Logo
  • वि.सं.: २०८२, माघ ८ बिहीबार

  • इ.स.: 2026 January 22,THRUSDAY

  • वि.सं.: २०८२, माघ ८ बिहीबार

  • फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन कार्यवाहक प्रमुखको वातावरण व्यवस्थापन विभागका अधिकारीलाई निर्देशन 

    विभागले गरिरहेका कामलाई थप सहजीकरण गर्न कार्यवाहक प्रमुखबाट विभागगत जानकारी लिने क्रम जारी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, स्रोतमा फोहर वर्गीकरण गर्ने, वर्गीकृत फोहरलाई छुट्टै संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्ने क्रममा प्रयोग गरिएका अभ्यासलाई निरन्तरता दिन र प्राप्त उपलब्धिमा ह्रास आउन नदिने गरी कार्य सञ्चालन गर्न वातावरण व्यवस्थापन विभागका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । विभागहरुले अहिलेसम्म गरेका कामको नतिजाका बारेमा जानकारी लिने क्रममा वातावरण व्यवस्थापन विभागका अधिकारीहरुसँग छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘कामलाई सहज बनाउन नीतिगत रुपमा गर्नु पर्ने केही काम छन् भने म त्यसमा सहजीकरण गर्नेछु । सहरी स्वच्छता, सरसफाइ र वातावरणीय सुधारमा हामीले प्रयोग गरेका असल अभ्यास, परिचालन गरेका जनशक्ति, साधन र उपकरणको क्षमतामा कमी आउनु हुँदैन ।’
    ।’

    ‘नीति, प्रविधि, समन्वय, सहकार्य र उत्तरदायित्व जस्ता धेरै पक्षको संयोजनले उत्पादित फोहर व्यवस्थापनमा दिगोपना प्राप्त गर्छ । यसकारण महानगरपालिका भित्रको फोहरको प्रकृति, स्रोतमा वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनसँगै ल्याण्डफिल साइटको उपयोग, यससँग स्थानीय तथा अन्य पालिकाको सम्बन्ध, अन्तर सरकार सम्बन्धित कार्यक्रम लेखाजोखा गरौँ । तथ्य विश्लेषण गरौँ । यसका आधारमा कार्यक्रमलाई व्यावहारिक र वैज्ञानिक बनाउँदै लैजानुपर्छ ।’ उहाँको भनाइ थियो ।  

    छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, सहरमा फोहर संकलन गर्ने, ढुवानी गर्ने तथा अन्तिम व्यवस्थापन गर्ने अभ्यासलाई थप प्रभावकारी बनाउँदै लगिने बताउनुभयो । 

    त्यस क्रममा विभागका प्रमुख सरिता राईले, विभागका नियमित र आकस्मिक कामका बारेमा जानकारी गराउँदै कामलाई प्रविधिमा जोड्दै लगेर नतिजा दिने विभागका कार्यक्रम सुनाउनुभयो ।

    छलफलमा यन्त्र तथा उपकरण महाशाखा, वातावरण व्यवस्थापन महाशाखाका प्रमुखहरु, महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक, इञ्जिनियरहरु, वातावरण निरीक्षक, स्यानिटेसन सुपरभाइजरसहित पदाधिकारी आफू सम्बद्ध कार्यक्रमबा बारेमा जानकारी राख्नुभएको थियो । 

    अहिलेसम्ममा कार्यवाहक प्रमुख डंगोलले, विभागसँगै सहरी योजना आयोग, महानगर प्रहरी बल, सम्पदा तथा पर्यटन विभाग, सामाजिक विकास विभागले गरेका कामका विषयमा जानकारी लिइसक्नु भएको छ ।   

  • प्रकाशित मिति बिहीबार ८ माघ २०८२ ०६:०३ PM