Logo
  • वि.सं.: २०८३, असर २७ शनिबार

  • इ.स.: 2026 July 11,SATURDAY

  • वि.सं.: २०८३, असर २७ शनिबार

  • सम्पदा संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अभिलेखीकरण पनि गर्दै जानुपर्छ : अध्यक्ष आशामान संगत 

    काठमाडौँमा सम्पदा संरक्षण र तीज पर्वको संयोजन: नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणमा जोड

    काठमाडौँ -काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले सम्पदा संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकरणको महत्त्वमाथि जोड दिनुभएको छ। अमूर्त सम्पदा संरक्षण तथा हरितालिका तीज पर्वको अवसरमा वडा नम्बर ८ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभयो।

    “हामी कला र संस्कृतिमा सम्पन्न छौँ। हाम्रो कला र संस्कृति अत्यन्त समृद्ध र परिष्कृत छ, तर यति राम्रो कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्नुको सट्टा हामी बाह्य संस्कृतिको अनुकरणतर्फ लागिरहेका छौँ। त्यसैले, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र हस्तान्तरणका लागि हामी सबै चनाखो हुनुपर्छ,” अध्यक्ष संगतले भन्नुभयो।

    उहाँका अनुसार, “काठमाडौँमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू छन्। यिनको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्न सकिएमा हाम्रो देशलाई विश्वसामु सहजै चिनाउन सकिन्छ। मूर्त र अमूर्त सम्पदा संरक्षणमा नारीहरूको सहभागिता अपरिहार्य छ। नयाँ पुस्तालाई सम्पदा हस्तान्तरणमा नारीहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सामाजिक विकासका लागि नारीहरूलाई अगाडि बढाउन तीज विशेष कार्यक्रम आयोजना गरिएको हो।”

    सामाजिक व्यक्तित्व श्याम संगतले मूर्त र अमूर्त सम्पदा संरक्षण तथा विकासमा काठमाडौँ महानगरपालिकाका वडा कार्यालयले प्रशंसनीय कार्य गरेको बताउनुभयो। “सम्पदा हामी नेपालीको पहिचान हो। सम्पदाको क्षेत्रमा अझै प्रभावकारी काम गर्नुपर्छ,” उहाँको सुझाव थियो।

    कार्यक्रममा वडा सदस्य एवं महिला सञ्जालकी संयोजक सरस्वती राजभण्डारीले सहभागीहरूलाई स्वागत गर्दै भन्नुभयो, “वडा कार्यालयले गर्ने सम्पूर्ण काम वडावासीका लागि हो। त्यसैले, वडाका हरेक कार्यक्रममा सहभागी भई राम्रो कामको प्रशंसा र कमीकमजोरी भए सुझाव दिन अनुरोध गर्छु।” कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

  • प्रकाशित मिति शुक्रबार​ ६ भदौ २०८२ ०१:०३ PM