंस्थाहरूले पुरस्कार प्रदान गरेर प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो। त्यस्तै, सार्वजनिक निर्माण विभागका सहायक निर्देशक ई. प्रेम श्रेष्ठले काठमाडौँमा जमिनको अभावका बाबजुद अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा विशेष ध्यान दिइएको बताउनुभयो। उहाँले सरकारी भवनहरू मात्र नभई निजी भवनहरूलाई पनि अपाङ्गमैत्री बनाउन सामाजिक सङ्घसंस्थाहरूले पहरेदारी गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल प्रहरी महिला, बालबालिका निर्देशनालयकी प्रहरी निरीक्षक सरस्वती विश्वकर्माले स्रोत र साधनको सीमितताका कारण अपाङ्गता भएका पीडित महिला र बालबालिकालाई अपेक्षित सेवा प्रदान गर्न कठिनाइ रहेको बताउनुभयो। राष्ट्रिय ट्रमा सेन्टर (OCMC) की फोकल पर्सन मेनुका पोखरेलले हिंसापीडित महिलाहरूलाई पठाउन अपाङ्गमैत्री सेफ हाउसको अभावले कठिनाइ भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, कीर्तिपुर वर्न हस्पिटल, OCMC लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सरोकारवालाहरूले काठमाडौँ महानगरपालिकाको अपाङ्गमैत्री सेवा प्रवाहमा गरेको प्रयास उल्लेखनीय रहेको भन्दै प्रशंसा गरेका छन्।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App