वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
नेपालका लागि थाइल्याण्डका राजदूत सिरिसोराबाट सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयको अवलोकनमा
                        
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुमा शिक्षा र सिपको सरल र सहज पहुँच बढाउने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यस क्रममा आज नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ् सिरिसोरासहित सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयको अवलोकन भएको छ । 
विद्यालयमा ४१ जना विद्यार्थी छन् । यीमध्ये बौद्धिक अवस्था विकासका लागि अभ्यासको प्रारम्भमा रहेका विद्यार्थीलाई ग्रोस मोटर एक्टिभिटिजअन्तर्गत खेल खेलाइँदै थियो । सिप विकासमा अभ्यास भएर अरुले भनेको कुरा केही बुझ्न सक्ने भएका बालबालिकामध्ये केहीलाई खाम बनाउने सिप सिकाइँदै थियो । केही विद्यार्थी भने चित्रकलाको अभ्यास गरिरहेका थिए । अवलोकनका लागि महानगरपालिकाको सहरी योजना आयोग र प्रमुखको सचिवालयबाट अधिकारीहरु जानुभएको थियो । दूताबासको टोलीसँगै महानगरपालिकाको टोलीलाई सुस्त मनःस्थिति भएका बालबालिकाको आफूले सिकेको खाना बनाउने सिप देखाए । यो सिप अवलोकन गरिसकेपछि विद्यार्थीसहित सबै मिलेर कौसीका गमलामा विरुवा रोपेर मल हालिएको थियो । बालबालिकाहरुले नृत्य, गायन तथा वादन प्रस्तुत गर्नुभएको थियो । 
बौद्धिक विकास नभएकाकारण असल र खराब तथा आफू अनुकुल र प्रतिकुल अवस्था छुट््याउन नसक्ने बालबालिकालाई यति सिप विकास गराउनु ठूलो उपलब्धि हो । अवलोकन टोलीले विद्यालय परिवारको प्रशंसा गर्दै सीमित स्रोतबाट भएको व्यवस्थापन अनुकरणीय छ । 
अवलोकनका क्रममा राजदूत सिरिसोराले भन्नुभयो, ‘शिक्षामार्फत सामाजिक विकासका काममा हामी महानगरपालिकासँग सहकार्य गर्न इच्छुक छौँ । यसप्रकारको आपसी सम्बन्धले जनतामा खुशी उपलब्ध गराउन मद्दत गराउन सक्छ ।’
त्यस क्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘शिक्षालाई समावेशी मात्र होइन, पहुँचमा सहजता र सरलता प्रदान गर्नुपर्नेछ ।’ यस्ता कार्यका लागि साझेदारसँगको सहकार्यका विषयमा कुरा गर्दै उहाँले, सामान्यभन्दा फरक अवस्थाका बालबालिकाको शैक्षिक, मानसिक, सामाजिक विकासका लागि गरिएका सिकाइ र विकास अभ्यास आदान प्रदान र अवलोकन अवसरले पनि व्यवस्थापनको दायरा फराकिलो हुन सक्छ । यसका लागि महानगरपालिकाले सञ्चालन गरिरहेका शैक्षिक क्रियाकलापका विषयमा प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलले भन्नुभयो, ‘आर्थिक, सामाजिक, बौद्धिक, मानसिक तथा शारीरिक अवस्थाका कारण कोही पनि बालबालिकाले शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भनेर महानगरपालिकाले शिक्षामा लगानी बढाएको छ । सुस्त मनःस्थिति भएका बालबालिकाकालाई अध्ययन गराउन खटिएका शिक्षकहरुको योगदान प्रशंसा गरेर पुग्ने खालको छैन ।’  
राजदूतले सामाजिक क्षेत्रका कामका लागि इच्छा राख्नुभएको थियो । अवलोकनका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सहायक विज्ञ विवेक वास्तोलाले भन्नुभयो, ‘राजदूतलाई देखाउने धेरै क्षेत्र र विषय थिए । यीमध्ये यसअघि थोरै मात्र दृष्टि पुगेको सुस्त मनःस्थिति भएका बालबालिकाको शिक्षण पद्धति र सिकाइ अवस्थालाई अवलोकनको विषय छानेका हौँ ।’
विद्यालयका प्रधानाध्यापक सोमबहादुर श्रेष्ठका अनुसार यो विद्यालय २०४३ सालमा नक्सालमा स्थापना गरिएको हो । यसपछि बागबजारहुँदै अहिले सिनामंगल पुगेको हो । विद्यालयमा ६ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई भर्ना गरेर अध्ययन गराउने हो । तर, एक पटक भर्ना भएर पढ्न थालेका विद्यार्थीहरुलाई अन्यत्र कतै लैजाने विकल्प नभएपछि ३५ वर्ष सम्मका व्यक्तिहरुलाई पनि अध्ययन गराइरहनु परेको छ । 
महानगरपालिकाभित्र ४ प्रकारका विशेष विद्यालय छन् । यीमध्ये आज अवलोकन गरिएको विद्यालयमा सुस्त मनःस्थिति भएका र अटिजम भएका दुवै खालका बालबालिका छन् । वडा नं. ३१ भीमसेनगोलामा रहेको निर्मल बाल विकास आधारभूत विद्यालयमा सुस्त मनःस्थिति भएका बालबालिका मात्र छन् । यस्तै वडा नं. ९ सिनामंगलमा रहेको बालापीठ आधारभूत विद्यालय छ । यो श्रवण दृष्टिविहिन (डिफ व्लाइन्ड) बालबालिकाहरुका लागि सञ्चालित विद्यालय हो । यस प्रकारका बालबालिकाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको विद्यालय नेपाल भरिमै यो मात्र एक हो ।
यस्तै नक्सालमा केन्द्रिय बहिरा विद्यालय छ । यो श्रवण क्षमता नभएका बालबालिकाहरुका लागि हो । जेलभित्र ३ वटा विद्यालय छन् । यीमध्ये २ वटा छात्रका लागि र एउटा छात्राका लागि हो ।
तस्विर : अमृत पाण्डे
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App