वि.सं.: २०८३, असोज ७ बुधबार
इ.स.: 2026 September 23,WEDNESDAY
वि.सं.: २०८३, असोज ७ बुधबार
कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा महानगर विपद व्यवस्थापन समितिको वैठक
काठमाडौँ । मौसमजन्य सम्भावित विपद जोखिमका विषयमा छलफल गर्दै महानगर विपद व्यवस्थापन समितिले पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको वैठकले ढल, मंगाल, नाली तथा क्याचपिटलाई नियमित सफाइ गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणालीलाई चुस्त बनाउने र वडा तहदेखि सुरक्षा निकायसम्मको समन्वय प्रभावकारी बनाउने निर्णय गरेको हो । वङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको असर र प्रतिकार्य, विपदका घटनामा राहत वितरण शिफारिस प्रणाली लगायत विषयमा छलफल गर्दै बैठकले, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) बाट प्राप्त हुने अवस्थाको तथ्यका आधारमा महानगरवासीलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको छ । वैठकले विपद्को अवस्थामा महानगर प्रहरी बलको कन्ट्रोल रुममार्फत तत्काल जानकारी गराउन सूचित गर्ने निर्णय गरेको छ ।
बंगालको खाडीबाट विकसित भएको चक्रबात विकास भएपछिको नेपालमा असोज ८ गतेदेखि १२ गतेसम्मको सम्भावित भारी, धेरै भारीको सम्भावना रहेको पूर्वानुमान भएपछि यसको प्रभावबाट बच्न पूर्व तयारी तथा प्रतिकार्यका विषयमा बैठक बसेको थियो । २४ घण्टामा ५० देखि १ सय मिलिमिटर पानी पर्नु भारी वर्षा हो । १ सय मिलिमिटरदेखि २ सय मिलिमिटर सम्म पानी पर्नु धेरै भारी र २ सय मिलिमिटर वा त्योभन्दा धेरै वर्षा हुनु अति भारी बर्षा हो ।
वैठकमा कार्यवाहक प्रमुख डंगोलले, विपद प्रतिकार्यका लागि हामी आज कुन अवस्थामा छौँ? कुन कुराको तयारी गरिहाल्नु पर्ने अवस्था छ? प्रतिकार्यमा काम गर्ने प्रणालीको क्षमता र समन्वय प्रणालीका विषयमा जानकारी प्राप्त गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जानकारी दिनुभयो ।
सम्भावित जोखिमका विषयमा आम नागरिकलाई छिटो सूचना पुग्ने प्रणालीबाट सावधानी अपनाउनु पर्ने समयका विषयमा जानकारी दिने, विपदका घटना परे तत्काल महानगर प्रहरी सहित नजिकको सरकारी संयन्त्रबाट सहयोग लिन सकिने प्रबन्ध मिलाउन, वडास्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउन निर्देशन दिँदै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘पानीको प्रवाह रोकिने जोखिमयुक्त स्थानहरुको दोहोर्याएर सरसफाइ गर्न जनशक्ति, साधन र उपकरण परिचालन गर्नु, प्रतिकार्यका लागि आवश्यक पर्ने जनशक्ति, साधन तथा उपकरण तैनाथ राख्नु, जोखिमयुक्त भनेर पहिचान गरिएका ठाउँहरुको नियमित निगरानी गर्नु, जात्रा सञ्चालन हुने क्षेत्रमा व्यवस्थापनसँगै विपद व्यवस्थापनको छुट्टाछुट्टै प्रणाली परिचालन गर्न सम्बन्धित अधिकारी सक्रिय हुनुहोला ।’
मौसमजन्य विपदका घटनाबाट बच्नका लागि सरसफाइ र निर्वाध जल प्रवाहका लागि समुदायका पनि दायित्व छन् । यसप्रति समुदाय पनि जिम्मेवार हुनुपर्छ, उहाँको जोड थियो ।
वर्षाको पानीबाट हुने जोखिमको आँकलन गर्दा कति समयभित्र कति पानी पर्यो? कुन कुन ठाउँमा पानी पर्यो? कुन ठाउँमा परेको पानीले कुन ठाउँमा असर पुर्याउँछ भन्ने कुरालाई क्षेत्र विशेष निगरानी गर्नुपर्छ । यसका आधारमा सुरक्षा सावधानीका लागि सूचना प्रवाह गर्नुपर्छ । वैठकमा प्रमुखका सल्लाहकार जलस्रोत तथा जलविज्ञान विज्ञान प्रा. डा. नरेशमान शाक्यले भन्नुभयो, ‘काठमाडौँमा यसअघि धेरै पानी परेका बेला ११० देखि १२० मिलिमिटर सम्म रेकर्ड भएको छ । यस वर्ष १३३ मिलिमिटरसम्म पानी पर्ने आँकलन देखिन्छ । तर, यसो भन्दैमा डराउनु पर्दैन । सचेत भने हुनुपर्छ ।’
जोखिमका दृष्टिले कति मिलिमिटर पानी पर्यो भन्दा पनि कति अवधिमा कति मिलिमिटर पानी परेको हो? जान्नु अनिवार्य हुन्छ । यसबाट सचेत हुन र सम्भावित जोखिमबाट बच्न सकिन्छ । प्रा. डा. शाक्यको भनाइ थियो ।
वैठकमा विषयगत समितिका संयोजकहरु प्रेम थापा, ईश्वरमान डंगोल, नवराज पराजुलीले आफ्ना वडा अन्तर्गतका डुबानका सम्भावित ठाउँका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशी, सशस्त्र प्रहरी बल १८ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किरणकुमार कठायत नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलसहित अधिकारीहरुले आन्तरिक समन्वय र विपद प्रतिकार्यमा स्रोतको एकीकृत परिचालनमा जोड दिनुभएको थियो ।
महानगरपालिकाको तयारीका विषयमा प्रस्तुतिकरण गर्दै बैठकमा विपद व्यवस्थापन विभागका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका सदस्यसचिव अनिरुद्र नेपालले, महानगरभित्र उपलब्ध सवारीसाधन, विपद् प्रतिकार्य सामग्री तथा उद्धार सामग्री तयारी अवस्थामा राखी आवश्यकताअनुसार ‘फास्ट रेस्पोन्स’मार्फत परिचालन गर्ने तयारी गरिएको बताउनुभयो ।
महानगरपालिकाले पूर्वतयारी अन्तर्गत ६ वटा र्याफ्टिङ बोट, ६ वटा पानी तान्ने पम्प, ५ वटा जेट मेसिन, २ सय जना नगर प्रहरी उद्धारकर्ता तयारी अवस्थामा राखेको छ । यस्तै डुबान समस्या समाधानका लागि दैनिक १८ जना जनशक्ति र नियमित सफाइका लागि दैनिक ३ सय जना सरसफाइकर्मी परिचालन गरिरहेको छ ।
वैठकको निर्णय अनुसार विपद् व्यवस्थापन विभागले वडा स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउन पत्राचार गरेको छ । मौसम सम्बन्धी रियल टाइम जानकारीका लागि सूचना प्रविधि विभागले जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरेर महानगरपालिकाका साइटहरु सक्रिय गराउनेछ ।
विपद्को समयमा मानिसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा महानगरभित्रका केही विद्यालयलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्न आज नै केही विद्यालयहरुको निरीक्षण भएको छ ।
विपद्का कारण प्रभावित महानगरवासीलाई विपद् व्यवस्थापन कोषबाट न्यायोचित रूपमा आर्थिक सहयोग उपलब्ध गराउने संयन्त्रका विषयमा बैठकले छलफल गरेको छ । यसका लागि विपद व्यवस्थापन समितिका संयोजक, सम्बन्धित वडाका वडाध्यक्ष वा तोकिएका वडा सदस्य, विपद् व्यवस्थापन विभागका प्रमुख तथा सम्बन्धित क्षेत्र हेर्ने नगर प्रहरी अधिकृत सम्मिलित चार सदस्यीय समितिले सहयोगका लागि सिफारिस गर्नेछ ।
मौसममा आउने परिवर्तनसँगै काठमाडौँ उपत्यकामा बाढी, डुबान, सडक तथा बस्तीमा पानी जम्ने, फोहरका कारण पानीको निकास अवरुद्ध हुनेलगायतका समस्या देखिन सक्ने भएकाले पूर्व तयारीलाई नियमित प्रक्रियाका सञ्चालन गरिएको छ । यससँगै सम्भावित घटना व्यवस्थापनका लागि नियमित सूचना अद्यावधिक गर्ने, वडा तहको सक्रियता बढाउने, उद्धार सामग्रीहरुको तयारी गर्ने, सुरक्षित स्थानको पहिचान र सुरक्षा निकायसहित सम्बन्धित संस्थाबिचको समन्वयलाई प्रभावकारी बनाउन सकिन्छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App