वि.सं.: २०८२, असोज ३० बिहीबार
इ.स.: 2025 October 16,THRUSDAY
वि.सं.: २०८२, असोज ३० बिहीबार
‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरौँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकलाई सहभागी गराई मिठाइ व्यवसाय सुधारका लागि क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्देश्य मिठाइ व्यवसायलाई सुरक्षित, स्वच्छ र उपभोक्ता–मैत्री बनाउन तथा व्यवसायीहरूमा कानुनी, प्राविधिक र स्वच्छता सम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको थियो । सहभागी व्यवसायीहरूलाई मिठाइ व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, व्यवसाय सञ्चालनका क्रममा अपनाइने अभ्यास, खाद्य स्वच्छता कायम राख्ने तरिका, मिठाइमा प्रयोग गरिने रंग र सामग्री, विक्री–वितरण र प्रशोधन स्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया तथा उत्पादनको स्वाद परीक्षण आदिबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।
काठमाडौँ महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेले प्रशिक्षणका क्रममा भन्नुभयो, “हामी राजधानी सहरमा नागरिकले प्रत्यक्ष खाने वस्तुको व्यवसाय गर्छौं । यदि हामीले बेच्ने मिठाई, समोसा वा अन्य खानेकुराले कसैलाई बिरामी बनायो भने दोष केवल एक व्यवसायीलाई होइन, समग्र काठमाडौँलाई नै दिन थालिन्छ । त्यसैले व्यवसायीहरूले यस विषयमा गम्भीर हुनुपर्छ ।” उहाँका अनुसार संविधानले बजार अनुगमनको अधिकार स्थानीय तहलाई दिएको भए पनि प्राविधिक टिमको अभावमा महानगरले संघ मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको छ । उहाँले अनुगमनमा देखिएका कमी-कमजोरी सच्याएर व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सान्तोष गिरीका अनुसार महानगरले व्यवसाय सुधारका लागि सशक्तीकरण, अनुगमन र नियमनलाई विशेष प्राथमिकता दिएको छ । उहाँले भन्नुभयो, “व्यवसायीको सशक्तीकरणका लागि नै हामीले यस्ता क्षमता विकास कार्यक्रम आयोजना गरेका हौं । अहिले तिहारको समय भएकाले मिठाई व्यवसायीका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।”
महानगरपालिकाका विज्ञ सल्लाहकार जीवनप्रभा लामाका अनुसार सहभागी व्यवसायीहरूले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । उहाँले भन्नुभयो, “देशको अवस्थाले सहभागितामा केही कमी देखिए पनि उपस्थित सबैले प्रशिक्षणको सह्राहना गर्नुभयो । अन्तरक्रियामा नयाँ ज्ञान र अनुभव आदान–प्रदान भयो, जसले सुधार आउने विश्वास बढाएको छ ।” लामाका अनुसार यो प्रशिक्षण केवल स्वच्छता सम्बन्धी ज्ञान दिने कार्यक्रम मात्र नभई व्यवसायलाई अझ प्रभावकारी र दिगो बनाउने अवसरका रूपमा गरिएको हो ।
टिपटप गौतम स्वीट्सका सञ्चालक शैलेन्द्र शर्माले कार्यक्रमप्रति सन्तोष व्यक्त गर्दै भन्नुभयो, “महानगरले गरेको काम राम्रो छ । यस्तो कार्यक्रम वर्षमा कम्तीमा दुई पटक गर्नुपर्छ । धेरै कुरा नयाँ सिक्यौं, केही पुराना कुरा स्मरण भयो । सुधारका धेरै सम्भावना छन् ।” त्यसैगरी पावन स्वीट्स दरबारमार्गका कर्मचारी सूर्यदिव्य उपाध्यायले व्यवसायी र श्रमिकलाई एकसाथ सहभागी गराएर गरिएको कार्यक्रमलाई महत्वपूर्ण पहल भन्नुभयो । राधेराधे स्वीट्स चावहिलका म्यानेजर नवीन घिमिरेले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर गरिएको कार्यक्रम सह्राहनीय भएको बताउनुभयो । नरदेवीस्थित गुदपाक तथा पुष्टकारी व्यवसायी इदा वैद्यले महानगरका सुझावहरू व्यवहारमा पनि कार्यान्वयन गर्दै आएको र केही कमीकमजोरी भए सुधार्ने बताउनुभयो ।
केही सहभागीहरूको गुनासो थियो, ‘’ हामी भाडामा बस्छौँ, त्यहाँ घरबेटीबाट जस्तो पानीको व्यवस्था हुन्छ, त्यस्तै पानीले भाँडाकुँडा सफा गर्नुपर्ने हुन्छ । फोहोर व्यवस्थापनमा पनि घरबेटीसँगै निर्भर पर्नुपर्ने बाध्यता छ । तर, पनि महानगरको सुझावलाई हामी पालना गर्ने नै कोसिस गर्छौँ ।’’
काठमाडौँ महानगरपालिकाले मिठाई व्यवसायी सुधारका लागि आयोजित क्षमता विकास कार्यक्रममा विभागीय प्रमुख नुरनिधि न्यौपाने, विज्ञ सदस्य जीवनप्रभा लामा, खाद्य स्वच्छता विज्ञहरू नवीन कर्माचार्य,आलोक श्रेष्ठ, विरोज पौडेल, एलेक्स श्रेष्ठ, निर्विक श्रेष्ठ, राकेश कुष्मा, अनिल बस्नेत, निरन पौडेल र अभितोष ढुंगेलले प्रशिक्षण दिनुभएको थियो ।
महानगरको यो कार्यक्रमले मिठाई व्यवसायीहरूमा स्वच्छता र गुणस्तरप्रतिको चेतना बढाउने अपेक्षा गरिएको छ । महानगरले आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिने योजना बनाएको छ ।
तस्विर – गत आर्थिक वर्षमा महानगरले गरेको मिठाइ व्यवसाय सुधारका लागि क्षमता विकास कार्यक्रम