वि.सं.: २०८२, फागुन ११ सोमबार
इ.स.: 2026 February 23,MONDAY
वि.सं.: २०८२, फागुन ११ सोमबार
'विद्यार्थीहरुमा परीक्षाप्रतिको डर घटाउन, आत्मविश्वाश बढाउन र उत्तर लेखन सिपको विकास गर्न विशेष कक्षाले सहयोग गर्नेछन्' - कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारका लागि ६ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । गत वर्षहरुका लिइएको एसईई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ । यीमध्ये पहिलो चरणमा धेरै विद्यार्थी भएका गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो । यी विद्यालयमा विशेष कक्षाको आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइनेछ । विषय विज्ञ, स्रोत शिक्षक, सेवा निवृत्त शिक्षकहरुले यी कक्षाहरु लिनुहुनेछ ।
न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुनेछन् ।
यी विद्यालयहरुका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ । यी दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ । यो कुल परीक्षार्थीको १३ प्रतिशत हो ।
आज गीतामाता मा. वि. मा कक्षाहरुको शुरुवात गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, विद्यार्थीहरुमा परीक्षाको डर हटाउन र परीक्षामा आत्म विश्वाशका साथ सहभागी हुन प्रोत्साहन गर्ने, उत्तर लेख्ने सिप सिकाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो । विद्यार्थीहरुसँग संवाद गर्दै उहाँले भन्नुभयो, ‘तयारी गर्ने बेलामा अभ्यास पुग्छ कि पुग्दैन भन्नेमा चिन्ता गर्नु, परीक्षामा सहभागी हुने बेलामा चिन्ता नगरी सहभागी हुनु । यो विद्यालयका एसईई व्याचमध्ये हामी सबैभन्दा उत्कृष्ट ब्याच बन्नेछौँ भन्ने सोचर सहसिकाइ गर्नु । प्रश्नले खोजेको मात्र उत्तर लेख्नु । सबै प्रश्नको जवाफ लेख्नु । तपाईँहरुलाई राम्रो नतिजा ल्याउनबाट कसैले रोक्न सक्दैन ।’
‘परीक्षाका लागि शारीरिक र मानसिक रुपमा तयार हुनुपर्छ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा १५ का वडाध्यक्ष ईश्वरमा डंगोलले भन्नुभयो, ‘तोकिएका पाठहरुको सही समयमा तयारी गर्नुपर्छ । मिहिनेत नगरी कोही सफल हुन सक्दैन् । त्यसैले, पूरा मिहिनेत गर्नुपर्छ ।’
यस वर्ष महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट करिव ४ हजार ५५७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । शिक्षा विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, ‘ख्याती पाएका व्यक्तित्वहरु १० वटा प्रयत्न गर्दा एउटामा राम्रो नतिजा प्राप्त गर्नुहुन्छ । उहाँहरु १० वटै प्रयत्नमा सफल हुन १० गुणा बढी मिहिनेत गर्नुहुन्छ । विद्यार्थीहरु परीक्षामा सफल हुने मन्त्र यही हो ।’
‘गएको वर्ष नतिजा सुधारका लागि केन्द्र तोकेर एउटा विद्यालयका विद्यार्थी अर्को विद्यालयमा लैजाने अभ्यास गरिएको थियो । यसो गर्दा विद्यार्थीहरुलाई आवतजावत गर्न असहज भएको थाहा पाइयो ।’ शिक्षा अधिकृत केशव ज्ञवालीले भन्नुभयो, ‘यो भन्दा महत्वपूर्ण कुरा चाहिँ विद्यार्थीहरुमा आफू कमजोर भएर अर्को विद्यालयमा पढ्न जानु परेको महसुस गरेर हीनताबोध भएको जानकारी आयो । विद्यार्थीहरुमा परेको त्यो समस्या घटाउन यस वर्ष विद्यालयहरुमा नै विशेष कक्षा राखिएको हो ।’
गीतामाता मा. वि. को कक्षा १० मा अध्ययनरत छात्रा रोजिना तामाङ्ले कार्यक्रममा उत्कृष्ट नतिजा दिनका लागि विद्यार्थीहरुका तर्फबाट प्रतिवद्धता जनाउनुभयो । ‘माध्यमिक शिक्षा स्थानीय सरकारले हेर्न थालेपछि, विद्यार्थीहरुका लागि विभिन्न कार्यक्रम ल्याउने महानगरपालिका र दूरदृष्टि राख्ने नगर प्रमुख तथा जनप्रतिनिधि भएपछि हामी सिकाइप्रति उत्साहित छौँ । उत्कृष्ट नतिजा दिन्छौँ ।’ तामाङ्ले प्रतिवद्धता मन्तव्य राख्नुभयो ।
सिकाइ उपलब्धि न्यून भएका विद्यार्थीहरुलाई एसईई उत्तीर्ण गराउन आवश्यक परीक्षामा सहभागी हुने सिप र लेखन शैलीमा आवश्यक ज्ञान, सिप प्रदान गरेर समग्र महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको एसईई उत्तीर्ण प्रतिशत वृद्धि गर्ने विशेष कक्षाको मुख्य उद्देश्य हो । यसमा विगत वर्षमा सन्तोषजनक नतिजा हासिल गर्न नसकेको विद्यालयहरुलाई प्राथमिकतामा राखिएको छ । यसबाहेकका अन्य विद्यालयहरुले कक्षा माग गरेमा विभागले उपलब्ध गराउनेछ ।
पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यार्थीको बहुआयामिक सिकाइ अभ्यासबाट विद्यालयहरुमा शैक्षिक वातावरणमा सुधार आएको छ । अध्यापनप्रति शिक्षकहरुको सक्रियता बढेको छ । विद्यार्थीहरुमा मिहिनेत गर्ने बानीको विकास भएको छ । कक्षा १० सम्मका विद्यार्थीलाई महानगरपालिकाले उपलब्ध गराएको दिवा खाजाले विद्यार्थी र अभिभावकमा विद्यालयप्रति आकर्षण बढेको छ । विद्यार्थीहरुमा सिकाइप्रति रुचि बढेको छ । सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र तनावरहित सिकाइलाई अभ्यासमा ल्याउन ‘पुस्तक रहित शुक्रवार’ कार्यक्रम सञ्चालनले सिकाइप्रति प्रोत्साहित गरेको छ ।
प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरूलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाई पेडागोजीमा सुधार, असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि योगदान गर्ने कार्यक्रम हुन् ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । यसमा १७ जनाले ४ जीपीए पाए । यो नतिजा २०८० कोभन्दा ४४.७७ प्रतिशत धेरै हो । त्यस वर्ष (२०८०) मा ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । २०८१ सालको परीक्षामा ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना थियो । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना थिए ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App