Logo
  • वि.सं.: २०८३, असोज ७ बुधबार

  • इ.स.: 2026 September 23,WEDNESDAY

  • वि.सं.: २०८३, असोज ७ बुधबार

  • ‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न : जात्राका औपचारिक कार्यक्रम सुरु  

    आज ‘उपाकु वनेगु’ दिवंगत भएका व्यक्तिको सम्झनामा माटोबाट निर्मित काँचो पालामा बत्ती बालिने 

    काठमाडौँ । आज विहान ७ बजेर ४७ मिनेटको साइतमा ‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न भएको छ । हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिं उठाइएको हो । उठाइएको यसिंमा ८ वटा काठका टुक्रा राख्ने चलन छ । यस कार्यमा न्हय्स नाय, चस्वाद्वँ टोलका मानन्धर समुदाय अनिवार्य उपस्थित हुने चलन छ । अष्टमातृकाको प्रतीकका रुपमा काठका टुक्रा राख्ने गरिएको हो । यसलाई ‘लाकासिँ’ भनिन्छ । 

    यःसिं उठाउँदा गुर्जुको पल्टनले तोप पड्काएको थियो । यस अवसरमा तलेजु भवानीको प्रतीक स्वरुप सेतो घोडा ल्याउने चलन छ । यस्तै दिप्याखं (देवी नाच) प्रस्तुत गरिएको थियो । यो नाच इन्द्रजात्रामा निकालिने पहिलो नाच हो । 
     
    यःसिं उठाइसकेपछि यसको माथि इन्द्र अङ्कित चिन्हसहितको ध्वजा फहराइयो । यसलाई ‘हलिंपता’ भनिन्छ । ‘हलिंपता’ फहराइसकेपछि मानन्धरहरुले सबैभन्दा पहिले पूजा गर्ने चलन छ । यःसिंको माथि गजुर जस्तै देखिने भोगटे राखिएको हुन्छ । फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ । यसको श्रद्धालुहरुले पूजा आराधना गर्ने गर्दछन् । 

    ‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, वडाध्यक्षसहित जनप्रतिनिधिहरु, स्थानीयबासी र श्रद्धालुहरुको बाक्लो उपस्थिति थियो । 

    यस वर्ष भाद्र २८ गते ञलाथ्व द्वितियाका दिन मानन्धर समुदायका गुठियारहरु यःसिं लिन बन प्रस्थान गरेका थिए । त्यसै दिन साँझ ८ बजेर ४७ मिनेटको साइतमा वृक्षकर्तन भएको थियो । यसिंलाई २९ गते भोटाहिटी ल्याइयो । आश्विन ३ गते (ञलाथ्व कायाअष्टमी) का दिन विहान ८ बजेर ५ मिनेटको साइतमा यःसिं नगर प्रवेश गराइयो । यसैदिनदेखि किलाघःमा दिःप्याखं (देवी नाच) सुरु भयो । एकादशीका दिन चसाद्वं टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँधेका थिए । यसलाई ‘वलः घायेगु’ भनिन्छ । ‘वलः घायेगु’ यःसिंमा डोरी बाँध्ने एउटा त्यस्तो जटिल विधि हो, जसलाई तानेर यःसिं उठाइसके पछि यःसिंको सिरानीमा बाँधिएको गाँठो तलै बसेर फुकाल्न सकिन्छ । यःसिं उठाइसके पछि त्यो देवता सरह हुने भएकोले गाँठो फुकाल्न माथि चढ्न मिल्दैन । त्यसैले तलैबाट गाँठो फुकाल्नु पर्ने हुन्छ । 

    आज नेवार समुदायका मानिसहरुले दिवंगतहरुको सम्झनामा काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाउने गर्छन् । यसै दिन गणेश र भैरवलाई कुमारी घरमा ल्याउने र त्यसपछि तलेजु भवानी मन्दिरको मुल द्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो दिने चलन छ । हिजो सरकारतर्फबाट श्री गणेश र श्री भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिइएको छ । 

    जात्रामा यःसिं ठड्याउने परम्परा कसले चलाए भन्ने एकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा ठड्याउन थालिएको विश्वाश गरिन्छ । त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिर अघि यसरी नै यःसिं ठड्याइन्थ्यो भन्ने भनाइ छ । यःसिंलाई उल्लास, विजय र उत्सवका रुपमा हेर्ने गरिन्छ ।

    इन्द्रजात्राको मुख्य आकर्षण मानिने श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा तीन दिनसम्म सञ्चालन हुनेछ । पहिलो दिनको रथयात्रामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसहित विशिष्ट व्यक्तिको सहभागिता हुनेछ । 

    इन्द्रजात्राको मुख्य रथयात्रा आश्विन ९ गते शुक्रबारदेखि सुरु हुनेछ । पहिलो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गराएर पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गराइनेछ ।

    पहिलो दिनको रथयात्रा सम्पन्न भएपछि दाँगीको नगर परिक्रमा गर्ने परम्परा रहेको छ । दाँगीलाई इन्द्र देवताकी आमाका रूपमा मानिने गरिएको छ । वर्षभरिमा दिवंगत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको नगर परिक्रमा गराउने परम्परा पनि इन्द्रजात्रासँग जोडिएको छ ।

    आश्विन १० गते शनिबार माथिल्लो टोलमा रथ यात्रा हुनेछ । 

    त्यस्तै, आश्विन १३ गते मंगलबार नानीचायाको दिन माथिल्लो टोलको किलाघः हुँदँै नगर परिक्रमा गराउने चलन छ । इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीहरूको सहभागिताले निरन्तरता पाउँदै आएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार विगत १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तान्ने कार्य हुँदै आएको छ ।

    यस दिन राष्ट्रपति स्वयं उपस्थित भई कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा रहेको छ । 

    रथयात्राका मुख्य मार्ग
    तल्लो टोलको रथयात्रा वसन्तपुर, मरु, चिकंमुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, ज्याबहाल, कोहिटी, भीमसेनस्थान, मखन हुँदै पुनः वसन्तपुर पुगेर सम्पन्न हुनेछ ।

    माथिल्लो टोलको रथयात्रा वसन्तपुर, प्याफल, यटखा, नरदेवी, टेंगल, न्यौखा, न्हेकन्टोल, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर आइपुग्नेछ ।

    नानीचाया रथयात्राका लागि भने वसन्तपुर, प्याफल, यटखा, नरदेवी, किलागः, भेडासी, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर पुग्नेछ । 

    रथयात्रा हुने मार्गमा स्थानीय क्लब तथा संस्थाले देवीदेवताका रथलाई स्वागत गर्दै विशेष पूजा गर्ने व्यवस्था मिलाउनेछ । तीनै दिन रथयात्राका क्रममा लाखे आजु, पुलुकिसी र हलचोक आकाश भैरव पनि सहभागी हुने परम्परा रहेको समितिले जनाएको छ ।

    देवी नाच, महाकाली नाच, दश अवतार प्रदर्शन जात्राका महत्वपूर्ण क्रियाकलाप हुन् । 

    जात्रालाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । जात्रा व्यवस्थापन, सुरक्षा, स्वयंसेवा तथा अन्य व्यवस्थापनमा स्थानीय समुदाय र क्लब-संस्थाको समेत भूमिका रहनेछ ।

    इन्द्रजात्राका क्रममा हनुमानढोकाको श्री श्वेत भैरवको मुखबाट श्रीको प्रसादस्वरूप जाँड खुवाउने परम्परा पनि रहिआएको छ । त्यस्तै, जात्रा अवधिभर विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन, नाच तथा पूजा सञ्चालन हुनेछन् ।
     

  • प्रकाशित मिति बुधबार ७ असोज २०८३ ०९:३४ AM