Logo
  • वि.सं.: २०८२, साउन ३ शनिबार

  • इ.स.: 2025 July 19,SATURDAY

  • वि.सं.: २०८२, साउन ३ शनिबार

  • ताजा अपडेट

    मेट्रो एफएम

    काठमाडौं महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न, १४,१७३ विद्यार्थी सहभागी, ४ गते नतिजा प्रकाशन हुने

    ओएमाआर प्रणालीद्वारा उत्तरपुस्तिका जाँच हुदै 

    काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा आज शनिबार मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

    परीक्षा बिहान ८ देखि १०  बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाउनु भएकाे थियाे ।

    परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ।

    OMR प्रणालीद्वारा उत्तरपुस्तिका जाँच

    परीक्षाको उत्तरपुस्तिका OMR (Optical Mark Recognition) प्रणालीमार्फत जाँच भइरहेको छ। यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ। सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका जाँच्ने काम सुरु भइसकेको छ र नतिजा भोलि बिहान, अर्थात् आइतबार बिहान, महानगरको आधिकारिक वेबसाइट entrance.kathmandu.gov.np मार्फत प्रकाशित हुने छ ।

    विद्यार्थीहरूले उक्त वेबसाइटमा गई आफ्नो SEE को सिम्बोल नम्बर, अल्फाबेट, GPA र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्ने उनकाे भनाइ छ।

    काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिब ४,००० भन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ति उपलब्ध गराउने पोखरेलको भनाइ छ। यी सिटहरूमा ४०% सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, ५% संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४% काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १% ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ। यसका अतिरिक्त, महिला, दलित, आदिवासी/जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रका बासिन्दा र शहीद/बेपत्ता परिवारका बालबालिकाका लागि सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरूका लागि ४०% आरक्षण कोटा पनि छुट्याइएको छ।

    परीक्षापश्चात् OMR लाई मेसिनबाट स्क्यानिङ र रुजु गरी योग्यताक्रम प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशन गरी छात्रवृत्ति परीक्षाको नतिजा विद्यार्थीले फाराम भर्दा रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यताक्रमअनुसार भर्ना नतिजा सूची प्रकाशन गरिने  विभागले जनाएकाे छ ।

    विषयगत रूपमा विद्यालयमा भर्नाका लागि पूर्व मनोनयन गरिनेछ। पूर्व मनोनयनमा आफूले अध्ययन गर्न चाहेको विषय र कलेजमा मनोनयन भएको आधारमा ३ दिनभित्र भर्ना भइसक्नुपर्नेछ। तोकिएको मितिभित्र भर्ना नभएर रिक्त रहेका सिटहरूमा बाँकी विद्यार्थीहरूको योग्यताक्रमका आधारमा दोस्रो सूची प्रकाशन गरिनेछ। यो सूचीमा पनि रोजाइअनुसारको विषय र कलेजमा भर्ना हुन नसकेमा, प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा रिक्त सिटमा Wrap-up कोटामा मनोनयनका लागि पुनः योग्यताक्रमका आधारमा रोजाइका लागि सूचना प्रकाशित गरी छनोट गरिने शिक्षा विभागले जनाएकाे छ ।

     

  • प्रकाशित मिति शनिबार ३ साउन २०८२ ०४:४९ PM