वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
इ.स.: 2025 October 28,TUESDAY
वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
किताब पढ्दा हामीले जति वुझेका थियौँ, प्रत्यक्ष भेट्दा किताबमा लेखिएकोभन्दा धेरै बुझ्न पायौँ - विद्यार्थीहरु
काठमाडौँ । आफूले किताबमा पढिरहेका व्यक्तित्व ‘बिबिसि मास्टर सेफ विजेता’ सेफ सन्तोष शाह आफ्नै कक्षा कोठामा भेटिएपछि जनप्रभात माध्यमिक विद्यालयको कक्षा कोठामा भेला भएका विद्यार्थीहरुले व्यवहारिक सिकाइ गर्न पाएका छन् । महानगरपालिकाले दशैँ तिहारका बिचमा हुने छुट्टीका समयमा शैक्षिक नतिजा सुधारका लागि आयोजना गरेको ‘फेस्टिभल क्याम्पको’, उत्प्रेरणात्मक कक्षा ‘प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार’ कार्यक्रममा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्न उहाँ विद्यालयमा पुग्नुभएको थियो । उहाँसँगै ‘द ग्रेट व्रिटिस वेक अफ’ प्रतियोगिताको २०२४ का विजेता सेफ नारायण श्रेष्ठ पनि हुनुहुन्थ्यो । उहाँहरु दुवै जनाले शिक्षा, सिप र नतिजा प्राप्त गर्न आफूले गरेका प्रयासका सृङ्खला सुनाउँदै, विद्यार्थीहरुलाई वृत्ति विकासको आधारभूत आयामका बारेमा जानकारी गराउनुभएको थियो ।
कक्षामा उहाँहरुका कुरा विद्यार्थीहरुले ध्यानपूर्वक सुने । त्यसपछिको अन्तरक्रियामा सोध्न मन लागेको कुरा सोधे । आफूले सोधेका प्रश्नको जवाफ पाएपछि प्रतिक्रिया दिँदै उनीहरुले भने, किताबमा पानामा पढ्नु पर्ने व्यक्ति आफ्नै कक्षा कोठामा आएपछि हामीले अक्षर पढ्नु नपर्ने भयो । वास्तविक ज्ञान प्राप्त गर्न पायौँ । कितावमा लेखिएभन्दा धेरै जान्न र बुझ्न पायौँ । यो हाम्रा लागि ठूलो अवसर हो । हामी भाग्यमानी पनि हौ किनभने हामीजस्तै कक्षा १० मा पढ्ने सबै विद्यार्थीले यस्तो अवसर पाउन सकेका छैनन् ।
कक्षामा शाहले भन्नुभयो, ‘किताब (परीक्षा)मा असफल भएर केही हुँदैन । जीवनमा भने असफल हुनुहुँदैन । मेरो अनुभव यही हो । म पढाइमा उति तेज थिइन । यति भएर पनि मैले खाना बनाउने कलाको विश्व स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान प्राप्त गर्न सकेँ ।’ शाहले भन्नुभयो, ‘यसो भनेर तपाईँहरुलाई किताब नपढ्नोस् भनेको होइन । असफल भए पनि हुन्छ भनेको होइन । कहिलेकाहीँ सोचेको जस्तो नतिजा नआउन सक्छ । कुनै एउटा विषयले आफूलाई कमजोर छु कि जस्तो अनुभूति गराउन सक्छ । यसबाट निराश हुनुहुँदैन, निरन्तर प्रयासले सफल हुन सकिन्छ, भन्न खोजेको हो । कुनै विषयमा आफूलाई कमजोर महसुस भएको छ भने त्यो कमजोरीलाई महत्व नदिनु भन्न खोजेको हो । तपाईँसँग एउटा विषयमा कमजोरी हुन सक्छ । जीवनलाई उच्च स्थानमा पु¥याउने अन्य क्षमता हुन सक्छन् । त्यो सामथ्र्य भएको गुण चिन्नु, भन्न खोजेको हो ।’
आफ्नो बाल्यकाल र त्यसबेलाको अभावको कथा सुनाउँदै उहाँले भन्नुभयो, ‘मैले ११ वर्ष उमेरमा चप्पल लगाउन पाएको हो । यति भनेपछि मैले प्राथमिक शिक्षा प्राप्त गर्ने बेला कस्ता अवसर पाएँ भन्ने थप उदाहरण दिनै पर्दैन । तपाईँहरुलाई आफू जेमा कमजोर छु जस्तो लाग्छ । त्यसलाई छाडिदिनु । जेमा बलियो छु जस्तो लाग्छ, त्यसलाई दृढताका साथ अगाडि बढाउनु । लक्ष्यमा पुग्न कठिन छैन ।’
सेफ सन्तोष शाहका बारेमा कक्षा १० को अंग्रेजी विषयको पाठ्यपुस्तकमा रिडिङ् एक्टिभिटिज (पठन क्रियाकलाप)अन्तर्गत ‘यु इन्स्पायर अदर्स वाइ लर्निङ्, नट वाइ टिचिङ्’ शीर्षकमा प्रश्नोत्तर राखिएको छ । यसमा उहाँको जन्मस्थान सिराहादेखि संयुक्त राज्य वेलायतको लण्डनमा आयोजना भएको ‘मास्टर सेफ : द प्रफेसनल्स २०२०’ मा प्राप्त उपाधि सम्मको यात्रा र सफलता, नेपाली खानाका परिकारको व्यापारिक सम्भावनाका विषय राखिएका छन् ।
अन्तरक्रियाका क्रममा सेफ श्रेष्ठले ठूलो ठाउँमा पुग्न सानो ठाउँबाट यात्रा थाल्नु पर्ने बताउँदै भन्नुभयो, ‘म २०१४ मा होटल पोर्टर (होटलमा भाँडा माझ्ने) कामका लागि दुवइ गएको थिएँ । त्यसको १ वर्षपछि पोर्टरकै रुपमा कतार गएँ । म भाँडा माझ्ने काममा गए पनि बाल्यकाल देखि नै पेस्टी बनाउनमा म केही गर्न सक्छु भन्ने थियो । मलाई यो एकदम राम्रो लाग्थ्यो । मैले नेपालमा पढ्न पाइन । यदि पढ्न पाएको भए, यस अघि नै प्रतिस्पर्धामा भाग लिन पाउँथे । मैले २०१५ मा पहिलो पटक केक बनाएको हो । त्यसपछि प्रतिस्पर्धामा पुग्न करिब ९ वर्ष लाग्यो ।’
उहाँले, आफ्नो सफलताको यात्रा सुनाउँदै, लक्ष्य प्राप्त गर्न समय लाग्न सक्ने बताउँदै, अहिलेको अहिले ठूलो ठाउँमा पुग्नेभन्दा सानो ठाउँबाट काम थालेर सिक्दै ठुलो ठाउँमा पुग्न उत्प्रेरित गर्नुभयो ।
महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ अन्तर्गत यसरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । ११ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन् । सहरी योजना आयोगका सहायकविज्ञ सस्मित पोखरेल भन्नुहुन्छ, ‘टाढाबाट देखेको व्यक्तिहरुसँग भेट्दा, अन्तरक्रिया गर्दा, उहाँहरुबाटै प्रशिक्षणमा सहभागी हुन पाउँदा उनीहरुले भविष्यको लक्ष्य निर्धारण गर्न फराकिलो बाटो भेटेको महसुस गरेका छौँ । यसलाई जाडो विदाका समयमा पनि निरन्तरता दिनेछौँ ।’
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App