Logo

नेशनल अस्पतालको जोखिमपूर्ण फोहर व्यवस्थापन अभ्यास झन खराब : संकलनमा रोक 

वातावरण व्यवस्थापन विभागले अस्पतालजन्य फोहर व्यवस्थापनको अभ्यास अनुगमन थाल्यो 

पुरियो अटोक्लेभ : नेपाल नेशनल अस्पतालले उत्पादन गरेको जोखिमपूर्ण फोहरको पोकाले छोपिएको अटोक्लेभ मेसिन । अस्पतालले संक्रमित फोहर निसंक्रमण गर्ने उपकरण उपयोगविहिन बनाएको छ ।

काठमाडौँ । कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आजबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापर्वाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिनुभयो । 

वार्डहरुबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरु छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लाष्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो । तेस्रो कोठामा धेरै फोहरका पोका थिए । ती पोकाका बिचमा खुला छरिएको फोहर थियो । एक व्यक्ति यो फोहरलाई छुट्याउने काममा व्यस्त हुनुहुन्थ्यो । उहाँले कालो मास्क लगाउनुभएको थियो । यसबाहेक न पिपिइ (व्यक्तिगत सुरक्षा पोशाक), न हातमा पञ्जा, न खुट्टामा बुट, न टाउको छोप्ने कुनै टोपी, उहाँ आफू पूर्ण असुरक्षित भएर अस्पतालको फोहर वर्गीकरण गरिरहनुृभएको थियो । उहाँले काम गरिरहनु भएको ठाउँमा राखिएको अटोक्लेभ मेसिन कालो प्लाष्टिकमा बाँधिएको फोहरको पोकाले छोपिएको थियो । 

यो अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले विग्रिएको जानकारी दिएको थियो । त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।

२०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर प्रतिवद्धता थियो । यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार थिएन । अस्पतालले प्रतिवद्धता दोहोर्‍याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो । यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो । तालिममा फोहर संकलनमा रोक लगाइएका २० वटा अस्पतालबाट सहभागी गराइएको थियो । 

यी सबै प्रयासपछि आज अनुगमनमा जाँदा गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको थियो । अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, हस्पिटलले संक्रमित फोहर व्यवस्थापनमा चरम लापर्वाही गरेको प्रतिक्रिया दिनुभयो । फोहर संकलन गर्ने ठाउँ नजिकै हस्पिटलमा आउने आगन्तुकलाई सवारी साधन पार्किङ् गर्ने ठाउँ बनाइएको छ । जस्ता पाताको तल्लो भागबाट मुसाहरु सजिलै आवतजावत गर्न सक्ने ठाउँ छ । यसबाट वातावरणीय तथा मानव स्वास्थ्यजन्य जोखिम बढेको छ । 

अनुगमन टोलीले फोहर व्यवस्थापन चक्रका बारेमा जानकारी लिँदै गर्दा माथिल्लो तलाबाट निलो प्लाष्टिकमा फोहरको पोको बोकेर कर्मचारी बाहिर आउनुभयो । उहाँले न मास्क लगाउनु भएको थियो । न उहाँको हातमा पञ्जा थियो । 

आज नै कलंकीमा भएको सहिद मेमोरियल अस्पतालको पनि अनुगमन गरिएको थियो । 

यस अस्पतालले भने गएको वर्षमा भन्दा धेरै सुधार गरेको छ । सानो अँध्यारो कुनामा भएको अटोक्लेभ मेसिनलाई फराकिलो कोठामा ल्याएको छ । अटोक्लेभ मेसिनको संख्या थप गरेको छ । गएको वर्ष छत राखिने फोहर संकलनका लागि छुट्टाछुट्टै कक्ष भएको कोठा बनाएको छ । 

प्रयत्न भएर पनि सुधारका लागि अझै काम गर्नु छ । अनुगमन टोलीले स्रोतमा प्रकृति छुट्याउने, अभिलेख राख्ने व्यवस्था दुरुस्त बनाउने, संक्रमित र सामान्य फोहर नमिसिने व्यवस्था मिलाउनेलगायत सुझाव दिएको छ ।

यति प्रयास भएर पनि अटोक्लेभ विग्रिएका कारण संक्रमित फोहोर निर्मलीकरण हुन सकेको देखिएन । 

यसरी अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । 
गएको वर्ष महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालनमा रहेका ५० वटा अस्पतालहरुको फोहर व्यवस्थापन अवस्था अनुगमन गरिएको थियो । यस क्रममा गलत अभ्यास भएका २० वटा अस्पतालको फोहर संकलनमा रोक लगाइएको थियो । यसरी रोक लगाइएका अस्पतालहरुले गरेका त्रुटि सुधारमा कति प्रगति भएको छ? यस पटकको अनुगमनमा यो सूचक थपिएको छ । 

फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु गएको वर्षको अनुगमनका क्रममा देखिएका साझा समस्या थिए । 
 

  • प्रकाशित मिति: सोमबार १० भदौ २०८१ १३:१९