वि.सं.: २०८३, असोज ८ बिहीबार
इ.स.: 2026 September 24,THRUSDAY
वि.सं.: २०८३, असोज ८ बिहीबार
प्रमुखका सल्लाहकारहरुसँग क्षेत्रगत विषयमा छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सहरी विकासका कतिपय सिद्धान्तलाई व्यावहारिक बनाउँदै लैजानु पर्ने र कतिपय प्रयोगसिद्ध अभ्यासलाई सिद्धान्तका रुपमा विकास गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । प्रमुखका सल्लाहकारहरुसँगको बैठकमा उहाँले काठमाडौँको मौलिक स्वरुपको सहरी विकासका लागि तर्जुमा गरिने योजनाका प्रभावकारितामा कुरा गर्दै यस्तो बताउनुभएको हो ।
सहरको मौलिक पहिचानको संरक्षण गर्ने, सुन्दरता बढाउने, सबैलाई समान सेवा सुविधा दिने, सुन्दर र मानव बसोबास अनुकुल सहर निर्माणको महाअभियानलाई साझा प्रयत्नबाट साकार बनाउनुपर्छ । डंगोलले भन्नुभयो, ‘भौतिक विकाससँगै मेरो पुस्ताले देख्न नपाएका अमूर्त सांस्कृतिक क्रियाकलापहरुलाई पुनःस्थापना गरेर भावी पुस्ताका हातसम्म पुर्याउनु पर्नेछ । अहिले हामीले यी दायित्व पूरा गर्नुपर्नेछ ।’
बैठकमा सल्लाहकार प्रा. डा. नरेश बज्राचार्यले काठमाडौँ निर्माण हुँदा नै व्यवस्थित बनेको तर, पछि क्रमशः बिगार्दै लगिएकोले यसलाई पूर्ववत व्यवस्थित गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
वास्तुकलामा आधारित सहरी संरचना यसको मुल विशेषता हो । भित्री, मध्य र बाहिरी तहमा निर्माण गरिएको सहरका हरेक तहमा ८ - ८ वटा मसान छन् । उहाँले सहर निर्माण गर्दा पानी प्रणाली, सहरी आचरण र आवश्यकता सबै पूर्वाधार निर्माण गरिएको बताउँदै यसलाई बचाउने दिशामा काम गर्नुपर्ने बताउनुभयो ।
सहरको व्यवस्थापनका लागि योजना मात्र बनाएर पुग्दैन । सहरीकरणको पुनर्योजना गर्नुपर्छ । डा. विजयकृष्ण श्रेष्ठले भन्नुभयो, ‘दिगो सहरी विकास र उत्थानशील सहर निर्माणका लागि बनिसकेको सहरलाई बनाउन फेरि पनि योजना बनाउनुपर्छ । काठमाडौँको भूउपयोगको सन्दर्भमा यो काम गर्न आवश्यक छ ।’
‘प्राप्त उपलब्धिसँग सम्बन्धित तथ्य र तथ्यांकलाई अभिलेखन गर्दै जानुपर्छ । यसबाट तुलनात्मक स्थिति हेर्न सकिन्छ ।’ बुक फ्री फ्राइडे कार्यक्रमका सन्दर्भमा कुरा गर्दै डा. रुपा मुनाकर्मीले भन्नुभयो, ‘सिकाइ अभ्यासका औजार बालबालिका बस्ने घरमै पनि छन् । शिक्षण सिकाइका लागि अभिभावकसँग सिकेका कुरा पनि मापन योग्य हुन्छन् । यसका लागि काम गरौँ ।’
प्रा. डा. नरेशमान शाक्यले, काठमाडौँको जीवन बचाउन स्थान विशेष पानीको व्यवस्थापनमा काम गर्नु पर्ने बताउनुभयो । अहिले बदलिँदै गरेको मौसम र सम्भावित बाढीको प्रकोपका विषयमा कुरा गर्दै उहाँले, स्थान विशेषमा बर्षाको पानी मापनबाट निगरानी गरेमा नागरिकको जीवन बचाउन २ घण्टाको समय प्राप्त हुने बताउनुभयो ।
बैठकमा सहरी व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ, विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाल, शिक्षा महाशाखा प्रमुख सरस्वती पोख्रेलले आफ्ना विभाग अन्तर्गत कार्यान्वयन हुने महत्वपूर्ण योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App