Logo

माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम आयोजना गर्ने सुशासन समितिको निर्णय

१९९७ सालमा ४ जना सहिदले सहादत प्राप्त गरेका ४ दिन विशेष कार्यक्रम 

काठमाडौँ । माघ १० गते बिहीबारबाट यस बर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । आज सुशासन समितिका संयोजक ख्यामराज तिवारीको अध्यक्षतामा बसेको बैठकले १९९७ सालमा प्राणदण्ड पाएका सहिदहरुले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा  ज्ञात अज्ञात सबै सहिदहरुको सम्झनामा स्मृति सभा गर्ने निर्णय भएको हो । 

१९९७ मा प्राणदण्ड पाएका ४ जना सहिदले माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्नुभएको थियो । त्यसपछि राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाउनुभएको छ । नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । 

बैठकमा नेपाली सेना समारोह सञ्चालन निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयका अधिकारी सहभागी हुनुहुन्थ्यो ।  

सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ । यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरु स्मृति सभाका लागि भेला हुनुहुनेछ । यी कार्यक्रम आयोजना हुने स्थलसँग सम्बन्धित वडाले कार्यक्रम सञ्चालन व्यवस्थापन गर्नुहुनेछ ।  

वि. सं. १९९७ साल माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिएको हो । राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उहाँहरुलाई प्राणदण्ड दिइएको हो । 

राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई माघ १० गते टेकु मचलीस्थित खरिबोटमा, १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा नागरिक अधिकारका लागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो । 

यसपछि २०४६ साल, २०६२÷०६३ सालमा राजनीतिक आन्दोलन भएको थियो । 

  • प्रकाशित मिति: आइतबार​ ६ माघ २०८१ १७:४८