वि.सं.: २०८२, चैत ६ शुक्रबार
इ.स.: 2026 March 20, FRIDAY
वि.सं.: २०८२, चैत ६ शुक्रबार
परीक्षा केन्द्रहरुको अनुगमनका लागि विभागीय प्रमुख र महाशाखा प्रमुखको टोली
काठमाडौँ । आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुने, अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई होम सेन्टरमा परीक्षा दिँदा सहजता महसुस गरेको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको छ । आज यस्ता विद्यार्थीहरुको परीक्षाको अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विन्डी हाउस विशालनगर एउटै स्कूलमा ३ जना विशेष अवस्थाका विद्यार्थीहरु परीक्षामा सहभागी छन् । अनुगमनका क्रममा परीक्षा सकेपछि परीक्षार्थीसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले, विद्यार्थीहरुको रुचि, परीक्षा लेख्दाको सहजता लगायत विषयमा अन्तरक्रिया गर्नुभएको थियो । कुराकानीमा विद्यार्थीहरुले अंग्रेजी भाषामा बोल्न सहज मानेका थिए । उहाँले विद्यालयका सञ्चालक र शिक्षकहरुसँग शैक्षिक क्रियाकलाप, अभिभावकको मनोविज्ञान, उहाँहरुको अपेक्षा र यस्ता विद्यार्थीहरुको सिकाइका लागि स्थानीय सरकारसँगका अपेक्षाका विषयमा कुराकानी गर्नुभएको थियो ।
विशेष प्रकृतिका विद्यार्थीका लागि छुट्टै शैक्षिक वातावरण चाहिने भएकोले महानगरपालिकाले यस प्रकारका शिक्षण संस्था सञ्चालनका विषयमा योजना बनाउँदै गरेको डंगोलको भनाइ थियो ।
बालबालिकाका लागि सिकाइ र मूल्याङ्कनका राष्ट्रिय परीक्षा वोर्ड, पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर छुट्टै मापदण्डमा काम गर्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
विद्यालयहरुमा विशेष सहुलियतको आवश्यकता पर्ने विद्यार्थीहरुको संख्या बढ्दै गएको छ । टंगाल माध्यमिक विद्यालयमा अलकापुरी, व्हिज किड्स, क्याम्पियन र न्यु इरा स्कूलका एक एक जना विद्यार्थी विशेष सहुलियत प्राप्त गर्नु पर्ने अवस्थाका छन् । गएको वर्ष यस केन्द्रमा १ जनालाई मात्र विशेष सहुलित प्रदान गर्नु परेको थियो । अन्य केन्द्रहरुमा पनि यस्तै प्रकारका विद्यार्थीको संख्या छ ।
शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइने व्यवस्था छ । यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन् । होम सेन्टरमा परीक्षा दिए पनि उत्तरपुस्तिका तोकिएको स्रोत केन्द्रमा बुझाउनु पर्ने परीक्षा समितिका अध्यक्ष एवं शिक्षा विभागका प्रमुख नमराज ढकालले बताउनुभयो ।
विकासात्मक अपाङ्गता भएका बालबालिकालाई क्षमता सम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्नपत्र तथा परीक्षामा लेख्न समस्या भएमा त्यस्ता बालबालिकाका लागि विद्यालयले व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन सक्नेछन् । महानगरपालिकाले तयार पारेको प्रश्नपत्रबाट विकासात्मक अपाङ्गता वा विशेष प्रकृतिका बालबालिकाहरुले परीक्षा दिन नसक्ने भएमा विद्यार्थीको सिकाइ प्रकृतिका आधारमा विद्यालयले उपयुक्त मूल्याङ्कन मापदण्ड तयारी गरी विद्यार्थी मूल्याङ्कन गरेर प्राप्ताङ्क सम्बन्धित स्रोत केन्द्रमा बुझाउनु पर्नेछ । यसरी परीक्षा लिँदा पाठ्यक्रम विकास केन्द्रले तोकेको विशिष्टिकरण तालिकाको परिधिभित्र हुनु पर्नेछ ।
हात भाँचिएका वा आफैं हातले परीक्षा लेख्न नसक्ने विद्यार्थीलाई विद्यालयबाट प्राप्त भएको निवेदन, मेडिकल रिपोर्ट, सहायक विद्यार्थीको योग्यतासमेतका आधारमा कक्षा ७ सम्म अध्ययनरत सोही विद्यालयको विद्यार्थीलाई परीक्षा सहायक राख्न विभागले अनुमति प्रदान गर्न सक्नेछ ।
हिजोबाट सुरु भएको परीक्षामा ५७ वटा केन्द्रमा सञ्चालन भइरहेको छ । यी केन्द्रहरुमध्ये ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा छन् । यी केन्द्रहरुमा ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी सहभागी छन् । परीक्षार्थीमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा छन् । विद्यालयको प्रकृतिका आधारमा हेर्दा, २ वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षामा सहभागी सहभागी भएका छन् ।
केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत विद्यार्थीहरू विशेष प्रकृतिका (बहिरा) भएकाले उनीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राखी सोही विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिएको छ । जगन्नाथ देवल माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय कारागार (जेल) भित्र सञ्चालित रहेको र सुरक्षा संवेदनशीलताका कारण विद्यार्थीहरू बाहिर जान सहज नहुने हुँदा, ती विद्यालयहरूको परीक्षा केन्द्र त्यही विद्यालयमा नै कायम गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App