वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
गएको वर्ष जेठ १४ गते बालिकालाई उद्धार गरिएको थियो
काठमाडौँ । यौन दुर्व्यवहारमा परेकी १३ वर्षिया बालिकाको मुद्दामा दावी पुग्ने अदालतको फैसलाले पीडित बालिकालाई न्याय दिएको छ । घरेलु श्रमिकका रुपमा रहँदा संरक्षकबाटै यौन दुर्व्यवहार सहेकी उनलाई गएको वर्ष जेठ १४ गते वडा नम्बर १४ क्षेत्रबाट उद्धार गरेर काठमाडौँ महानगरपालिकाले संरक्षणमा राखेको थियो । महानगरपालिकाले दिएको जाहेरीमा बालिका पीडामा परेको दावी पुग्ने काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले फैसला गरेको हो । गएको मंगलबार (जेठ ६, २०८२) पीडितको पक्षमा दाबी पुग्ने फैसला गरेपछि बालिकाले न्याय पुगेको महसुस गरेकी छिन् ।
महानगरपालिकाबाट खटिएका गणक इन्टर्न विद्यार्थीसँग पीडित बालिकाले आफू माथि ७० वर्षका घरधनी पुरुष व्यक्तिले यौन दुर्व्यवहार गर्ने गरेको बताएकी थिइन् । यसपछि उनलाई उद्धार गरेर महानगरपालिकाकै सिफारिसमा सुरक्षित आवास गृहमा राखिएको छ । अहिले उनी अध्ययनलाई निरन्तरता दिइरहेकी छिन् ।
बालिकाको पृष्ठभूमि
पीडित बालिका रुकु (नाम परिवर्तित) का अभिभावकको आर्थिक अवस्था दयनीय छ । खानलाउन धौधौ हुने परिवारमाभन्दा काठमाडौँमा केही सुविधा होला भनेर उनी आफ्नै दिदीका साथमा काठमाडौँ आइन् । काठमाडौँमा दुःख गरेर जीवन चलाउने उनकी दिदीसँगै सँधै राख्न सक्ने क्षमता थिएन । यसकारण उनी घरेलु श्रमिकका रुपमा बस्न थालिन् । गाउँमा कक्षा ३ सम्म पढेकी उनलाई काठमाडौँमा राम्ररी पढ्न पाइएला । ठुलो मान्छे बन्न पाइएला भन्ने लागेको थियो । भनेजस्तै त भएन । तर, काठमाडौँ आएको १ वर्षपछि उनी कक्षा ३ मा नै भर्ना भएर पढ्न थालिन् ।
घटना
काम गर्ने क्रममा सामान्य गल्ती हुँदा पनि घरधनी महिला र परिवारका सदस्यले कुटपिट गर्ने गरेको बालिका बताउँछिन् । उनीमाथिको कुटपिट र दबाब परिवारका सबै सदस्यलाई थाहा थियो । तर, घरकै ७० वर्षका ज्येष्ठ नागरिकले उनीमाथि जे गर्थे, त्यो हरकत बालिका र हरकत गर्ने ज्येष्ठ नागरिकबाहेक कसैलाई थाहा थिएन ।
उनलाई सुत्नका लागि कौसीको छेउ, भर्याङ्को माथिल्लो सानो खण्डमा खाट राखिएको थियो । होचो भएकोले सिधा उभिन नमिल्ने, साँघुरो भएकोले एकजनाभन्दा धेरै व्यक्ति बस्न नमिल्ने, चुकुल नभएको कोठामा उनलाई राखिएको थियो । उद्धार कार्यदलका संयोजक रसला तण्डुकार भन्नुहुन्छ, ‘सहरमा यो हदसम्मको व्यवहार कल्पना गर्नैँ सकिँदैन ।’
बालिकाका अनुसार रातको १० बजेदेखि ११ बजेको बिचमा उनी कोठामा सुत्न जान्थिन । जब उनी मस्त सुतेकी हुन्थिन्, तव घरका ज्येष्ठ नागरिकका हात उनको सरीरमा सल्वलाउन थाल्थे । उनी बालिकाका प्रजनन अङ्गहरु सुम्सुम्याउन थाल्थे । केही बेर यसरी नै सुम्सुम्याउँथे । साँघुरो खाटमा एकछिन सँगै सुत्न खोज्थे । त्यसपछि जान्थे ।
घरबाहिर गएको बेला बाहेक उनी हप्तामा २/३ दिन बालिकाकोमा आउँथे, सुम्सुम्याउँथे र जान्थे । उनको मुखबाट रक्सी र सूर्तीको गन्ध आइरहेको हुन्थ्यो । निद्रामा भएको बेला हुने यस प्रकारका हरकत के भएको हो, यसले के हुन्छ? गलत हो कि सही हो, ठम्याउन सकिनन् । उनी भन्छिन्, ‘विस्तारै गलत भएको बुझेँ । कुरा साथीभाइ र शिक्षिकालाई सुनाएँ । उहाँहरुबाट बाल हेल्प लाइनमा फोन गर्न सुझाव दिनुभयो । तर, फोन कसरी गर्ने, त्यसपछिका घटना कसरी सामना गर्ने बाटो पहिल्याउन सकिन ।’
एक न एक दिन त आफूमाथि भएको नराम्रो कामको बारे कसैलाई बताउने अठोट गरेर उनले घटना भएका दिन क्यालेन्डरमा चिनो लगाउन थालिन् । घरका अन्य सदस्य ज्येष्ठ नागरिकसँग डराउने भएकोले उनका बारेका घरकै सदस्यहरु पनि बोल्न सक्ने अवस्था थिएन । बालिकाले बोल्ने कुरै भएन । बालिका सम्झँदै भन्छिन्, ‘घरमा कोही नभएका बेला उहाँको सरीरमा मसाज गरिदिनु पर्थ्यो ।’
यी घटना अरुसँग नभने पनि उनले महानगरपालिकाबाट खटिएर गएका गणक इन्टर्न विद्यार्थीसँग खोलिन् । उनको यही हिम्मतले आज निर्धक्क बस्न र अध्ययन गर्न पाएकी छिन् । यदि डराएर नबोली बसेको भए आजसम्ममा कति घटना घटिसकेका हुन्थे ।
पीडितको आवाज हो, काठमाडौँ महानगरपालिका
महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रम सञ्चालनमा छ । यसले जोखिममा परेका बालिबालिकाको उद्धार, संरक्षण र पारिवारिक पुनःस्थापना गराउँछ । परिवारमा पुनःस्थापना गराउन नसकिने अवस्थाका बालबालिकालाई महानगरपालिका आफैँले संरक्षण दिएको छ । यस कार्यक्रमअन्तर्गत अहिलेसम्ममा ३५ जना बालिका र ४२ जना बालक गरी ७७ जना बालबालिकाको उद्धार गरिएको छ ।
उद्धार बालबालिकालाई परिवार खोजेर पुनःस्थापना गराउनुलाई पहिलो जिम्मेवारीका रुपमा पूरा गर्ने गरिएको छ । परिवारमा फर्काउँदा थप त्रासमा रहनु पर्ने, शिक्षादीक्षा र स्वास्थ्योपचारको अवसरबाट बञ्चित हुनु पर्ने अवस्थाका बालबालिकालाई महानगरपालिका आफैँले संरक्षण दिने गरेको हो । बालबालिका सम्बन्धी ऐन २०७५ ले विशेष संरक्षणको आवश्यकता भएका र जोखिममा परेका बालबालिकाको संरक्षणको दायित्व स्थानीय तहलाई दिएको छ । यो काम बाल कल्याण अधिकारीमार्फत हुन्छ ।
हालसम्म महानगरपालिकाले उद्धार गरेका ८ जना हिंसापीडित बालबालिकाको मुद्दा प्रक्रियामा अघि बढाइएको छ । ती ८ जना बालबालिकामध्ये ७ जना बालबालिका संरक्षकबाटै यौनजन्य हिंसाबाट पीडित भएका बालबालिका हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App