वि.सं.: २०८२, फागुन ६ बुधबार
इ.स.: 2026 February 18,WEDNESDAY
वि.सं.: २०८२, फागुन ६ बुधबार
राजस्व समितिले विषयगत समितिका संयोजकहरुसँगको बैठकबाट निर्णय भएको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बिच भागमा रहेको खुला मञ्च प्रयोग तथा व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन प्रमुखसमक्ष शिफारिस गर्ने निर्णय भएको छ । आज राजस्व समितिका संयोजक तथा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा विषयगत समितिका संयोजक र राजस्व समितिका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो । विगतमा बिभिन्न संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुने गरेको थियो । अहिले कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्ने गरी संघसंस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार वडा नं. २७ लाई दिन प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
बैठकमा प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विषयगत समितिका संयोजकहरु र राजस्व समितिका सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।
खुला मञ्चमा कार्यक्रम आयोजना गर्ने आयोजकले वडा नं. २७ को धरौटी खातामा २५ हजार रुपियाँ धरौटी राख्नुपर्नेछ । मञ्चमा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म गरी २ सिफ्टमा कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसरी कार्यक्रम सञ्चालन गर्दा मञ्चको मर्मत सम्भार, विद्युत महसुलसहित प्रति सिफ्ट ५ हजार रुपियाँ शुल्क तिर्नु पर्नेछ ।
आयोजकले कार्यक्रम स्थलमा आफ्नो पहिचान झल्किने व्यानरबाहेक अन्य विज्ञापनजन्य सामग्री राख्न पाउने छैनन् । टिकट विक्री गरेर सञ्चालन हुने कार्यक्रम गर्न पाइनेछैन । जसले कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएको सो समयमा तेस्रो पक्षलाई कार्यक्रम सञ्चालनको अनुमति दिन पाइने छैन । जसले जुन कार्यक्रम गर्न स्थल लिएको हो, उसैले तोकिएको कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । कार्यक्रम सञ्चालन गर्दा उत्सर्जन भएको फोहरको व्यवस्थापन गर्ने दायित्व आयोजक आफैँको हुनेछ । थप अस्थायी शौचालय आवश्यक पर्ने भए आयोजकले घुम्ती शौचालयको व्यवस्था गर्न सक्नेछन् ।
मञ्चको संरचना बिग्रिने गरी खाल्टा खन्ने, सौन्दर्य तथा हरियाली नाश हुने कार्यक्रम सञ्चालन गर्न पाइनेछैन । मञ्चभित्र सवारी साधन लैजान तथा पार्किङ् गर्न पाइनेछैन । धुमपान तथा मद्यपान विक्री वितरण गर्न प्रयोग गर्न गराउन पाइनेछैन ।
कानुनले निषेध गरेका तथा महानगरपालिकाले राखेका सर्तको पालना नगरेमा आर्थिक ऐनले तोके बमोजिमको जरिवाना वा हानी नोक्सानी भएमा महानगरपालिकाको प्राविधिकले निरीक्षण गरेर दिएको क्षतिको मूल्याङ्कन प्रतिवेदनले शिफारिस गरेको रकम धरौटीबाट कट्टा गरेर बाँकी हुने रकम आयोजकलाई फिर्ता दिइनेछ । धरौटीबाट रकम अपुग भएमा आयोजकबाट थप रकम असुल गरिनेछ ।
मञ्चको विगत
२०७२ सालको भूकम्पपछि वीर अस्पताल, दरबार हाइ स्कूल जस्ता संरचना पुनःनिर्माणका सामग्री राख्ने, काठमाडौँ टावर निर्माणको निर्माण सामग्री राख्ने तथा अस्थायी बसपार्क सञ्चालन गर्ने प्रयोजनमा ल्याइएको थियो । त्यस क्रममा उवडखावड भएको, संरचना र सौन्दर्य विग्रिएको मञ्चलाई पुनःनिर्माण तथा सजावट गरेपछि महानगरपालिका खुला गर्ने निर्णयमा पुगेको हो ।
प्राकृतिक दुबोसहितको घाँसे चउर, खुला मञ्चको अहिलेको अवस्था हो । खुला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि चउर लोभलाग्दो भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।
महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुला मञ्चको चउरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ ।
चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको हो ।
पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन् । यी पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन् । यी पोलहरुमा टु आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिएको छ । यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन् । दिनमा आफैँ निभ्छन् ।
पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको छ । त्यसै सहमतिका आधारमा त्यही महिनाको २३ गते खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्का लागि सम्झौता भयो । त्यही सम्झौताका आधारमा २०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको थियो । यसपछि अर्थात् ग्रेडिङ् र लेभलिङ्को काम सकिएपछि चउरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ ।
यसका लागि चउरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन् ।
ग्रेडिङ् र लेभलिङ्पछि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब ३ महिना मैदानका ढुङ्गा टिप्न लगाएको थियो ।
खुला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App