Logo

मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर वगैँचा (नारायण चौर) मा 'वुमेन अफ द वर्ल्ड ' महोत्सव हुने 

महिलासँग दुःख र गुनासा मात्र छैनन्, सफलताका कथा पनि छन्, सन्तुलित सामाजिक विकास र सामाजिक न्यायका अभियान सरकारले सञ्चालन गर्नुपर्छ - उपप्रमुख डंगोल


काठमाडौँ । काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते विश्व महिला, नेपाल (वुमेन अफ द वर्ल्ड - वाउ), को सातौँ संस्करण आयोजना हुने भएको छ । महिला, बालिकाहरु र  नन-वाइनेरी (गैर-द्वायसांख्यिक) व्यक्तिले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयासका लागि ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको, आज राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो । 

कार्यक्रममा बोल्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘महिलासँग दुःखका कथा मात्र जोडिएको देखाइन्छ । महिलाहरुसँग दुःख मात्र होइन । सफलताका कथा पनि छन् । नमूना र उदाहरणीय सिकाइ छन् । यस्ता अनुकरणीय कथामार्फत महिला, बालिका र ननवाइनेरीहरुलाई आत्मसम्मानपूर्वक जीवनयापन गर्न प्रोत्साहन गर्नु सम्मलेन आयोजनाको उद्देश्य हो ।’ पत्रकारले महानगरपालिका अभियानमा कसरी भन्ने प्रश्नको जवाफमामा उहाँले थप्दै भन्नुभयो, ‘सामाजिक रुपान्तरणका काममा सरकारको अगुवाई हो । यस्ता कार्यक्रम गैरसरकारी संघसंस्थाले मात्र गर्नुपर्छ भन्ने होइन । सन्तुलित सामाजिक विकास र सामाजिक न्यायका अभियान सरकारले  सञ्चालन गर्नुपर्छ ’

महानगरपालिकाले लैङ्गिक उत्तरदायी सहर निर्माणका लागि महानगरपालिकाले कार्यान्वयनमा ल्याएको महिला सञ्जाल, न्यायिक सहजकर्तामार्फ कानुनी सहयोग, वडा स्तरीय मेलमिलाप, निःशुल्क कानुनी सेवालगायत कार्यक्रमसँग वुमेन अफ द वर्ल्डको अवधारणा समान भएकोले महोत्सवमा महानगरपालिका अगाडि आएको उहाँको भनाइ थियो । 

‘यो सम्मेलन कार्यक्रम मात्र होइन । महिलाहरुले भोगेका समस्या र समस्याको समाधानका प्रयास बलियो बनाउने थलो पनि हो ।’ व्रिटिस काउन्सिलका नेपाल निर्देशक रुस्तम मोदीले भन्नुभयो, ‘सन्तुलित र समतामूलक समाज निर्माणमा महिलाहरुको भूमिका र नेतृत्वका कुरा गर्ने यो महत्वपूर्ण ठाउँ हो । यस वर्ष महानगरपालिकासँग मिलेर लैङ्गिक समता र सशक्तिकरणका लागि काम गर्न पाएका छौँ । यसबाट नतिजा प्राप्त गरिरहने र यसलाई दिगो बनाउने दिशामा नतिजा प्राप्त हुने विश्वाश लिएका छौँ ।’ 

‘यस कार्यक्रमले महिला, बालिका, पुरुष, बालक र नन-बाइनेरी व्यक्तिहरूलाई एक ठाउँमा ल्याएर कला र सांस्कृतिक सहभागिताको माध्यमबाट लैङ्गिक समानताको सम्बन्धमा देखिएका समस्या, आवश्यकता र चुनौतीको समीक्षा गराउँछ ।’ मोदीले भन्नुभयो, ‘नेपालका ३ वटा प्रदेश र ३ वटा सहरमा आयोजना भएको महोत्सवमा अहिलेसम्म २५ हजारभन्दा बढी मानिसले सहभागिता जनाउनु भएको छ ।’

कार्यक्रममा महोत्सवका बारेमा जानकारी दिँदै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘यो सार्वजनिक सरोकारको विषय हो । यस्ता कार्यक्रम प्रायः बन्द कोठामा हुने गरेका थिए । यसलाई परिवर्तन गरेर सवैको पहुँच पुग्ने खुला ठाउँमा आयोजना गर्दैछौँ ।’ 

उहाँकाअनुसार कार्यक्रममा १० हजार वढी व्यक्तिहरुको सहभागिता हुने अपेक्षा गरिएको छ । महोत्सवमा प्रवेश निःशुल्क हुनेछ । महोत्सवमा कथा घेरा थिएटर, कर्णाली कला केन्द्र, गायिका कुन्ती मोक्तान, गायिका सुवानी मोक्तान, गायिका रचना दाहाल, चलचित्रकर्मी गौमाया गुरुङ्सहित २ सयभन्दा धेरै महिला कलाकारले प्रस्तुति गर्नुहुनेछ । 

२ दिन चल्ने महोत्सवमा विहान योग र आत्मरक्षा सम्बन्धी क्रियाकलाप हुनेछन् । दिनमा चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्रहरु, प्रदर्शनी हुनेछन् । महोत्सवमा महानगरपालिकाले ‘एक वडा, एक उत्पादन’ न्यायिक सहजकर्तामार्फत कानुनी परामर्श प्रदान गर्नेछ । खाना स्टल, गीत, संगीत, गायन, नृत्य तथा कला प्रस्तुतिसँगै बालबालिकाका लागि विशेष खेल र मनोरञ्जनात्मक कार्यक्रम महोत्सवका आकर्षण हुनेछन् । अल्पसंख्यक कलाकार तथा वक्ताहरुलाई समावेशी तथा लैङ्गिक क्षेत्रमा गरेका कामका विषयमा प्रस्तुति गर्न, जानकारी दिन, सोच प्रदर्शन तथा धारणा राख्नका लागि अवसर दिइनेछ । यसरी चल्ने सत्रहरुमा जलवायु परिवर्तन, खेलकुद, आमसञ्चारलगायत विभिन्न पेशामा महिलाको भूमिका र पहिचानका विषय समेटिनेछन् । लैङ्गिक मुद्दामा महिला र बालिकाहरुको क्षमता वृद्धि गर्ने महिला नेतृत्वमा प्राप्त महत्वपूर्ण उपलब्धी र उपलब्धी हासिल गर्दाका प्रयत्नका विषयमा उत्प्रेरणात्मक सत्र चल्नेछन् । 

सहभागी महिलाहरुले आफ्ना समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् । महोत्सव राजनीतिकर्मी, अधिकारकर्मी, कला, साहित्य र संगीतजस्ता सिर्जनात्मक क्षेत्रका काम गरिरहेका महिलाहरुले आफ्ना क्षेत्रका अनुभव बाँड्ने अवसर पनि हो ।    

लैङ्गिक र समावेशी कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले व्रिटिस काउन्सिलसँग गएको वैशाख १० गते समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्मेलनपछि लैङ्गिक संवेदनशीलताका विषयमा सचेतना र जागरुकता बढाउन २ सय जनालाई सिप प्रदान गर्ने कार्यक्रम सञ्चालन हुनेछ । 

के हो वुमेन अफ द वर्ल्ड (वाउ)
सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको विश्वका महिला अर्थात् (वाउ), लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउने अभियान हो । यसका अघिल्ला श्रृङ्खलाहरुमा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाहरुले वक्ताका रुपमा आफूलाई सहभागी गराइसक्नु भएको छ । अहिलेसम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले अभियानमा सहभागिता जनाएका छन् । 

नेपालमा यो महोत्सव पहिलो पटक सन् २०१७ मा ललितपुरमा मनाइएको थियो । महोत्सव वाउका संस्थापक जुड केलीले आयोजना गर्नुभएको थियो । यसमा ब्रिटिश काउन्सिलको साझेदारी रहेको थियो । दोस्रो पटक पनि सन् २०१८ मा ललितपुरमा, सन् २०१९ मा जनकपुरमा सन् २०२० र २०२१ मा अनलाइनबाट आयोजना गरिएको थियो । छैटौँ संस्करण सन् २०२२ मा लुम्बिनीमा आयोजना भएको थियो । 

  • प्रकाशित मिति: मंगलबार ४ मंसिर २०८१ १९:५२