Logo
  • वि.सं.: २०८२, माघ २९ बिहीबार

  • इ.स.: 2026 February 12,THRUSDAY

  • वि.सं.: २०८२, माघ २९ बिहीबार

  • महाशिवरात्री पर्वको भव्यताका लागि कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा समन्वय बैठक 

    महानगरपालिकासँग समन्वय गर्न वडा ८ अध्यक्ष संगतलाई जिम्मेवारी 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिवरात्री पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदार कार्यालयका प्रमुख तथा अधिकारीहरु बोलाएर समन्वय बैठक आयोजना गरेको छ । शिवरात्री पर्व लक्षित यसप्रकारको समन्वय बैठक महानगरपालिकाले पहिलो पटक डाकेको हो । आज महानगरपालिकामा आयोजित बैठकको अध्यक्षता गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘हरेक उत्सवपछिको समीक्षामा यसो गर्न पाएको भए हुन्थ्यो । भन्ने गरिन्छ । यसपटक त्यस्तो गुनासो गर्नु नपरोस् भनेर समन्वय बैठक गरिएको हो ।’

    बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराई, उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा, जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कौशलकुमार बुढाथोकी, गुठी संस्थानका प्रशासक शैलेशराज कुँवर, वडाध्यक्ष विमलकुमार होडा, महानगरपालिकाका विभागीय प्रमुखहरु, पुरातत्व विभागका अधिकारी, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीसहित क्षेत्रका सहभागी हुनुहुन्थ्यो ।

    बैठकमा महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले स्वास्थ्य शिविर र आकस्मिक स्वास्थ्योपचार, वातावरण विभागका प्रमुख सरिता राईले सरसफाइ र स्वच्छताको योजना, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले, पशुपति क्षेत्रका संवेदनशील ठाउँहरुमा सीसीटिभी क्यामरा जडान, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले पार्किङ् व्यवस्थापन, पैदल मार्गको व्यवस्थापनसहित महानगरपालिकाले गरिरहेका कामका विषयमा जानकारी गराउनुभएको थियो । 

    ‘महाशिवरात्री पर्वमा पाशुपत क्षेत्रसहित श्रद्धालुहरुको भिड हुने शिव मन्दिरहरुको व्यवस्थापनका लागि हामीले जनशक्ति, स्रोत, साधन र उपकरणको परिचालन गरिसकेका छौँ । सरसफाइ र स्वच्छताका लागि ब्रुमर सञ्चालन गर्ने, पानी छर्किने काम थालिएका छन् ।’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘विगतदेखि सञ्चालन हुँदै आएका स्वास्थ्य शिविरलगायतका कार्यक्रमलाई नियमितता दिनेछौँ । यस वर्ष पशुपति क्षेत्रमा दमकल र एम्बुलेन्स तैनाथ राख्नेछौँ । आकस्मिक स्वास्थ्य सेवा तथा विपदजन्य अन्य प्रतिकार्यका कामका लागि विपद व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राख्नेछौँ । पर्व तयारीबाट थालिएको काम पर्व सञ्चालन हुँदा र सकिएपछि पनि हामी नियमित काममा नै हुनेछौँ ।’ 

    महानगरभित्रका शिव मन्दिरहरु सबैमा महानगरपालिकाको समान दृष्टि हुनेछ । उहाँले भन्नुभयो, ‘महानगरपालिकाका तर्फबाट सम्पदा तथा पर्यटन समितिका संयोजक तथा पशुपति भएको वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले संयोजन गर्नुहुनेछ । उहाँ (संगत) सँगै छिमेकी वडा नं. ७ का अध्यक्ष बिमलकुमार होडा र शिव मन्दिर भएका सम्बन्धित वडाका जनप्रतिनिधिले महानगरपालिकाका तर्फबाट संयोजन गर्नुहुनेछ ।’ उहाँले, पर्व सञ्चालन गर्दा स्थानीयबासीको भूमिकालाई उच्च बनाएर अपनत्व बोध गराउनु पर्ने बताउनुभयो । 

    बैठकमा सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, विगतमा पर्व व्यवस्थापनका लागि स्थानीयले निर्वाह गर्दै आएको भूमिका खोसिँदै गएको बताउँदै स्थानीय सहभागी नभएको पर्व जीवन्त हुन नसक्ने बताउनुभयो । ‘समन्वयका लागि हामीले यो नयाँ अभ्यास थालेका हौँ ।’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाले नियमित सँगै थप दायित्व लिएका छौँ ।’ शिवरात्री पर्वमा अहिले समेटिएका क्षेत्रहरु विस्तार गरेर चावहिलदेखि सवारी आवागमनलाई वैकल्पिक मार्ग दिएर सडक बन्द गराउनुपर्छ । यसबाट स्थानीय क्षेत्रलाई उत्सवमय बनाउन सकिन्छ । संगतले धारणा राख्नुभयो । संगतको यो योजनामा वडा ७ का अध्यक्ष होडाले सहमत जनाउनुभएको थियो । 

    वैठकमा सहायक जिल्ला अधिकारी भट्टराईले, निर्वाचनका कारण अहिले सुरक्षा संवेदनशीलता भएको उल्लेख गर्दै पर्वलाई पूर्ण सुरक्षित बनाउन प्रतिवद्ध रहेको जानकारी दिनुभयो । उपत्यका प्रहरी कार्यालयका प्रमुख राणाले, एकीकृत सुरक्षा संयन्त्रबाट श्रद्धालुहरुलाई सहज बनाउने योजना गरिएको जानकारी दिनुभयो । ‘सरोकारवाला कार्यालय सामुहिक रुपमा परिचालित हुने अवस्थाले नतिजा दिन्छ ।’ उहाँको भनाइ थियो । सशस्त्र प्रहरी उपरीक्षक जीवन के. सी. ले निर्वाचन सुरक्षा कार्यक्रम सुरु भइसकेकोले यस वर्ष जनशक्ति व्यवस्थापनमा थप काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । 

    गुठी संस्थानले दाउराको व्यवस्था, साधुसन्तको स्वागत, बास तथा विदाइ र पूजाका विधिका विषयमा जानकारी गराउनुभएको थियो । 

    कोषका सदस्य सचिव शर्माले, वडाध्यक्षहरुले उठाउनु भएको स्थानीयबासीलाई भूमिका दिने विषयमा आफूले संवेदनशील भएर काम गर्ने बताउनुभयो । कोषका सदस्य सचिव सापकोटाका अनुसार यस वर्ष पशुपतिमा करिब ८ लाख श्रद्धालुले मन्दिरको प्रत्यक्ष दर्शन गर्ने अनुमान छ । मन्दिर परिसरमा करिब २० लाख श्रद्धालुहरु आउने अनुमान गरेका छौँ । 
     
    काठमाडौँको पशुपति क्षेत्रसहित बसन्तपुर क्षेत्रमा रहेको महेन्द्रेश्वर महादेव, वडा नं. ३२ मा रहेको कोटेश्वर महादेवसहित विभिन्न शिव मन्दिरहरुमा श्रद्धालुहरुको भिड हुने गरेको छ । 


     

  • प्रकाशित मिति बिहीबार २९ माघ २०८२ ०६:१७ PM