Logo
  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • इ.स.: 2026 June 21,SUNDAY

  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • शान्ति विद्या गृह मा. वि., लैनचौरलाई वडा २६ बाट शिक्षण सिकाइमा प्रयोग हुने २० वटा डिजिटल बोर्ड हस्तान्तरण 

    पूर्वाधार र प्रविधि प्राप्त भएपछि शिक्षकले दक्षता बढाउनु पर्छ — वडाध्यक्ष तिवारी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २६ ले लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । आज विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई सामान हस्तान्तरण गर्नुभएको हो । प्रदान गरिएका बोर्डहरु ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट ४३ लाख ५९ हजार ५४० रुपैयाँ मूल्यमा सामान प्राप्त गरेको हो । 

    बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भन्नुभयो, ‘पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हुन् । यसको सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरुले आफूलाई समय सापेक्ष रुपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे महानगरपालिकाले उपलब्ध गराउन सक्छ ।’ 

    उहाँले विद्यालयका लागि करिब ४० लाख रुपैयाँ लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको बताउँदै प्रक्रिया टुङ्गिएपछि जडान हुने बताउनुभयो । वडाबाट गरिएको यो लगानी विद्या गृहलाई महानगरपालिकाभित्रकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि हो । तिवारीले अपेक्षा राख्नुभयो । 

    शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वअनुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानु पर्ने व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा राख्नुभयो । 

    वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न महानगरपालिकाका कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको छ । 

    यो विद्यालय २००४ सालमा स्थापना भएको हो । 

    कार्यक्रममा उमेर हदका कारण अनिवार्य अवकाशमा जानुभएका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई विदाइ गरियो । त्यसै अवसरमा विद्यालयका सहायक प्राचार्य विष्णुप्रसाद ढकाललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको थियो । 

  • प्रकाशित मिति बिहीबार ४ वैशाख २०८२ ०४:४२ PM